ओखलढुंगाको प्राप्चा अहिलेको बोलुङ गाउँपालिका-३ मा बुबा परशुराम दाहाल र माता गंगामाया दाहालको कोखबाट काइँलो सन्तानका रूपमा जन्मिनुभएका डिपी दाहाल गीतकारका रूपमा प्रख्यात हुनुहुन्छ । उहाँले काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियशन श्रोता-दर्शकमाझ पस्किरहनुभएको छ । पेशाले लेखा व्यवसायी उहाँको मन भने सधैं गीतसंगीतमै रमाउँछ । ८० भन्दा बढी गीत रेकर्ड गर्नुभएका उहाँका ‘जिन्दगी खुशीले बाँचौँला’, ‘माया मीठो पलपलको’, ‘लुकी लुकी माया लाउँदा’, ‘आमा तिमीले छाडेर गयौ’, ‘म हारे पनि मेरो देश नहारोस्’ (राष्ट्रिय गीत), ‘परदेशी छोरो’, ‘त्यो डाँडापारी’, ‘दुई आँखाबाट’ लगायत गीतहरू अत्यधिक रुचाइएका छन् । यस्तै उहाँका दुई गीति पुस्तक पनि पाठकमाझ आएका छन् भने तेस्रो पुस्तकको तयारी हुनुहुन्छ उहाँ यतिबेला । चर्चाको पछि लाग्नेभन्दा कालजयी सिर्जनामा विश्वास गरेर आफू गीत रचनामा तल्लिन रहेको बताउनुहुने सर्जक डिपी दाहालसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अशःं-
यतिबेला के गर्दै हुनुहुन्छ ?
म निरन्तर गीत लेखनमै सक्रिय छु । संगीतकार विशाल निरौलाको संगीतमा एउटा नयाँ गीत चाँडै श्रोता-दर्शकमाझ ल्याउने तयारीमा छु । यो गीत जीवन र मृत्युको बीचमा रहेको अस्तित्व, संघर्ष र अनुभूतिको आधारमा तयार पारिएको हो । मान्छेको जीवन कति संवेदनशील र क्षणभंगुर हुन्छ भन्ने भावलाई गीतमार्फत प्रस्तुत गर्न खोजिएको छ । यसअघि समिक्षा अधिकारीको स्वरमा ‘नाचौँ बरिलै’ गीत पनि सार्वजनिक भएको थियो, जसले दर्शक–श्रोताबाट राम्रो प्रतिक्रिया पाएको छ ।
तपाईं गीत लेखनमा कसरी प्रवेश गर्नुभयो ? प्रेरणा कहाँबाट मिल्यो ?
सानैदेखि साहित्य र संगीतप्रति रुचि थियो । रेडियोमा गीति नाटक र नाटक गर्ने क्रममा शब्दप्रतिको मोह अझ बढ्दै गयो । त्यहीबाट गीत लेख्ने सुरुवात भयो । पहिलो पटक रेकर्ड भएको मेरो गीत ‘आँखा बाट आँसु’ हो । त्यो गीतले मलाई एउटा पहिचान दियो र अझै गहिराइमा लेख्न प्रेरित गर्यो । जीवनका अनुभूति, भोगाइ र समाजका यथार्थहरू नै मेरो प्रेरणाका स्रोत हुन् ।
हाम्रो गीतसंगीतको बजार अझै व्यवस्थित हुनसकेको छैन । स्रष्टाको अधिकार, पारिश्रमिक, कपीराइट जस्ता विषयमा स्पष्ट नीति र कार्यान्वयन जरुरी छ । गीतकार संघले स्रष्टाका विषयमा छलफल चलाउने र राज्यसँग जोड्ने काम गरिरहेको छ, जुन सह्रानीय छ । यसलाई अझ सशक्त बनाउनुपर्छ ।
तपाईंका कति गीतहरू रेकर्ड भएका छन् ? कुन-कुन गीतलाई दर्शकले विशेष रुचाएका छन् ?
अहिलेसम्म करिब ८० वटा गीत रेकर्ड भइसकेका छन् । मेरा धेरै गीतहरू श्रोताले मन पराउनुभएको छ । जस्तै- ‘जिन्दगी खुसीले बाँचौँला’, ‘माया मिठो पलपलको’, ‘लुकी लुकी माया लाउँदा’, ‘आमा तिमीले छाडेर गयौ’, ‘म हारे पनि मेरो देश नहारोस्’ (राष्ट्रिय गीत), ‘परदेशी छोरो’, ‘त्यो डाँडापारी’, ‘दुई आँखाबाट’ लगायत गीतहरू अत्यधिक रुचाइएका छन् । यी गीतहरूले माया, पीडा, देशप्रेम र जीवनका विविध पाटाहरूलाई समेटेका छन् ।
तपाईंका गीतहरूमा कुन विषयवस्तु बढी झल्किन्छ ?
मेरो गीतहरूमा आधुनिक, राष्ट्रिय र ट्र्याजेडी (पीडामूलक) विषयवस्तु बढी पाइन्छ । विशेषगरी पीडासँग सम्बन्धित गीतहरू श्रोताले धेरै मन पराउनुभएको मैले पाएको छु । मान्छेको जीवनमा दुःख-सुख, बिछोड, संघर्ष, प्रेम-यी सबै भावनाहरू सधैं रहन्छन् । म त्यही अनुभूतिलाई शब्दमा उतार्ने प्रयास गर्छु ।
यहाँका गीति पुस्तक पनि प्रकाशित छन् होइन ?
हो, मेरा दुईवटा गीति पुस्तक प्रकाशित भएका छन् ‘अन्तरमनको सुसेली’ र ‘आमाको वियोगान्त स्मृतिमा आमा गंगामाया दाहाल’ । यी कृतिहरूले मेरो भित्री भावना, विशेषगरी आमाप्रतिको माया र सम्झनालाई समेटेका छन् । अब तेस्रो पुस्तक निकाल्ने तयारीमा पनि छु । यसले मेरो गीत-यात्रालाई अझ व्यवस्थित रूपमा प्रस्तुत गर्नेछ भन्ने विश्वास छ ।
तपाईं कविता र मुक्तक पनि लेख्नुहुन्छ । अहिले किन गीत लेखनमै बढी केन्द्रित हुनुभयो ?
म कविता, मुक्तक लेख्दै आएको हुँ । तर, पछिल्लो समय गीत लेखनमा अलि बढी ध्यान दिएको छु । गीतले छोटो समयमा धेरै मानिससम्म पुग्ने क्षमता राख्छ । संगीतसँग जोडिएपछि शब्दले अझ जीवन्तता पाउँछ । त्यसैले गीतमार्फत आफ्नो भाव अभिव्यक्त गर्न सजिलो र प्रभावकारी लाग्छ ।
यहाँका गीत कहाँ सुन्ने ?
मेरा गीतहरू ‘डिपी’ युट्युब च्यानलमार्फत आउने गरेका छन् पछिल्लो समय । डिजिटल प्लेटफर्मले अहिले कलाकारलाई ठूलो अवसर दिएको छ । मेरो ‘डिपी’ युट्युब च्यानलमार्फत गीतहरू सार्वजनिक हुँदै आएका छन् । यसले श्रोता-दर्शकसम्म छिटो र सजिलै पुग्न मद्दत गरेको छ । नयाँ पुस्तासँग जोडिन पनि सहज भएको छ ।
तपाईंको विचारमा गीतमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो ?
गीतमा शब्द र संगीत दुवै महत्त्वपूर्ण हुन्छन् । यी दुईको समन्वय नै गीतको आत्मा हो । राम्रो शब्द भए पनि संगीत कमजोर भयो भने गीत प्रभावकारी हुँदैन र राम्रो संगीत भए पनि शब्द कमजोर भए त्यो टिक्दैन । त्यसैले दुवैको धार सशक्त हुनुपर्छ ।
बजारमा गायकको लोकप्रियता गीतकारभन्दा बढी हुने गरेको गुनासो सुनिन्छ । तपाईं के भन्नुहुन्छ ?
हो, अहिले बजारमा गायक बढी चर्चामा आउने प्रवृत्ति छ । तर, गीतकार नभइकन गीत जन्मदैन भन्ने कुरा धेरैले बुझ्न सकेका छैनन् । गीतको आधार नै शब्द हो । गीतकारको योगदानलाई उचित सम्मान दिन जरुरी छ । यसतर्फ सचेतना बढाउन आवश्यक छ ।
नेपाली गीतसंगीत क्षेत्रको व्यवस्थापनबारे तपाईंको धारणा के छ ?
हाम्रो गीतसंगीतको बजार अझै व्यवस्थित हुनसकेको छैन । स्रष्टाको अधिकार, पारिश्रमिक, कपीराइट जस्ता विषयमा स्पष्ट नीति र कार्यान्वयन जरुरी छ । गीतकार संघले स्रष्टाका विषयमा छलफल चलाउने र राज्यसँग जोड्ने काम गरिरहेको छ, जुन सह्रानीय छ । यसलाई अझ सशक्त बनाउनुपर्छ ।
तपाईंको सिर्जनात्मक लक्ष्य के हो ?
म चर्चाको पछि लाग्नेभन्दा कालजयी सिर्जनामा विश्वास गर्छु । समयसँगै बिर्सिने होइन, लामो समयसम्म मानिसको मनमा बस्ने गीत लेख्न चाहन्छु । सिर्जना भनेको केवल मनोरञ्जनमात्र होइन, समाजलाई सन्देश दिने माध्यम पनि हो ।
पुस्तान्तरण र सांस्कृतिक निरन्तरताबारे तपाईं के सोच्नुहुन्छ ?
पुस्तान्तरणलाई व्यवस्थित गर्न जरुरी छ । पुरानो पुस्ताको इतिहास र अनुभवलाई जोगाउँदै नयाँ पुस्तासँग जोड्नुपर्छ । सरकारले पनि सांस्कृतिक निरन्तरता कायम राख्न भूमिका खेल्नुपर्छ । यसले हाम्रो मौलिकता बचाउन मद्दत गर्छ ।
वर्तमान नेतृत्वबाट गीतसंगीत क्षेत्रमा कस्तो अपेक्षा राख्नुहुन्छ ?
अहिले गीतसंगीत बुझ्ने नेतृत्व आएको छ । त्यसैले यो क्षेत्रमा केही सकारात्मक परिवर्तन हुने आशा राखेको छु । स्रष्टाको हकहित, बजार व्यवस्थापन र अन्तर्राष्ट्रियस्तरमा नेपाली संगीतलाई प्रवर्द्धन गर्न सरकारले पहल गरोस् भन्ने चाहना छ ।
गीतसंगीतसँगको तपाईंको सम्बन्ध कस्तो छ ?
गीतसंगीत मेरो जीवनको अभिन्न हिस्सा हो । म यसमै रमाउँछु, यसमै बाँच्छु । खाली समयमा पनि गीतसंगीतकै छलफल गर्छु । मेरो लागि यो केवल पेशा वा रुचिमात्र होइन, जीवनशैली हो ।
अन्त्यमा ?
श्रोता-दर्शकले सधैं माया र साथ दिनुभएकोमा धन्यवाद दिन चाहन्छु । नयाँ पुस्ताका स्रष्टालाई मिहिनेत, धैर्य र निरन्तरताको महत्त्व बुझ्न आग्रह गर्छु । सिर्जनामा मौलिकता कायम राख्नुपर्छ । सस्तो लोकप्रियताको पछि लाग्नुभन्दा दीर्घकालीन प्रभाव पार्ने सिर्जनामा ध्यान दिनु आवश्यक छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि