कोलोराडो । आगामी जेठ महिनाको दोस्रो साता अमेरिकाको कोलोराडो आयोजना हुन गइरहेको नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी तीव्र रूपमा भइरहेको छ । अनेसासले हरेक दुई वर्षमा आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको नवौ शृंखला यसपटक अमेरिकाको कोलोराडो राज्यमा हुँदैछ । सम्मेलनमा संसारभरीबाट दुई सयभन्दा बढी नेपाली साहित्यकार सहभागी हुने अनुमान गरिएको छ ।
अनेसासका अध्यक्ष सर्वज्ञ वाग्लेले संसारभरी छरिएर रहेका ख्यातिप्राप्त नेपाली साहित्यकारलाई सम्मेलनमा सहभागिताका लागि पत्राचार गरिएकोमा थुप्रै साहित्यकारले सहभागी हुने प्रतिबद्धता जनाएको बताउनुभयो । उहाँले संसारभरीबाट आउने नेपाली साहित्यकारलाई स्वागत गर्न आफूहरू आतुर रहेको बताउनुभयो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रष्टि (बीओटी)का सभापति पदम विश्वकर्माले सम्मेलन आयोजनाका लागि कोलोराडोको वेष्टमिनिष्टरस्थित होटल डुरी इन प्लाजा चार दिनका लागि बुक गरिएको जानकारी दिनुभयो ।
नेपाली साहित्यकारको अभूतपूर्व जमघट हुने विश्वास गरिएको सम्मेलनमा नेपाली, अंग्रेजी भाषासँगै नेवारी, डोटेली लगायतका भाषाका शत्रहरू सञ्चालन गरिनेछन् । सम्मेलनमा नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमका साहित्यकारहरूको सहभागिता सहभागिता रहनेछ’, बिओटी सभापति विश्वकर्माले भन्नुभयो, भारतको आसाम, सिक्किम, दार्जिलिङ, भुटान, म्यानमार र विश्वका विभिन्न मुलुकमा रहेका नेपाली साहित्यकारले सहभागिता जनाउने प्रतिबद्धता जनाएको उहाँले जानकारी दिनुभयो ।
ख्यातिप्राप्त अंग्रेजी लेखिका डा.ज्याकलिन ज्याकलिन केरबेक, मदन पुरस्कार बिजेता साहित्यकार डा.नवराज लम्साल, रामलाल जोशी, निलम कार्की निहारिका, छुदेन काविमो, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशी, चर्चित साहित्यकार महेश पौडेल, श्रेष्ठ प्रिया पत्थर, भूपाल राई, गंगा लामिटारे, डा.टीका लम्साल, डा.तुलसी आचार्य, डा.खेम अर्याल, डा.संगीता स्वेच्छा, बाबा बस्नेत, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, तीर्थ अधिकारी, मोहन सिटौला, तुलसी आचार्य, टीका लम्साल, केशव बैरागी माईलालगायत दर्जनौं साहित्यकारले सहभागी हुने प्रतिबद्धता जनाएको आयोजकले जनाएको छ ।
सम्मेलनमा सहभागिताका लागि भारतको सिक्किमका पूर्वमुख्यमन्त्री पवन चामलिङलाई समेत पत्राचार गरिएको छ । उहाँले भाषिक विविधता र त्यही विविधतामा हुर्किएको नेपाली समाजको प्रतिबिम्ब सम्मेलनमा देख्न र महसुस गर्न पाइने विश्वकर्माले जानकारी गराउनुभयो ।
अनेसासका महासचिव राजु सिटौलाले सम्मेलनमा विश्वका झण्डै ४० मुलुकबाट दुई सयभन्दा बढी साहित्यकार सहभागी हुनेनुमान गरिएको बताउनुभयो । सम्मेलनमा नेपालसहित विश्वका विभिन्न मुलुकमा रहेका साहित्यकारलाई आमन्त्रण गरिएको जानकारी दिँदै थुप्रै साहित्यकारले सम्मेलनमा सहभागी हुने प्रतिबद्धता गरेको सिटौलाले सुनाउनुभयो ।
‘सम्मेलनमा नेपाली साहित्यका विषयमा मात्र चर्चा गरिनेछैन्, विश्वका पछिल्ला चर्चित साहित्यिक कृति र स्रष्टाका बारेमा समेत चर्चा गरिनेछ’, उहाँले भन्नुभयो, ‘जसले युवा पुस्तालाई उत्कृष्ट साहित्यिक कृति सृजनाका लागि उत्प्रेरित गर्ने विश्वास छ ।’
‘नेपाली भाषा, साहित्य, संस्कृतिका क्षेत्रमा योगदान पुर्याएका विशिष्ट व्यक्तित्वहरूसँग साक्षात्कार गर्न पाउने यो दुर्लभ अवसर साहित्यको महाकुम्भ हो’, अनेसासकी केन्द्रीय कोषाध्यक्ष तारा अधिकारीले भन्नुभयो, ‘यो अवसर नगुमाउन साहित्यप्रेमी र स्रष्टाहरूलाई अनेसास आग्रह गर्दछ ।’
अनेसासकी कोषाध्यक्ष अधिकारीका अनुसार सम्मेलनमा सहभागी हुन इच्छुक कोलोराडो राज्यका सहभागीका लागि तीन दिनको रजिष्ट्रेशन शुल्क ५० डलर निर्धारण गरिएको छ । अमेरिकाको अन्य राज्यका सहभागीहरूले भने रजिष्ट्रेशन शुल्क दिनु पर्नेछैन् । तर, होटलका रूमको भने शुल्क तिर्नुपर्नेछ । अमेरिका भन्दा बाहिरबाट आउनेहरूलाई निःशुल्क खान र बस्न सुविधा छ ।
अनेसास केन्द्रीय समितिको आयोजनामा सञ्चालन हुने सम्मेलनको संयोजन अनेसास कोलोराडो च्याप्टरले गरिरहेको छ । अनेसास कोलोराडो च्याप्टर अध्यक्ष किरण अधिकारीले सम्मेलन आयोजनाका लागि मूल समितिसँगै विभिन्न नौवटा उपसमिति गठन गरिएको जानकारी दिनुभयो ।
अधिकारीका अनुसार सम्मेलनमा तीनदिन साहित्यका विविध विषयमाथि विभिन्न सत्रहरूमा छलफल र बहस हुनेछ । अन्तिम तथा चौथो दिन सम्मेलनका सहभागीहरूलाई कोलोराडोका विभिन्न स्थानको पर्यटकीय र ऐतिहासिक क्षेत्रको भ्रमण गराउने कार्यक्रम तय गरिएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि