सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका-६ मा रहेको चमेली बचत तथा ऋण सहकारी संस्थाले २५औँ स्थापना दिवस (रजत जयन्ती) विभिन्न कार्यक्रमसहित मनाएको छ । बरहथवा नगरपालिका-६ मा आयोजित विशेष समारोहबीच संस्थाले रजत जयन्ती मनाएको हो । संस्थाका अध्यक्ष लक्ष्मण साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य नरेन्द्र साहको उपस्थिति प्रमुख अतिथिका रूपमा रहेको थियो । कार्यक्रममा सहकारीको वर्तमान अवस्था, चुनौती र आगामी रणनीतिका विषयमा तथा शून्य गरिबी, शून्य बेरोजगारी, शून्य कार्बन उत्सर्जनसहितको तीन शून्य क्लबको २५ वर्षे उपलब्धिबारेमा पनि छलफल भएको थियो ।
सो अवसरमा संस्था स्थापनादेखि हालसम्म योगदान पुर्याउने ६६ जनालाई विभिन्न विधामा सम्मान गरिएको प्रमुख कार्यकारी अधिकृत भरत साहले जानकारी दिनुभयो । उहाँका अनुसार स्थापना शिरोमणि सम्मानबाट दुई जना, सहकारी उदय पुरुष रजत सम्मानबाट नौ जना, सहकारी स्तम्भ रजत सम्मानबाट पाँच जना, सेवानिवृत्त रजत गौरव सम्मानबाट दुई जना, उत्कृष्ट सञ्चालक सम्मानबाट एक जना तथा सहकारी सञ्चार गौरव सम्मानबाट एक जना पत्रकारलाई सम्मान गरिएको थियो भने प्रतिनिधिसभा सदस्य नरेन्द्र साहलाई अभिनन्दन गरिएको थियो ।
त्यस्तै, दीर्घ सेवा रजत गौरव सम्मानबाट तीन जना, सहकारी सेवा रजत रत्न सम्मानबाट ११ जना, कर्म प्रतिभा सम्मानबाट ११ जना तथा सेवा कार्यालय उपसमितिबाट १९ जनालाई सम्मान गरिएको संस्थाले जनाएको छ । सय जनाभन्दा बढी उद्यमी र सबै सदस्यलाई कप प्रदान गरी साधारणसभामा सम्मान गरिएको संस्थाको सञ्चालक समिति सदस्य मेनकुमार गौतमले जानकारी दिनुभयो । संस्थामा हाल १० हजार तीन सय ७८ सदस्य आबद्ध रहेका छन् भने चारवटा सेवा कार्यालय सञ्चालनमा छन् । सहकारीले महिला उद्यमशीलता प्रवर्द्धनअन्तर्गत तीन हजार छ सय ८३ महिलालाई उद्यमशील बनाएको जनाएको छ । हाल २१ हजार चार सय ९९ प्रत्यक्ष लाभान्वित भएको संस्थाको लेखा समिति संयोजक चन्द्र महतोले जानकारी दिनुभयो ।
त्यसैगरी संस्थाको सहकार्यमा सञ्चालन भइरहेको ‘थ्री जिरो क्लब’ अभियानअन्तर्गत हाल एक हजार चार सय पाँच क्लबमा सात हजार २५ जना १२ देखि ३५ वर्ष उमेर समूहका युवा संगठित गरी बंगलादेशको युनुस सेन्टरबाट अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको संस्थाका सामाजिक तथा उद्यमशीलता प्रमुख कमलेश्वरप्रसाद साहले जानकारी दिनुभयो । कार्यक्रममा सहकारी क्षेत्रको सुदृढीकरण, सदस्यको आर्थिक सशक्तीकरण तथा युवालाई उद्यमशीलतामा जोड्ने विषयमा जोड दिइएको थियो । मधेस प्रदेशको अर्थतन्त्रको हर्टलाइन सहकारीलाई बनाउन तथा कर्मचारी सुरक्षा तथा ऋण अपचलन गर्नेलाई कारबाहीबारेमा छलफल भएको सञ्चालक इब्राहिम अन्सारीले जानकारी दिनुभयो । संस्थाले विगतदेखि पीडामा रहेका गरिब विपन्न कृषकदेखि उद्यमीसम्मका सदस्य र सदस्यका श्रीमान्को मृत्यु हुँदा ऋण मिनाहा, क्रिया खर्च, एकल महिला सदस्यलाई सहयोग तथा सुत्केरी सदस्यलाई पोषण सुविधा प्रदान गर्दै आएको छ । संस्थाको कुल सम्पत्ति ६६ करोड रहेको छ भने चैतसम्ममा बचत २८ करोड, ऋण लगानी ४९ करोड र मुनाफा १३ लाख रहेको संस्थाका प्रशासकीय अधिकृत सञ्जीवकुमार साहले जानकारी दिनुभयो ।
विगत २५ वर्षदेखि संस्थाले पाएको प्रदेश तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मान तीन शून्य क्लबको उपलब्धि तथा सम्मान प्रशंसापत्रको एक संग्रहालय बनाउने भएको छ । संस्थाले विगतदेखि महिला केन्द्रित लघुउद्यम कार्यक्रम सञ्चालन गर्दै समूह जमानी कर्जा प्रदान गर्दै आएको छ भने घुंघटबाट बाहिर ल्याउने, बचत गर्न सिकाउने, स-साना ऋण चलाउन सिकाउनेलगायतका धेरै कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाकी उपाध्यक्ष प्रमिलादेवी थरुनीले बताउनुभयो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि