कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन आगामी जेठ ८ देखि ११ (मे २२-२५) सम्म अमेरिकाको कोलोराडो राज्यमा आयोजना गर्ने भएको छ । अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेले शनिबार कोलोराडोमा आयोजित पत्रकार सम्मेलनमार्फत सम्मेलनको मिति सार्वजनिक गर्दै नेपाली भाषा, साहित्यको संरक्षण, सम्बर्द्धन र विश्वव्यापीकरणमा संस्थाले निरन्तर काम गर्दै आएको बताउनुभयो । उहाँले डायस्पोरामा रहेका युवा पुस्तालाई नेपाली भाषा र साहित्यसँग जोड्न अनेसासले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो ।
अनेसास बोर्ड अफ ट्रष्टी (बीओटी)का सभापति पदम विश्वकर्माका अनुसार सम्मेलन आयोजनामा करिब ५० हजार अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ । सम्मेलनका लागि कोलोराडोको वेस्टमिनिस्टरस्थित होटल डुरी इन प्लाजालाई चार दिनका लागि बुक गरिएको छ ।
सम्मेलनमा नेपाली तथा अंग्रेजी भाषाका स्रष्टाहरूबीच साहित्यका विविध विषयमा छलफल हुने बताइएको छ । नेपालका विभिन्न भेग तथा भाषाका स्रष्टाहरूको सहभागिता रहने र भाषिक विविधताको प्रतिबिम्ब प्रस्तुत गरिने आयोजकको भनाइ छ ।
बीओटी सभापति विश्वकर्माले सन् २००९ मा सुरु भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको यो नवौं संस्करण भएको जानकारी दिनुभयो । यसअघि आठौं संस्करण युरोपको पोर्चुगल मा सम्पन्न भएको थियो । अनेसासका महासचिव राजु सिटौलाले सम्मेलनमा विश्वका करिब ४० देशबाट दुई सयभन्दा बढी साहित्यकार सहभागी हुने अपेक्षा गरिएको जानकारी दिनुभयो । सम्मेलनमा नेपाली साहित्यसँगै विश्व साहित्यका चर्चित कृति र स्रष्टाबारे पनि छलफल हुने उहाँले बताउनुभयो ।
अनेसास केन्द्रीय समितिको आयोजनामा हुने सम्मेलनको संयोजन अनेसास कोलोराडो च्याप्टरले गरिरहेको छ । च्याप्टरका अध्यक्ष किरण अधिकारीले तयारीका लागि विभिन्न नौ उपसमिति गठन गरिएको जानकारी दिनुभयो ।
त्यसैगरी, च्याप्टरका महासचिव तथा प्रकाशन समिति संयोजक पुष्पराज पौडेलले सम्मेलनको अवसरमा स्मारिका प्रकाशन गरिने बताउनुभयो, जसमा अनेसासका गतिविधि तथा विभिन्न स्रष्टाका कृतित्व र व्यक्तित्व समेटिनेछ । स्मारिकको सम्पादन साहित्यकार रमेश दाहालले गरिरहनुभएको छ ।
चार दिनसम्म सञ्चालन हुने सम्मेलनमा तीन दिन साहित्यिक सत्र, छलफल र बहस हुनेछन् भने अन्तिम दिन सहभागीलाई कोलोराडोका पर्यटकीय तथा ऐतिहासिकस्थलको भ्रमण गराउने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र