काठमाडाैं । हरेक वर्ष मे १ मा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ। श्रमिकहरूको हक, अधिकार र योगदानको सम्मानमा याे दिवस मनाइन्छ । नेपालका अधिकांश श्रमिक भने अझै पनि आधारभूत अधिकारबाट बञ्चित छन् ।
नेपालमा करिब ८० प्रतिशतभन्दा बढी श्रमिक अनौपचारिक क्षेत्रमा आबद्ध छन् । निर्माण, कृषि, यातायात, घरेलु काम लगायतका क्षेत्रमा कार्यरत यी श्रमिकहरू कुनै स्पष्ट श्रम सम्झौता, सामाजिक सुरक्षा वा बीमाको सुविधा बिना काम गर्न बाध्य छन् ।
अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूका लागि कामको निश्चित समय, न्यूनतम ज्याला र सुरक्षित कार्यस्थल अझै सुनिश्चित हुन सकेको छैन। दैनिक ज्यालामा काम गर्नेहरू काम पाए मात्र आम्दानी हुने भएकाले उनीहरूको जीवनयापन अनिश्चित छ ।
थापाथलीस्थित सुकुम्बासी भत्किएपछि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएकी ५५ वर्षीय गीता लामा दैनिक ज्याला मजदुरीको लागि साबेल चलाउँदै भन्नुहुन्छ, 'अस्ति सम्म सुकुम्बासी मै भए पनि आफ्नै घर थियो, अहिले त्यो पनि छैन, हामी दैनिक ज्याला मजदुरी गर्नेहरूलाई काम पाउन गार्हो छ, काम पाए पनि शारीरिक रुपमा गर्न नसकिने हुन्छ । दैनिक १ हजार ज्यालामा काम गर्नु पर्छ, महँगी बढेको छ, खाना पर्यो, लगाउन पर्यो त्यो एक हजारले दैनिकी चलाउन पनि मुस्किल छ ।'

सुकुम्बासी बस्तीबाटै होल्डिङ सेन्टरमा बस्दै आएका विजय मगरको पनि उस्तै अवस्था छ । उहाँले भन्नुभयाे, 'अहिले दैनिक कमाईले जीवन चलाउन मुस्कान छ, दैनिक कमाई थोरै छ, महँगी बढेको बढ्यै छ । सार्वजनिक बस चड्यो उस्तै महँगो भाडा छ, बजारमा केही सस्तो छैन, दैनिक १ हजार कमाइ हुन्छ, सधैं काम पाइँदैन ।'
बिहान कामको खोजीमा निस्किने र साँझ हातमा परेको ज्यालाले घर चलाउने बाध्यता गीता लामा र विजय मगरको मात्र होइन अझै पनि हजारौं श्रमिकको यथार्थ हो । काम नपाएको दिन उहाँहरूलाई परिवारको पेट पाल्नै समस्या हुने अवस्था छ।
सल्यानबाट काठमाडौं आएर कुलेश्वर फलफूल बजारमा भारी बोक्दै आएका टेक बहादुर सुनार र वीर बहादुर बस्नेतको अवस्था पनि उस्तै छ । दैनिक रुपमा भारी बोक्ने उहाँहरू, काम नभएको दिन कमाई बिहिन हुनुहुन्छ । न्यून कमाई त्यही कमाईबाट परिवारको लालनपालन, पढाई लगायत सबै जिम्मेवारी पूरा गर्नु पर्ने कर्तव्य उहाँहरूको काँधमा छ । त्यसैले उहाँहरू यो दुःखको काम छाड्न सक्नुहुँदैन ।

न्यूनतम ज्याला, सामाजिक सुरक्षा र बीमा पहुँच बाहिर
सरकारले तोकेको न्यूनतम ज्याला व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । विशेषगरी निर्माण र साना उद्योग क्षेत्रमा श्रमिकहरूले तोकिएको भन्दा कम पारिश्रमिक पाउने गुनासो व्यापक छ । श्रमिक संगठनहरूले बारम्बार आवाज उठाए पनि अनुगमन र कार्यान्वयन कमजोर देखिन्छ, त्यस्तै सामाजिक सुरक्षा कोषको व्यवस्था भए पनि अनौपचारिक क्षेत्रका धेरै श्रमिक यसमा आबद्ध हुन सकेका छैनन् । रोजगारी अस्थायी हुनु, जानकारीको अभाव र नियोक्ताको बेवास्ता यसको मुख्य कारण हुन् । यसका कारण दुर्घटना, बिरामी वा बेरोजगारीको अवस्थामा श्रमिकहरू पूर्ण रूपमा असुरक्षित रहन्छन् ।
त्यसका साथै महिला श्रमिकहरू घरेलु काम, कृषि तथा साना उद्योगमा न्यून पारिश्रमिक र दोहोरो श्रमको मारमा छन्। यस्तै, वैदेशिक रोजगारीबाट फर्किएका वा देशभित्रै बसाइँ सरेका श्रमिकहरू पनि अस्थिर रोजगारीको चक्रमा फसेका देखिन्छ ।

श्रमिकको आवाज अधिकार कागजमै सीमित भएका कारण श्रमिकको अधिकार व्यवहारमा सुनिश्चित हुन सकेको छैन। श्रमिकहरू संगठित हुन नसक्नु र आवाज कमजोर हुनु पनि अर्को चुनौती हो।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा औपचारिक कार्यक्रम र नाराहरूभन्दा बाहिर निस्केर श्रमिकहरूको वास्तविक समस्या समाधानतर्फ ठोस पहल आवश्यक देखिन्छ। श्रमको सम्मान, उचित पारिश्रमिक, सामाजिक सुरक्षा र सुरक्षित कार्यस्थल सुनिश्चित नगरी समृद्धिको लक्ष्य हासिल गर्न कठिन हुने विज्ञहरू बताउँछन्।






तस्बिरः नेपाल फाेटाे लाइब्रेरी




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि