नेपाली चलचित्र क्षेत्रका अनुभवी निर्देशक तुलसी घिमिरे झण्डै एक दशकपछि नयाँ चलचित्र ‘पहाड’ लिएर दर्शकमाझ आउनुभएको छ । ‘कुसुमे रुमाल’, ‘चिनो’, ‘दर्पण छायाँ’, ‘देउता’, र ‘बलिदान’ जस्ता कालजयी चलचित्र दिनुभएका घिमिरे अहिले बदलिँदो प्रविधि, दर्शकको रुचि र प्रचार शैलीसँग आफूलाई पुनः अनुकूल बनाउँदै अघि बढिरहनुभएकोछ । ‘पहाड’ले आधुनिक समाज र युवाको सोचलाइले जोडिने प्रयास गरेको बताउनुहुने वरिष्ठ निर्देशक तुलसी घिमिरेसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अशःं-
लामो अन्तरालपछि ‘पहाड’ लिएर आउनुभयो, यो ग्याप किन भयो ?
यो ग्याप हुनुको मुख्य कारण समयसँगै आएको परिवर्तनलाई बुझ्नुपर्ने आवश्यकता थियो । हाम्रो समयमा सेलुलोइड प्रविधि थियो, त्यसपछि एनालग आयो र अहिले डिजिटलमा आइपुगेका छौं । प्रविधिमात्रै होइन, कथा भन्ने शैली पनि धेरै फेरिएको छ । यी सबै कुरा सिक्दै जाँदा समय बितेको पत्तै भएन । अर्को कुरा, बीचमा केही विश्राम लिने सोच पनि थियो । अहिले सबै कुरा मिलेर आएको छ । म यसलाई ‘रिटायर’ होइन, ‘रि-टायर’ भन्न रुचाउँछु जस्तो पुरानो गाडीमा नयाँ टायर लगाएर फेरि यात्रा सुरु गरेजस्तो ।
तुलसी घिमिरे-यो नाम उच्चारण गर्ने बित्तिकै नेपाली चलचित्रको एउटा पुरानो, आत्मीय र उज्यालो आकाश सम्झनामा झल्किन्छ । उहाँ केवल एक निर्देशक मात्र हुनुहुन्न, समयका साक्षी हुनुहुन्छ, कथाका संवाहक हुनुहुन्छ र भावनाका शिल्पी हुनुहुन्छ । उहाँको क्यामेराले केवल दृश्य कैद गरेन, यसले युगको संवेदना, जनताको पीडा, प्रेमको कोमलता र राष्ट्रप्रेमको गहिरो स्वरलाई सजीव बनायो । विसं २०३८ सालमा ‘बाँसुरी’मार्फत रजतपटमा पाइला राख्दा सायद उहाँले आफैंले पनि सोच्नुभएको थिएन यो यात्रा नेपाली चलचित्र इतिहासकै एक अमिट अध्याय बन्नेछ भनेर । ४० को दशक उहाँका लागि सिर्जनाको सुनौलो समय बन्यो, ‘कुसुमे रुमाल’को प्रेम, ‘लाहुरे’को देशभक्ति, ‘चिनो’को संवेदना र ‘दक्षिणा’को सामाजिक गहिराइले दर्शकको मनमा स्थायी बास बस्यो । यी केवल चलचित्र थिएनन्, समयसँग संवाद गर्ने जीवित दस्तावेज थिए । ५० को दशकमा पनि उहाँको सिर्जनशीलता अझ परिपक्व हुँदै गयो ‘देउता’मा मानवीय सम्बन्धको द्वन्द्व, ‘बलिदान’मा राजनीतिक चेतना र ‘दर्पणछाया’मा युवाको मनोविज्ञान र प्रेमको व्यथा । ‘दर्पणछाया’ त केवल चलचित्र रहेन, एउटा पुस्ताको धड्कन बन्यो हलमा गुञ्जिने सिटीहरू, आँसुका थोपा र स्मृतिमा बस्ने संवादहरू यसको प्रमाण बने । समय बगिरह्यो, प्रविधि बदलियो, कथावाचनका शैलीहरू फेरिए । तर, घिमिरेको मूल आत्मा-मानिस र माटोसँगको सम्बन्ध-अडिग रह्यो । २०७३ सालमा ‘दर्पणछाया-२’ पछि केही समय मौन बस्नुभएका उहाँ अब फेरि ‘पहाड’ लिएर आउनुभएको छ । जसले केवल कथा होइन, पहाडको पीडा, त्यहाँको संघर्ष र त्यहीँबाट उब्जिने आशाको उज्यालोलाई पर्दामा उतारेको छ । यो एक दशकको अन्तरालमा उहाँले समयसँगै आफूलाई पनि पुनः गढनुभयो नयाँ प्रविधि सिक्नुभयो, नयाँ शैली आत्मसात् गर्नुभयो, तर आफ्नो मौलिकता कहिल्यै गुमाउनुभएन । उहाँको सिर्जनामा सधैंजसो राष्ट्रप्रेमको मधुर स्वर हुन्छ, युवाको विद्रोह र आशा मिसिएको हुन्छ र गाउँबस्तीको धूलो, पसिना र सपना झल्किन्छ । ‘पहाड’ केवल एउटा चलचित्र होइन-यो उहाँको जीवन अनुभवको पुनरागमन हो, एउटा भावनात्मक यात्रा हो । यसै चलचित्रमार्फत उहाँले आफ्नी छोरी पञ्चमी घिमिरेलाई पनि रजतपटमा उतार्नुभएको छ-मानौं एउटा पुस्ताबाट अर्को पुस्तामा सपनाको उज्यालो सुम्पिएको हो । तुलसी घिमिरेका चलचित्रहरू हेर्दा लाग्छ-कथा सकिँदैनन्, ती त हाम्रोभित्रै कतै बाँचिरहन्छन् । र, सायद यही नै उहाँको सबैभन्दा ठूलो सफलता हो-दर्शकको मनमा आफ्नो सिनेमा जिउँदो राख्नु ।
‘पहाड’ शीर्षक किन रोज्नुभयो ?
‘पहाड’ केवल भूगोल होइन, सिंगो देशको प्रतीक हो । अहिले पहाड खाली हुँदैछ, युवाहरू विदेशिँदैछन् । एउटा हरफ छ, ‘यहीँ छ मेरो आमाको सपना, यहीँ माटोमा छ पुर्खाको हाड ।’ यही भावनालाई चलचित्रमा उतार्न खोजेको हुँ । प्रश्न उठ्छ देश बनाउने जिम्मा कसको हो ? बाँकी रहेका बूढाबूढी र बालबालिकाले मात्रै बनाउने हो ? देश बनाउन युवाको शक्ति र अनुभवी पुस्ताको मार्गदर्शन दुवै चाहिन्छ । यही सन्देश चलचित्रले दिन्छ ।
चलचित्रको कथा कसरी तयार भयो ?
यो कथा नयाँ होइन । धेरै अगाडिदेखिको सोच हो । महेन्द्रकालमा ‘गाउँ फर्क अभियान’ चलेको थियो, त्यसले मलाई गहिरो प्रभाव पारेको थियो । त्यतिबेला नै मैले यसबारे लेखेको थिएँ, नाटक पनि मञ्चन गरेका थियौं । त्यही पुरानो सोचलाई अहिलेको सन्दर्भसँग जोडेर ‘पहाड’ बनाएको हुँ अहिलेको पलायन, बेरोजगारी र उजाडिँदै गएको गाउँलाई केन्द्रमा राखेर ।
‘पहाड’मा के-कस्ता विषय उठान गरिएको छ ?
चलचित्रले बेरोजगारी, पानी अभाव, खाली हुँदै गएको पहाड र त्यसले निम्त्याएको सामाजिक–आर्थिक समस्यालाई देखाउँछ । युवा विदेश जाने बाध्यता किन छ ? गाउँ किन रित्तिँदैछ ? तर, यो केवल समस्याको चित्रणमात्र होइन, समाधानतर्फ संकेत पनि हो–युवाहरू फर्किनुपर्छ, सामूहिक रूपमा समस्या समाधान गर्नुपर्छ भन्ने सन्देश छ ।
चलचित्र मनोरञ्जनमुखी हो कि सन्देशमुखी ?
दुवै हो । चलचित्र पूर्णरूपमा मनोरञ्जनका लागि बनाइएको हो, तर त्यसभित्र सानो सन्देश पनि छ । दर्शकले मनोरञ्जन पाउनुहुन्छ, साथै आफ्नै जीवनसँग जोडिएको अनुभूति पनि गर्नुहुनेछ ।
अहिलेको दर्शकको रुचि र बजारलाई ‘पहाड’ले कसरी सम्बोधन गर्छ ?
अहिलेको युवा पुस्तामा ‘हामीले नगरे कसले गर्ने ?’ भन्ने सोच बढ्दैछ । त्यो भावना चलचित्रमा समेटिएको छ । आज धेरै नेपाली युवा विदेशमा सामान्य काम गरिरहेका छन्, जबकि उनीहरूसँग ठूलो क्षमता छ । यो चलचित्रले उनीहरूलाई आफ्नो देशतिर फर्किन प्रेरित गर्छ । यसरी ‘पहाड’ले आधुनिक समाज र युवाको सोचसँग जोडिने प्रयास गरेको छ ।
निर्माण प्रक्रियामा कस्ता चुनौतीहरू सामना गर्नुभयो ?
धेरै चुनौती थिए । हामी सेलुलोइडमा काम गर्ने पुस्ता हौं । अहिले डिजिटलमा साना कुरा मिलाउन पनि घण्टौं लाग्ने रहेछ । ‘रेन्डरिङ’ जस्ता प्रक्रियाले समय लिन्छ । यो सबै बुझ्न गाह्रो भयो, त्यसैले मैले नयाँ पुस्तासँग सहयोग लिए । युवाहरूसँग काम गर्दा आफूलाई पनि ऊर्जावान महसुस हुन्छ । चुनौती भए पनि अन्तिम परिणाम राम्रो आएको छ ।
चलचित्रको प्रचारप्रसारमा के अनुभव रह्यो ?
साँचो भन्नुपर्दा, प्रचारप्रसार मेरो लागि नयाँ अनुभव रह्यो । पहिले पोटर टाँसिन्थ्यो, सबैलाई जानकारी हुन्थ्यो । अहिले सबै कुरा सोसल मिडियामा हुन्छ । मलाई सुरुवातमा कसरी प्रचार गर्ने भन्ने थाहा थिएन । अहिले साथीभाइ र युवा पुस्ताले सहयोग गरिरहेका छन् । मैले बुझें–चलचित्र बनाएरमात्र हुँदैन, चलाउन प्रचार पनि जान्नुपर्छ ।
‘पहाड’को प्रदर्शन कस्तो भइरहेको छ ?
सुरुमा धेरै दर्शकलाई चलचित्र लागेको थाहा नै रहेनछ । तर, अहिले ‘माउथ पब्लिसिटी’का कारण बिस्तारै राम्रो प्रतिक्रिया आइरहेको छ । दर्शकले सकारात्मक प्रतिक्रिया दिनुभएको छ । यही नै हाम्रो लागि ठूलो उपलब्धि हो ।
मल्टिप्लेक्स र सिंगल थिएटरको अनुभव कस्तो रह्यो ?
दुवै अनुभव फरक छन् । अहिले मल्टिप्लेक्समा कुन शोमा कति टिकट बिक्री भयो भनेर तुरुन्तै थाहा पाइन्छ । तर, शो टाइमिङले कहिलेकाहीँ दर्शक अलमलिन्छन् कुनै हलमा बिहानमात्र शो हुन्छ, कतै दिउँसो वा राति । यसले दर्शकलाई असहज बनाउँछ । हामीले अझै सबै दर्शकसम्म सही जानकारी पुर्याउन मिहिनेत गर्नुपर्छ ।
कलाकार छनोट र उनीहरूको अभिनयबारे के भन्नुहुन्छ ?
चलचित्रमा मदनकृष्ण श्रेष्ठ, सुनिल थापा, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, अरुण क्षेत्रीलगायत अनुभवी कलाकार हुनुहुन्छ । नयाँ कलाकार पञ्चमी घिमिरे पनि हुनुहुन्छ । सबैले उत्कृष्ट अभिनय गर्नुभएको छ । विशेषगरी विपिन कार्कीको भूमिका दर्शकलाई मन पर्नेछ भन्ने विश्वास छ ।
पञ्चमी घिमिरेको डेब्युबारे प्रतिक्रिया कस्तो छ ?
मलाई सुरुमा डर थियो बाबुले छोरीलाई अवसर दियो भन्ने आरोप आउला कि भनेर । तर, उनले उत्कृष्ट काम गरिन् । उनले मुम्बईमा प्रशिक्षण लिएकी थिइन् । चलचित्रमा उनलाई बलियो पात्रमा प्रस्तुत गरेका छौं । अहिले प्रतिक्रिया हेर्दा मेरो निर्णय सही थियो भन्ने लाग्छ ।
तपाईंका चलचित्रमा संगीत सधैं बलियो पक्ष रहन्छ । ‘पहाड’मा कस्तो प्रतिक्रिया पाउनुभयो ?
दर्शकको प्रतिक्रिया निकै उत्साहजनक छ । ‘त्रिशूलधारी’ भजन र लोकलयका गीतहरूलाई धेरै मन पराइएको छ । संगीतले चलचित्रको भावनालाई अझ गहिरो बनाएको छ भन्ने महसुस भएको छ ।
नेपाली चलचित्र उद्योगमा आएको परिवर्तनलाई कसरी हेर्नुहुन्छ ?
धेरै परिवर्तन आएको छ । अहिले वर्षमा ५०-६० फिल्म बन्ने अवस्था छ । दर्शकको स्वाद पनि फेरिएको छ । प्रविधि, प्रस्तुति, कथा-सबै क्षेत्रमा ठूलो विकास भएको छ । यसलाई आत्मसात् गर्दै अघि बढ्नुपर्छ ।
तपाईंको करिअरलाई हेर्दा ‘पहाड’ कस्तो चलचित्र हो ?
मेरो विश्वास छ-‘पहाड’ एउटा महत्त्वपूर्ण चलचित्र हुनेछ । यसले दर्शकलाई छोएर जानेछ । जसरी मेरा अघिल्ला चलचित्रहरू कलाकारका लागि विशेष बने, त्यसैगरी ‘पहाड’ पनि कलाकार र दर्शक दुवैका लागि स्मरणीय बन्नेछ ।
अन्त्यमा ?
चलचित्र मनोरञ्जनका लागि हेर्नुहोस्, तर त्यसभित्र आफ्नो कथा पनि खोज्नुहोस् । ‘पहाड’मा पलायनको पीडा छ, सम्बन्धको कथा छ, अनि आशा पनि छ । म विश्वस्त छु–दर्शक हलबाट निराश भएर फर्किनुहुने छैन । दर्शकले चलचित्र हेरेर साथ दिइरहनुभएको छ आभारी छु ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि