काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको निजी क्षेत्रको व्यावसायिक हकहित र सुरक्षाप्रति प्रतिबद्धता जनाउँदै पछिल्ला घटनाक्रम र नाडाका पूर्वअध्यक्ष शेखर गोल्छाका सम्बन्धमा बाहिर आएका विषयप्रति गम्भीर चासो व्यक्त गरेको छ । नाडाद्वारा जारी विज्ञप्तिअनुसार शेखर गोल्छा नेपालको औद्योगिक एवं व्यावसायिक जगत्का एक सम्मानित व्यक्तित्व हुनुहुन्छ । उहाँले नाडामात्रै नभई समग्र निजी क्षेत्रलाई नयाँ दिशा दिन र मुलुकको आर्थिक विकासमा अतुलनीय योगदान पुर्याउनुभएको छ । गरिमामय इतिहास बोकेको र देशकै ठूलो औद्योगिक घरानाको नेतृत्व गरिरहनुभएको व्यक्तित्वमाथि गरिने कुनै पनि अन्यायपूर्ण व्यवहारले समग्र उद्योगी व्यवसायीमा नकारात्मक सन्देश जाने नाडाको भनाइ छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सत्यतथ्य छानबिन हुनुपर्छ भन्ने कुरामा नाडा पूर्ण विश्वास राख्छ । राज्यले गर्ने अनुसन्धान प्रक्रियामा निजी क्षेत्रले सधैं सहयोग गर्दै आएको छ र आगामी दिनमा पनि गर्नेछ । तर, अनुसन्धानका नाममा व्यवसायीलाई हठात् पक्राउ गर्ने वा थुनामा राख्ने कार्यले लगानीकर्ताको आत्मविश्वासमा खलल पुर्याउँछ ।’ निजी क्षेत्रलाई उत्साहित बनाउँदै लगानी भित्र्याउनुपर्ने समयमा प्रतिष्ठित व्यवसायीमाथि हुने धरपकडले स्वदेशी तथा विदेशी लगानीकर्तामा त्रासको वातावरण सिर्जना गर्ने र सरकारले अघि सारेको लगानीमैत्री नेपालको नारालाई समेत कमजोर बनाउने नाडाले जनाएको छ ।
त्यसैले नेपाल सरकार र सम्बन्धित निकायसमक्ष शेखर गोल्छाको हकमा पक्राउ नगरी छानबिन प्रक्रिया अघि बढाउन माग गरिएको छ । दोषी प्रमाणित नभएसम्म उहाँजस्तो प्रतिष्ठित नागरिकको आत्मसम्मान र व्यावसायिक प्रतिष्ठाको रक्षा गर्नु राज्यको पनि दायित्व भएको नाडाको भनाइ छ । साथै नाडाले निजी क्षेत्रलाई सुरक्षित र सम्मानित महसुस गराउँदै मुलुकको आर्थिक समृद्धिको यात्रामा हातेमालो गर्न माग गरेको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि