ललितपुर । सरकारी सञ्चारमाध्यमलाई मात्रै सरकारी विज्ञापन दिने संघीय सरकारको निर्णयप्रति आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघ ललितपुर शाखाले स्थानीय तहलाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार महासंघका अध्यक्ष रामहरि कार्कीको नेतृत्वमा गएको टोलीले जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयाललाई ज्ञापनपत्र बुझाएको हो । उक्त ज्ञापनपत्र समन्वय समितिमार्फत् ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका तथा महांकाल गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र बागमती गाउँपालिकामा पठाउन अनुरोध गरिएको छ ।
महासंघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवस्तरीय निर्णयका आधारमा २०८२ चैत १८ गते जारी गरिएको परिपत्रप्रति गम्भीर असन्तुष्टि जनाएको छ । उक्त परिपत्रमार्फत् संघीय, प्रदेश र स्थानीय तहका निकायलाई सरकारी सञ्चारमाध्यममै मात्र विज्ञापन प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिइएको थियो ।
ज्ञापनपत्रमा नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटमा रहेको उल्लेख गर्दै यस्तो निर्णयले निजी तथा सामुदायिक सञ्चारमाध्यमलाई थप कमजोर बनाउने तर्क गरिएको छ । श्रमजीवी पत्रकारहरूले नियमित पारिश्रमिक तथा कानुनअनुसारका सेवा-सुविधा पाउन नसकिरहेको अवस्थामा यस निर्णयले सञ्चारमाध्यमको अस्तित्वमै प्रश्न उठ्ने महासंघको भनाइ छ ।
महासंघले सरोकारवाला पक्षसँग पर्याप्त परामर्शबिना लिइएको निर्णयलाई आपत्तिजनक ठहर गर्दै सरकारी सञ्चारमाध्यमलाई मात्र प्राथमिकता दिने नीति विभेदकारी भएको जनाएको छ । साथै, उक्त निर्णयले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र सञ्चारको हकजस्ता संवैधानिक अधिकार तथा अन्तर्राष्ट्रिय मापदण्डविपरीत रहेको दाबी गरिएको छ ।
यसअघि महासंघले चैत २३ गते सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको र वैशाख १० गते जिल्ला प्रशासन कार्यालय ललितपुरमार्फत् प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइसकेको जनाएको छ । तर, समस्या समाधानतर्फ सरकार उदासीन देखिएको भन्दै महासंघले चिन्ता व्यक्त गरेको छ ।
महासंघले उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न स्थानीय तहलाई आग्रह गर्दै परिपत्र खारेज गर्न सरकारसँग माग गरेको छ । साथै, श्रमजीवी पत्रकारको पारिश्रमिक तथा सेवा-सुविधा सुनिश्चित गर्ने, विज्ञापन वितरणमा पारदर्शिता कायम गर्ने र सबै सञ्चारमाध्यमलाई समान व्यवहार गर्ने व्यवस्था गर्नुपर्ने माग पनि अघि सारेको छ ।
ज्ञापनपत्र बुझ्दै ऋषिदेव फुँयालले महासंघले उठाएको विषयलाई गम्भीरतापूर्वक लिने र समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर