काठमाडौं । निर्वाचनमा अपेक्षित नतिजा आउन नसकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र बढेको आन्तरिक विवाद सतहमै देखिएको छ । पार्टी नेतृत्वको कार्यशैलीलाई लिएर सुरु भएको असन्तुष्टि गुटगत संघर्षमा परिणत भएको छ । एकातिर अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई ‘खरानी पार्न खोज्नेहरू’सँग कुनै सम्झौता नगर्ने कठोर नीति अख्तियार गर्नुभएको छ भने अर्कोतिर महामन्त्री धवलशमशेर राणा नेतृत्वको असन्तुष्ट पक्षले तत्काल महाधिवेशनको मिति तोक्न नेतृत्वलाई अल्टिमेटम दिएको छ । यसैबीच, पार्टीभित्रको बढ्दो ध्रुवीकरणलाई लक्षित गर्दै सांसद ज्ञानेन्द्र शाहीले फरक विचारलाई सम्मान गर्न नसके पार्टीमा तानाशाही प्रवृत्ति हाबी हुनसक्ने भन्दै नेतृत्वलाई सचेत गराउनुभएको छ ।
नेतृत्वको कार्यशैलीलाई लिएर असन्तुष्ट पक्षले मोर्चाबन्दी कसेपछि अध्यक्ष लिङ्देन निकै आक्रामक रूपमा प्रस्तुत हुनुभएको छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संस्थापन इतर पक्षका नेताहरूमाथि प्रहार गर्नुभयो । महामन्त्री राणा लगायतका नेताहरूलाई लक्षित गर्दै अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘पार्टीभित्रै रहेर पार्टीलाई नै खरानी पार्न खोज्नेहरूसँग अब कुनै सम्झौता हुनेछैन ।’ आफ्नो जिल्लामा वडा समिति बनाउन नसक्ने, चुनावमा पार्टीका उम्मेदवारलाई नसघाउने र राप्रपालाई राष्ट्रिय पार्टी बन्नबाट रोक्न खोज्नेहरूको कुनै कुरा नसुनिने उहाँले स्पष्ट पार्नुभयो । यद्यपि, महाधिवेशन सारेर आफ्नो कार्यकाल लम्ब्याउने पक्षमा आफू नरहेको भन्दै उहाँले वैधानिक तवरले उचित समयमा महाधिवेशन सम्पन्न गर्न पार्टी नेतृत्व तयार रहेको बताउनुभयो ।
वर्तमान समस्याको वैधानिक समाधान महाधिवेशन नै भएको उहाँको भनाइ छ । साथै, उहाँले संसद्मा प्रतिपक्ष कमजोर भएको अवस्थामा सरकारको गलत कार्यको सडक र सदनबाट प्रतिवाद गर्ने घोषणा गर्दै गृहमन्त्रीको विषयमा सरकारले तत्काल आफ्नो धारणा स्पष्ट पार्नुपर्ने माग राख्नुभयो ।
फरक विचारको सम्मान गरौँ : शाही
पार्टीभित्र गुटगत तीक्तता बढ्दै गर्दा सांसद ज्ञानेन्द्र शाहीले भने पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिनुभएको छ । सोमबार नै काठमाडौंमा आयोजित राप्रपाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूको सम्मान कार्यक्रममा बोल्दै उहाँले नेतृत्वलाई सन्तुलित बन्न आग्रह गर्नुभयो । ‘पार्टीभित्र फरक विचार राख्नेलाई सम्मानका साथ अगाडि बढाउन सक्नुपर्छ । यदि त्यो सकेनौँ भने भोलि ममा पनि तानाशाही प्रवृत्ति आउनसक्छ’,‘शाहीले भन्नुभयो, ‘यो एउटा सिकाइ हुँदै जान्छ र त्यसले भोलि अप्ठ्यारो अवस्था ल्याउनसक्छ । त्यसैले अहिले राप्रपाले फरक विचार भएकोलाई पनि सम्मान गर्नुपर्छ ।’
शाहीले राप्रपाका नेताहरू आर्थिक रूपमा इमानदार रहेको दाबी गर्दै भ्रष्टाचारका प्रकरणमा पार्टी नेतृत्वमाथि कुनै दाग नलागेको बताउनुभयो । ‘अहिले भ्रष्टाचारका फाइलका फाइल आएका छन् । तर, राप्रपाको नेतृत्वमाथि अहिलेसम्म एउटा प्रश्न उठेको छैन, किनभने हामी इमानदारीसाथ अगाडि बढ्छौँ’, उहाँले भन्नुभयो ।
निर्वाचनको असफलताको सन्दर्भमा बोल्दै उहाँले जनताको विमति पार्टीसँग भन्दा पनि उम्मेदवारसँग भएको विश्लेषण सुनाउनुभयो । एमालेका युवाहरूले जितेर आएको उदाहरण दिँदै उहाँले भन्नुभयो, ‘यहाँ पार्टीसँग विमति होइन, उम्मेदवारसँग विमति छ । पार्टी नै खत्तम भएको भए एमालेका युवाहरूले कसरी जितेर आउँथे ?’ राप्रपासँग सबैभन्दा बलियो राजनीतिक एजेण्डा भएको दाबी गर्दै उहाँले आफ्ना कमी कमजोरी भए आत्मसमीक्षा गर्नुपर्ने र सरकारका सकारात्मक कदमलाई साथ दिँदै जनविरोधी कामको खबरदारी गर्नुपर्ने बताउनुभयो ।
पूर्व-अध्यक्षहरूको समर्थन जुटाउँदै राणा पक्ष
अध्यक्ष लिङ्देनले ‘नो कम्प्रोमाइज’को नीति लिएपछि महामन्त्री राणा नेतृत्वको संस्थापनइतर समूहले दबाब बढाउन पूर्व-अध्यक्षहरूको समर्थन जुटाउने प्रयास थालेको छ । आइतबार राणा नेतृत्वको टोलीले पूर्व-अध्यक्षहरू पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापासँगै वरिष्ठ नेताहरू नवराज सुवेदी र हरिबहादुर बस्नेतसँग भेटवार्ता गरेको छ । उनीहरूले केन्द्रीय कार्यसमितिको अघिल्लो निर्णयअनुसार आगामी जेठ महिनाभित्रै पार्टीको महाधिवेशन सम्पन्न गर्ने वातावरण बनाइदिन अभिभावक नेताहरूसँग आग्रह गरेका छन् । हालसम्म २७ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको अवस्थामा जेठमै महाधिवेशन गर्न सकिने तर्क गर्दै असन्तुष्ट पक्षले ‘निष्पक्ष व्यक्तित्व’को संयोजनमा महाधिवेशन आयोजक समिति गठन हुनुपर्ने माग राखेको छ । चुनावी असफलतापछि कार्यकर्तामा छाएको अन्योलता चिर्न नयाँ नेतृत्व अनिवार्य भएको उनीहरूको निष्कर्ष छ ।
विवाद बढ्दै जाँदा अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत राप्रपा विभाजन वा समाप्त नहुने दाबी गर्नुभएको छ । आफ्नो आधिकारिक फेसबुकमा लिङ्देनले लेख्नुभएको छ, ‘राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेखे हुन्छ । म जस्ता असंख्यको रगत पसिना र बैंस खर्चेर बनेको यो राप्रपाले चुनाव पो हारेको हो त, चुनाव हार्दैमा कुनै पनि राजनीतिक पार्टीको भविष्य सकिँदैन ।’ उहाँले अभिभावकीय राजसंस्था, सनातन हिन्दूराष्ट्र र प्रदेश संरचना खारेजीको अवधारणाबाट पार्टी पछाडि नफर्कने प्रष्ट पार्दै कमी कमजोरी सच्याएर राप्रपा पुनर्गठित हुने विश्वास व्यक्त गर्नुभएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर