काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड मेनुफ्याक्चर्स एसोसिएसन(नाइमा)को समन्वयमा आयोजित हाइब्रिड सवारीसाधनको मेकानिजम, सुरक्षा तथा मर्मत सम्भारसम्बन्धी प्राविधिक तालिम काठमाडौंमा सम्पन्न भएको छ । विश्वव्यापी अटोमोबाइल ब्राण्ड टोयोटाको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिको प्राविधिक सहयोगमा कम्पनीको केन्द्रीय कार्यालयमा उक्त तालिम आयोजना गरिएको हो ।
कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)अन्तर्गत बालाजु इञ्जिनियरिङ तथा प्रविधि विद्यालयका डिप्लोमा पाँचौं सेमेस्टरका विद्यार्थी तथा ट्राफिक चालकसहित २५ भन्दा बढीको सहभागिता थियो, जसलाई लक्षित गरी हाइब्रिड सवारीसाधन प्रविधिसम्बन्धी विशेष प्राविधिक तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ । तालिमका सहभागीहरूले हाइब्रिड सवारीसाधनको मेकानिजम, सुरक्षा तथा मर्मत सम्भारसम्बन्धी महत्त्वपूर्ण ज्ञान तथा प्रायोगिक सीप हासिल गरेका बताइएको छ ।
कम्पनीका अनुसार उनीहरूले गत चैतमा लक्ष्मी हुण्डाईमा आयोजित विद्युतीय सवारीसाधन संयन्त्रसम्बन्धी तीनदिने तालिममा पनि सहभागिता जनाएका थिए । साथै, हाइब्रिड सवारीसाधन संयन्त्रमा केन्द्रित नाइमा मोबिलिटी संवाद कार्यक्रममा समेत सहभागी भई नीतिगत तथा प्राविधिक विषयमा थप जानकारी हासिल गरेका थिए । त्यसरी विद्युतीयदेखि हाइब्रिड प्रविधिसम्मको ज्ञान चरणबद्ध रूपमा जोड्दै सहभागीहरूको समग्र प्राविधिक क्षमता अभिवृद्धि गर्ने प्रयास गरिएको नाइमाले जनाएको छ ।
कार्यक्रममा नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले प्राविधिक शिक्षा र विद्यार्थीको सीप तथा क्षमता अभिवृद्धिमा तालिम कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गर्दै माग र उपलब्ध स्रोतका आधारमा तालिम कार्यक्रमहरूलाई आगामी दिनहरूमा निरन्तरता दिइने बताउनुभयो । तालिम उद्घाटन सत्रमा सिटिइभिटीका उपनिर्देशक खुसीराम अधिकारीले हाइब्रिड सवारीसाधनसम्बन्धी विषय पाठ्यक्रममा समावेश गर्ने कार्यलाई प्राथमिकतामा राखिने बताउनुभएको थियो । बालाजु इञ्जिनियरिङ तथा प्रविधि विद्यालयका उपप्राचार्य प्रदीप न्यौपानेले दक्ष जनशक्ति उत्पादनका लागि अटो उद्योग र प्राविधिक शिक्षाबीचको सहकार्य अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रम समापन सत्रमा वैद्यज अर्गनाइजेसन अफ इण्डष्ट्रिज एण्ड ट्रेडिङ हाउसेजका निर्देशक सूर्यांश वैद्यले यस्ता व्यावहारिक र उपयोगी तालिमले सहभागीहरूको पेशागत विकासमा टेवा पुर्याउने र नवप्रवर्तन प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभएको थियो । नाइमाले आफ्ना प्राविधिक समिति तथा सचिवालयमार्फत् क्षमता अभिवृद्धि तथा प्राविधिक संवादलाई प्राथमिकतामा राख्दै अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको विकासका लागि यस्ता पहल अघि बढाउँदै आएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि