काठमाडौं । रितेश देशमुखको ‘ड्रिम प्रोजेक्ट’ मानिएको चलचित्र राजा शिवाजी नेपालमा पनि रिलिज हुनेभएको छ । चलचित्रका लागि नेपालका आधिकारिक वितरक नेओम फिल्मस्का कश्यप नरेन्द्र वेद र नवीन उदासले भारतसँगै नेपालमा पनि प्रदर्शन गरिने जानकारी दिनुभएको हो ।
उहाँहरूका अनुसार चलचित्र रिलिजकै दिन विशेष प्रदर्शनी आयोजना गरिनेछ, जसमा भारतीय दूतावासका प्रतिनिधि, नेपाली सञ्चारकर्मी तथा सेलिब्रेटीहरूको उपस्थिति रहने जनाइएको छ । ‘साहस, नेतृत्व र स्वराजका प्रतीक छत्रपति शिवाजी महाराजको जीवन र दृष्टिकोणलाई नेपालमा प्रस्तुत गर्न पाउँदा हामी उत्साहित छौं’, वितरक कश्यप नरेन्द्र वेदले भन्नुभयो । उहाँले यो चलचित्रले नेपाल-भारतबीचको सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
मराठा साम्राज्यका संस्थापक शिवाजी महाराजको जीवनमा आधारित यस चलचित्रलाई स्वयं रितेश देशमुखले निर्देशन गर्नुभएको हो र मुख्य भूमिकामा पनि उहाँ नै देखिनुभएको छ । चलचित्रमा जेनेलिया देशमुख, सञ्जय दत्त, विद्या बालन, अभिषेक बच्चन, महेश मान्जरेकर जस्ता कलाकार को अभिनय रहेको छ ।
चलचित्रमा रितेशका कान्छा छोरा राहिल देशमुखले शिवाजी महाराजको बाल्यकालको भूमिका निर्वाह गर्दै अभिनयमा डेब्यु गर्नुभएको छ । रितेशले शिवाजीको साहस, बुद्धिमत्ता र गरिमालाई गहिराइमा पुगेर जीवन्त रूपमा प्रस्तुत गरिएको बताउनुभएको छ ।
जियो स्टुडियोज, ज्योति देशपाण्डे र जेनेलिया देशमुखको निर्माण रहेको यो चलचित्र आगामी मे १ (वैशाख १८)देखि नेपालभर प्रदर्शनमा आउनेछ । रितेशद्वारा निर्देशित अघिल्लो मराठी चलचित्र ‘वेड’ व्यावसायिक रूपमा सफल भएकाले ‘राजा शिवाजी’प्रति दर्शकको अपेक्षा उच्च रहेको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि