सबै व्यक्ति आफैंमा काव्यकार हो । व्यक्त गर्ने कविको रूपमा दरिन्छ । यस्तै मनका भावहरू शब्दमा गुथेर अभिव्यक्त गर्ने कवि हुन् एलिसा ढुंगाना । उनले वितेका दुई दशकभित्र कोरेका मनका भावहरूको समग्र सौन्दर्यचेत भरिएका कविताहरूको माला हो सौन्दर्यको भग्नावशेष । समकालीन कविहरूको लाइनमा अग्रणी मोर्चामा एलिसालाई प्रस्तुत कृतिले उभ्याउने सामर्थ्य राख्ने कुरामा शंकै रहेन् ।
कविको काव्यिक चेत उच्चस्तरको छ, यसैमा म निथ्रुक्क भिजेको छु । नेपाली साहित्यको काव्य सिर्जनामा नारी हस्ताक्षरहरू कमी भइरहेको सन्दर्भमा यो कृतिमार्फत कविताको हजारौंको माइल तय गरेकी एलिसा गन्तव्यमा पुग्छिन् भन्ने प्रमाण यही सङ्ग्रहभित्रका कविताले प्रमाण दिएजस्तो लाग्छ । उनी गफिनबाट जोगिने थोरै कविको लाइनमा लामबद्ध छिन् ।
समयको छाल, प्रेमको अर्कै परिभाषा, एक मूठी उज्यालो गरी तीन भागअन्तर्गत रहेर विभिन्न शीर्षकका ३८ थान कविताहरूको सङ्ग्रह-सौन्दर्यको भग्नावशेष । आफ्ना कविताहरूको बारेमा एलिसा भन्छिन्–‘यी मेरा सपनाहरू हुन् ।....हरेक भग्नावशेषसँग जीवनका ठुल्ठुला आयाम हुन्छन् ।.....हरेक भग्नावशेषमा हुन्छन् सौन्दर्यका अद्भूत आकारहरू ।’ हो बास्तवमै उनले भग्नावशेषभित्र सौन्दर्य खोज्ने प्रयास गरेकी छिन् । खुशीको खोजीमा भग्नावशेष बनेका महान व्यक्तिहरूमा समर्पित कवितासङ्ग्रह पढें ।
आफूलाई पढेर कहिल्यै नसकिने पुस्तकको उपमा दिने कवि भन्छिन् :-
फुर्सदमा तिमीले ओल्ट्याई पल्ट्याई गरिरहँदा
कतै कतै खाली पाना पनि भेट्ने छौ
त्यसमा निर्धक्क
तिम्रो भाव पोख्न सक्छौ
जीवन र जगत्का तस्वीर कोर्न सक्छौ (म पुस्तक)
मान्छे आफ्नो मनमस्तिष्कबाट भावनाहरूका चिसा गुम्फनहरूलाई सेकताप गर्न नसक्दा के सम्म हुनसक्छ भन्ने दृष्टान्त अभिव्यक्त गर्न पनि गाह्रो छ । कलुषित आत्माहरूले दुःख दिँदाको पीडा शब्दमा उन्न कठीन छ । दुःखका डल्लाहरू फोरेर सुखमा परिणत गर्न सम्याउन जरुरी छ । अत्यासलाग्दा पलहरूका बडा पेचिला र घोचिला समयका छटाहरूबाट उन्मुक्ति पाउन सहज छैन् । कोभिडको भयावह पलका कठीन विषयमा पनि कविता कोरेकी छिन् एलिसाले । यसमा समावेश कविताहरूले मेरो हृदय छोएका छन् । मनलाई तरंगित पारेका छन् । कविको कविताप्रतिको लगाव र चेतको उच्चतम क्षमता देखेर म चकित छु । आज म उनका कविताका गुञ्जयमान प्रतिध्वनिसँग एकाकार भएको छु ।
हृदयलाई छामछाम छुमछुम गरेर कविता सिर्जना गर्ने कविको रुपमा ढुंगानालाई पाएको छु । आमाको महानताको बखान गरेर नथाक्ने कवि आमाको सन्तान हुनुमा गर्व गर्छिन् । परिस्थितिले थिचिएका आफ्ना रहरहरू बोकेर बाँचेकी छिन् । उनलाई थाहा छ मानव सभ्यता भरोसमा अघि बढ्छ । उनी प्रेमिल भावकी छिन् र कविता कोर्छिन् प्रेमका । कवितामै उनी जूनकीरीको उज्यालोमा प्रियसीलाई पर्खिरहेको प्रेमीको भाव ओकल्छिन् । प्रेमलाई साधना ठान्छिन् । उनलाई थाहा छ रहरहरू मौन बस्दैनन् । कोही हुनुमा अर्थ हुने बताउने एलिसा आफू कसैको बहकाउमा लाग्दिनन् । विदेसिएका नेपाली मनहरूको सम्झनामा उनी संवेदनशील हुन्छिन् । मनका गुनासाहरू कवितामा मनग्गै पढ्न सकिन्छ । अनुभूतिका गहिरा नदी लाग्छन् एलिसाका कविताहरू ।
तिमीलाई छोएन मेरो श्वासले
तर म तिमीभित्रको प्राण भएर
तिमीमै बाँचिरहेछु । (प्रणय गीत)
बास्तवमै फूल जस्तै कोमल छन् कविताहरू र त्यस्तै संवेदनशील पनि । सौन्दर्यको भग्नावशेषभित्र फूलझै सुन्दर र सौम्य सौन्दर्य पोखिएका छन् । भन्न सक्छु उनका कविताहरूमा मानवीय आत्म-संबोधन छ ।
कृतिको प्रवृत्तिगत वैशिष्ट्यतिर दृष्टिगोचर गर्दा जीवन र यसका भोगाइ, वर्तमान विसङ्गत समाजको विद्रूप यथार्थविरुद्ध भाषिकचेतको उच्च सामर्थ्यलाई बिम्बात्मक स्वरूपमा उतारेको पाइन्छ । जहाँ विकृतिविरुद्ध शालिन आक्रोश छ । मानवीय संवेदनाको गहिरो चेत छ । शिल्पगत रूपमा हेर्दा आम मान्छे र कवि बाँचेको समाजलाई विभिन्न शीर्षकृत गरी कविता सिर्जना गरिएको छ । सरल र सहज भाषाशैलीको उच्च ललाटमा सृजित कविताहरू बिम्ब र प्रतिकको उचित संयोजनद्धारा सुन्दर शिल्पमा उभिएका छन् । जहाँ खुशीका उज्याला टीका, आनन्दले बास बसून्, ढाडसको आकाश, समयको लय, मानवताको पहाड, मृत्यूको कफन, थामिएको मन, घडीले घुम्न लाज मान्दिएपछि, गुनासका पोकाहरू, सन्त्रासको डढेंलो, यादहरूको लम्बाई, जीवनको नयाँ रङ, मौनतामा घोत्लिरहेको, सपनाको आयतन, एक्लिएका रहर, दुःखका फोल्डरहरू, प्रेमको मझेरी, मात्तिएको रहर, स्पर्शको उज्यालो, एक मुठी उज्यालो, बादलको घेराभित्र घाम आदि काव्यात्मक चेत सहितका कलात्मक बिम्बहरूले कवितालाई सुन्दर बनाएका छन् । यतिमात्र नभएर पुस्तकको शीर्षक सौन्दर्यको भग्नावशेष, रिसको विपक्षमा, खुशीको छाल, रजस्वलाको सुगन्ध आदि कविताका शीर्षकहरू नै बिम्बात्मक लाग्छन् ।
आयामका दृष्टिले कविताहरू छोटा र मझ्यौला आयतनमा आएका छन् । निराशा मात्र कविताका विषय होइनन्, आशावादी भाव भरिलो ढंगले आएका छन् । उपमेयहरू पाइन्छन् कवितामा । कविले काव्यात्मक छुटको भरमग्दुर प्रयोग गरेजस्तो लाग्छ । आफ्ना अनुभव पनि कविताले संप्रेषित गरेजस्तो लाग्छ । कविताहरूले वर्तमान समाजबोध, युगबोध गराउँछन् । समकालीन कविताहरू भएकाले युगीनचेतले भरिएका छन् । यति भनेपछि निष्कर्ष निकाल्न सकियो उनका कविताहरू समसामयिक छन्, सरल छन् सहज र बोधगम्य छन् । चोटिला छन् । भावनाको गहिराइबाट उब्जिएका छन् । शाब्दिक चयनमा सकेसम्म सचेत भएर कविता सिर्जना भएका छन् ।
विनम्र भाव, अभिव्यक्तिको स्पष्टता, सरल र सहज भाषिक मीठास उस्तै भएका यी कविताहरू पठनीय लाग्छन् । कवि बृहद् काव्यात्मक चेतको उपल्लो उचाइमा बस्न सफल देखिन्छिन् । भन्न सकिन्छ कविलाई कविताहरूले पखेंटा हालिदिएका छन्, जादुयी र चित्ताकर्षक बिम्बात्मक भाषाले । नेपाली कविताले अर्को एक संवोद्य कविताकृति पाएको छ । यसैमार्फत उनी मज्जैले यो कविता यात्रामा उडान भर्न सक्छिन् ।
मानवीय संवेदनाको गहिरो तह, झिनाझम्टी दिइरहने समयका वाछिटाको यथार्थ कवितामा पर्गेलेर लेख्नु कम्ती गाह्रो छैन् । यही गाह्रो विषयवस्तुलाई कवितामा पोत्न सफल कवि हुन एलिसा । जहाँ यथार्थको मज्जैले सत्यापन गरिएको छ । उनी आशावादी उज्यालोमा फाल हाल्छिन् कहिले त कहिले विषम कुसंस्कारका अध्याँरा पर्खाल भत्काउने सामार्थ्य राख्छिन् । जीवनका उज्याला र अध्याँरा पक्षहरूलाई कवितामा निफन्ने शक्ति भएकी कविले आफ्ना अन्तरमनको स्वीकारोक्ति पनि कवितामार्फत दिएकी छिन् । कविताका विषय प्रेम, वात्सल्य र स्नेह पनि रहेको छ । उनका कवितामा समाजकै यावत पात्रहरूको जगजगी पाइन्छ, जहाँ ती पात्रहरू तरासेर कवितामा आएका छन् । हाम्रै समाजमा रहेका विभिन्न चेत र स्वभावका पात्रहरूको उपस्थितिले कविता भरिएका छन् । तिनका स्वभाव, चालचलन, चाहाना, भावना जस्ता कुराहरू कवितामा छताछुल्ल पोखिएका छन् । प्रकृति र नारीलाई एकअर्काको परिपूरकको रूपमा कवितामा अर्थ्याउन खोजिएको छ । जीवनको सार कवितामा खोजिएका छन् ।
त्यसपछि मैले बुझें,
जून हेरेर सपना देख्नु ठीकै हो,
तर जूनजस्तै शान्त भएर कुनै परिवर्तन आउँदैन ।
सपना पूरा निदाएर होइन–उठेर, हिँडेर, बोलेर, बनाएर हुन्छ । (रजस्वलाको सुगन्ध)
यही हो कविताको शक्ति । कति सुन्दर शब्दचित्र । कति शक्तिशाली काव्यात्मक चेत । कति धेरै भोगाइ र अनुभूतिका अनवरत श्रृंखलाहरू । साँच्चै भोगेको सत्य ओकल्ने कवि । कति निर्बन्धता । त्यस्तै कवि आफैँसँग जोडिएर आएका ग्राह्य पक्षहरू । यस्तो लाग्छ कविमा मानवीय सम्बोधन प्रखर छ ।
कतिपय कविताहरू समयको अभिशप्त कुइनेटाहरू बनेर आएका छन् । जसले पाठकको मष्तिस्कमा तुफानी तरङ्ग पैदा गर्छन् । विषयवस्तुको गहिराईमा उत्खनन गरेर गहन कविताहरू निकाल्ने कविको क्षमताको म फ्यान बनेको छु । कविताको कोमलताले मलाई छोएको छ । कविताहरूको गाम्भीर्यभावले मलाई गम्भीर बनाएको छ । यतिहुँदा हुँदै पनि कतिपय बिम्ब र प्रतिकहरू हरेक कवितामा दोहोरिएका छन् । कतै कतै सपाट ढंगले विषय राखिँदा विचार र सोचमा केही फरकपन आउन सक्नेमा कविले ध्यान दिनुपर्छ ।
अन्त्यमा, कविको काव्यिक चेत उच्चस्तरको छ, यसैमा म निथ्रुक्क भिजेको छु । नेपाली साहित्यको काव्य सिर्जनामा नारी हस्ताक्षरहरू कमी भइरहेको सन्दर्भमा यो कृतिमार्फत कविताको हजारौंको माइल तय गरेकी एलिसा गन्तव्यमा पुग्छिन् भन्ने प्रमाण यही सङ्ग्रहभित्रका कविताले प्रमाण दिएजस्तो लाग्छ । उनी गफिनबाट जोगिने थोरै कविको लाइनमा लामबद्ध छिन् । विनम्र भाव, अभिव्यक्तिको स्पष्टता, सरल र सहज भाषिक मीठास उस्तै भएका यी कविताहरू पठनीय लाग्छन् । कवि वृहद् काव्यात्मक चेतको उपल्लो उचाइमा बस्न सफल देखिन्छिन् । भन्न सकिन्छ कविलाई कविताहरूले पखेंटा हालिदिएका छन्–जादुयी र चित्ताकर्षक विम्बात्मक भाषाले । नेपाली कविताले अर्को एक संवोद्य कविताकृति पाएको छ । यसैमार्फत उनी मज्जैले यो कविता यात्रामा उडान भर्न सक्छिन् ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर