ललितपुर । कवियत्री अनुशा शर्मा सुवेदीद्वारा लिखित अंग्रेजी कवितासंग्रह ‘पोइटिक डायस्पोरा’ माथि ललितपुरको हात्तीबनमा आयोजित एक समारोहबीच परिचर्चा गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि प्राडा.अरूण गुप्ताले कृतिमा समेटिएका कविताका शब्दहरू चिन्तनशील र सशक्त रहेको बताउनुभयो । उहाँले १३० वटा कविताहरूले गहिरो भाव र सशक्त अभिव्यक्ति प्रस्तुत गरेको उल्लेख गर्दै लेखकको शाब्दिक परिकल्पनाशक्ति प्रशंसनीय रहेको धारणा राख्नुभयो ।
कवि तथा समीक्षक केशव सिग्देलले अनुशाका कविता उच्च कोटिका रहेको बताउनुभयो । उहाँका अनुसार कवितामा गहन अर्थ र मीठो शिल्प संयोजन भएको छ भने खुट्किलाबद्ध शैलीले पाठकलाई आकर्षित गर्छ । उहाँले कवितामा स्वतन्त्रताको चेतना र भक्तिधाराको प्रवाह स्पष्ट देखिने बताउनुभयो ।
अर्का समीक्षक महेश पौडेलले कृतिमा जीवनजगतलाई हेर्ने दृष्टिकोण समेटिएको उल्लेख गर्दै कवितामा ध्यान (मेडिटेसन)जस्तो प्रभाव पार्ने क्षमता रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले कवितामा बालमनोविज्ञानसमेत झल्किएको बताउनुभयो ।
कवि सरला केसीले अनुशाका कवितामा शक्तिशाली भाव र ओज रहेको बताउँदै ती कविता पढ्दा शीतल अनुभूति हुने उल्लेख गर्नुभयो । यस्तै, कवि तथा लेखक राजीव श्रेष्ठले कवितामा जीवनका अनुभूति र आध्यात्मिक चेतना प्रतिबिम्बित भएको प्रतिक्रिया दिनुभयो । कार्यक्रममा पत्रकार तथा कवि दीपक सापकोटाले कृतिभित्रका केही कविता वाचन गर्नुभएको थियो भने पत्रकार एवं साहित्यकार राज सरगमले सहजीकरण गर्दै कृतिकारसँग संवाद गर्नुभएको थियो ।
कृतिकार अनुशा शर्मा सुवेदीले आफ्नो लेखन अनुभव साझा गर्दै कविताहरू आफ्ना अनुभूति, भावना र जीवनका विभिन्न अवस्थाबाट प्रेरित रहेको बताउनुभयो । उहाँले परिवारबाट टाढा रहँदाका अनुभूति र भन्न नसकेका भावनालाई कवितामार्फत अभिव्यक्त गरेको उल्लेख गर्नुभयो । साथै, आफूमा प्रकृतिप्रेम र भगवान् शिवप्रति गहिरो आस्था रहेको बताउनुभयो । कार्यक्रममा लेखक तथा बालगीतकार रामबाबु सुवेदीले स्वागत मन्तव्य व्यक्त राख्नुभएको थियो ।







हरितालिका तीजमा पशुपतिनाथसहित शिवालयमा श्रद्धालुको
विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका
बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन
चीनले इरानलाई सूचना दिएको खबर