सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–६ स्थित चमेतली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५औँ स्थापना दिवस (रजत जयन्ती) को अवसरमा सञ्चारकर्मी प्रकाश मैनालीलाई ‘सहकारी सञ्चार गौरव सम्मान’ प्रदान गरेको छ । मैनाली हिटाकर्मीसमेत हुनु हाे । बरहथवा नगरपालिका–६ मा आयोजित विशेष समारोहका बीच उक्त सम्मान प्रदान गरिएको हो ।
संस्थाका अध्यक्ष लक्ष्मण साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य नरेन्द्र साह प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा सहकारी क्षेत्रको वर्तमान अवस्था, चुनौती तथा आगामी कार्यदिशाबारे गहन छलफल गरिएको थियो । साथै शून्य गरिबी, शून्य बेरोजगारी र शून्य कार्बन उत्सर्जनको लक्ष्यसहित सञ्चालन भइरहेको ‘थ्री जिरो क्लब’ अभियानको २५ वर्षे उपलब्धिबारे पनि चर्चा गरिएको थियो ।
संस्थाले विगत चार वर्षदेखि देश तथा जिल्लामा क्रियाशील पत्रकारमध्ये उत्कृष्ट एक जनालाई ‘सहकारी सञ्चार गौरव सम्मान’ प्रदान गर्दै आएको छ । यस वर्ष उक्त सम्मान पत्रकार प्रकाश मैनालीलाई प्रदान गरिएको हो ।
पत्रकार मैनाली सर्लाहीको लालबन्दीस्थित सामुदायिक रेडियो एकताका स्टेशन म्यानेजर, ‘उज्यालो अभियान’ दैनिकका सञ्चालक तथा इमेज टिभी र हिमालय टाइम्सका सर्लाही जिल्ला संवाददाताका रूपमा कार्यरत हुनुहुन्छ । उहाँ विगत १० वर्षदेखि सक्रिय पत्रकारितामा संलग्न हुनुहुन्छ ।
मैनालीलाई प्रमुख अतिथि नरेन्द्र साह, संस्थाका अध्यक्ष लक्ष्मण साह तथा प्रमुख कार्यकारी अधिकृत भरत साहलगायतले सम्मानपत्र, दोसल्ला र नगदसहित सम्मान प्रदान गर्नुभयो ।
कार्यक्रममा वक्ताहरूले सहकारी क्षेत्रको पारदर्शिता, जनउत्तरदायित्व र सुशासन प्रवर्द्धनमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेका थिए ।
संस्थाका प्रशासनिक अधिकृत सञ्जीवकुमार साहका अनुसार सहकारीको कुल सम्पत्ति हाल ६६ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म २८ करोड रुपैयाँ बचत संकलन, ४९ करोड रुपैयाँ ऋण लगानी तथा १३ लाख रुपैयाँ मुनाफा आर्जन भएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा सहकारी र सञ्चार क्षेत्रबीच सहकार्यलाई थप सुदृढ गर्दै आर्थिक सशक्तीकरण र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको थियो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि