काठमाडौं । सेयर लगानीकर्ताहरूले सार्वजनिक लेखा समितिमा उजुरी दिएका छन् । नेपालको पुँजी बजारमा हालै लागू गरिएका नीतिगत व्यवस्था गैरकानुनी, षड्यन्त्रपूर्ण र स्वार्थ समूहको प्रभावमा ल्याइएको आरोप लगाउँदै नेपाल सेयर बजार लगानीकर्ता संघले सार्वजनिक लेखा समितिमा निवेदन दिएको हो । संघले उक्त व्यवस्था तत्काल खारेज गर्न, संलग्न अधिकारीहरूलाई निलम्बन गरी संसदीय छानबिन गर्न र दोषीमाथि कारबाही गर्न माग गरेको छ । संघका अध्यक्ष हरिबहादुर केसीद्वारा हस्ताक्षरित निवेदनमा करिब ७६ लाख ५५ हजारभन्दा बढी सर्वसाधारण लगानीकर्ताको हकहित संरक्षणका लागि आवाज उठाइएको उल्लेख छ ।
नेपालको पुँजी बजारमा हालै लागू गरिएका नीतिगत व्यवस्था गैरकानुनी, षड्यन्त्रपूर्ण र स्वार्थ समूहको प्रभावमा ल्याइएको आरोप लगाउँदै सेयर बजार लगानीकर्ता संघले उजुरी दिएको हो ।
निवेदनमा नेपालको पुँजी बजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) हाल देशकै सबैभन्दा विवादित निकाय बनेको दाबी गर्दै लगानीकर्ताको हित संरक्षण गर्ने ऐनको उद्देश्य व्यवहारमा कार्यान्वयन नभएको संघको भनाइ छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २०८३ वैशाख ७ गतेदेखि लागू गर्ने निर्णय विवादित भन्दै खारेज गर्न माग गरिएको छ ।
उल्लेखित निर्णयअनुसार प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्टि दायरा दुर्ई प्रतिशतबाट बढाएर पाँच प्रतिशत पुर्याइएको, एक कम्पनीको सेयर मूल्य उतारचढाव सीमा दैनिक १० प्रतिशतबाट बढाएर १५ प्रतिशत बनाइएको तथा नेप्से सूचक छ प्रतिशत घटबढ हुँदा कारोबार बन्द हुने व्यवस्था बढाएर आठ प्रतिशत कायम गरिएको बताइएको छ । संघले उल्लेखित निर्णयहरू प्रतिनिधिसभा नियमावली, २०७९, विधायन ऐन, २०८१, सुशासन ऐन, २०६४ लगायतका कानुनी प्रावधानको उल्लंघन गर्दै पर्याप्त अध्ययनबिना लागू गरिएको जनाएको छ ।
निवेदनमा सेबोन, नेप्से, सिडिएस एण्ड क्लियरिङ, नेपाल राष्ट्र बैंक, बीमा प्राधिकरण तथा अन्य नियामक निकायहरूले व्यवस्थापिका र कार्यपालिकाको अधिकार प्रयोग गर्न नमिल्ने स्पष्ट गर्दै ती निकायहरूले कानुनअनुसार मात्र काम गर्नुपर्ने उल्लेख गरिएको छ । संघका अनुसार नयाँ व्यवस्थाले एकल कम्पनीको सेयर मूल्यमा एकै दिन ३० प्रतिशतसम्म र समग्र सूचकमा १६ प्रतिशतसम्म उतारचढाव हुने जोखिम बढाउनेछ, जसले सर्वसाधारण लगानीकर्ताको पुँजीमा गम्भीर असर पार्न सक्छ ।
त्यसैगरी विदेशमा रहेका लगानीकर्ताले २४सै घण्टा खरिद-बिक्री आदेश दिन सक्ने सुविधा सकारात्मक भए पनि आवश्यक कानुनी प्रक्रिया पूरा नगरी लागू गरिए कानुनी रूपमा शून्य हुने संघको दाबी छ । संघले करिब ५० खर्ब रुपैयाँ बराबरको बजार पुँजीकरण भएको पुँजी बजारमा नीतिगत अस्थिरता निम्त्याएर जनताको लगानी जोखिममा पारिएको भन्दै सार्वजनिक लेखा समितिलाई तत्काल हस्तक्षेप गरी प्रभावकारी कदम चाल्न माग गरेको छ ।
सेयर बजार घट्यो
साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार सामान्य अंक बढेर बन्द भएको नेप्से यस दिन १३.१७ अंक घटेर २८२५.२३ बिन्दुमा झरेको हो । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गत शुक्रबार सात अर्ब ४६ करोड छ लाख ९८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा सोमबार तीन सय ४९ कम्पनीको एक लाख १६ हजार तीन सय १० पटकको कारोबारमा पाँच अर्ब ४३ करोड ४२ लाख ४० हजार रुपैयाँ बराबरका एक करोड १६ लाख ५३ हजार कित्ता सेयर खरिदबिक्री भएका हुन् ।
विभिन्न चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । झापा इनर्जीको सेयरमूल्य करिब १२ प्रतिशत बढेको छ भने रिज लाइन इनर्जीको सेयरमूल्य ११ प्रतिशत बढेको छ । दोल्ती पावर कम्पनीको सेयरमूल्य सर्वाधिक ५.३५ प्रतिशत घटेको छ ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको सोलु हाइड्रोपावरको ३६ करोड एक लाख ५९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त सोलु कम्पनीको करिब ३० करोड रुपैयाँको सेयर कारोबार भएको हो । १३ समूहमध्ये एक समूहको परिसूचक बढेको छ भने १२ समूहको घटेको यस दिन होटल तथा पर्यटन समूहको परिसूचक १.०१ प्रतिशत बढेको छ । सोमबारदेखि बजारमा नयाँ कारोबार प्रणाली लागू हुँदै एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुने व्यवस्था भएको थियो । जसको प्रभाव स्वरूप छवटा कम्पनीको मूल्य १० प्रतिशतभन्दा धेरैले बढेको थियो । सुरुवाती समयमा केही बढेको बजार अन्त्यमा घटेर बन्द भएको हो ।
गत साता भने नेप्से स्थिर रहेको थियो । अघिल्लो साता २८३७.७७ अंकमा बन्द भएको नेप्से गत साता ०.६३ अंक बढेर २८३८.४० बिन्दुमा बन्द भएको थियो । गत साता चार कारोबार दिनका लागि बजार खुलेकोमा दुई कारोबार दिन बढेको थियो भने दुई कारोबार दिन घटेको थियो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि