काठमाडौं । चितवनको सौराहामा पाँचतारे लक्जरी रिसोर्ट ‘रोयल टुलिप चितवन’ सञ्चालक केटिएम हस्पिटालिटी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन(आइपिओ) प्रक्रिया सुरु गरेको छ । कम्पनीले आइपिओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइएको जनाएको छ । धितोपत्र बोर्डको पछिल्लो विवरणअनुसार केटिएम हस्पिटालिटी बोर्डको पाइपलाइनमा १८औँ नम्बरमा सूचीकृत भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित १५ करोड ५० लाख रुपैयाँ बराबरको कुल १५ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको हो । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट बैंकिङ रहेको छ ।
कम्पनीका अनुसार आइपिओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ । चितवनको सौराहामा कुल एक अर्ब ७० करोड पाँच लाख रुपैयाँ लागतमा रिसोर्ट निर्माण भएको हो ।
आइपिओ निष्कासन गरिएसँगै उक्त आयोजनामा ऋण र स्वपुँजी अनुपात ६१.५ः३८.५ रहनेछ । अर्थात् परियोजनामा बैंक ऋणको हिस्सा अझै बढी रहने देखिए पनि कम्पनीले स्वपुँजी अनुपात बढाउँदै लगेको देखिन्छ । कम्पनीले सन् २०२५ को साउनदेखि सफ्ट ओपनिङ र असोज मध्यदेखि पूर्णरूपमा रिसोर्ट सञ्चालनमा ल्याएको हो । केटिएम हस्पिटालिटी सुरुमा प्रालिका रूपमा स्थापना भएको थियो तर २०८१ असार २५ गते पब्लिक कम्पनीमा रूपान्तरण गरिएको हो ।
कम्पनीले आफ्नो परियोजनाको पुँजीगत संरचनालाई थप मजबुत बनाउन, बैंकको ऋण भार कम गर्न र सर्वसाधारणलाई समेत लगानीमा सहभागी गराउन आइपिओ जारी गर्न लागेको जनाएको छ । होटल उद्योगमा ‘जेस्टेसन पिरियड’(लगानी फिर्ता हुन लाग्ने समय)लामो हुने भएकाले दीर्घकालीन पुँजी जुटाउन आइपिओ एक महत्त्वपूर्ण माध्यम बन्ने बताइएको छ । कम्पनीको नेतृत्व अनुभवी व्यवसायी रामेश्वर शाहले गर्दै आउनुभएको छ ।
उहाँ केटिएम ग्रुप होल्डिङ्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । शाह गैरआवासीय नेपाली संघ (एनआरएन) का पूर्वउपाध्यक्ष र आउट सोर्सिङ एसोसिएसन अफ नेपालका अध्यक्षसमेत हुनुहुन्छ । रिसोर्ट सञ्चालनका लागि कम्पनीले फ्रान्सेली होटल चेन ‘लुभ्र होटल्स् ग्रुप’अन्तर्गतको ‘रोयल ट्युलिप’ ब्राण्डसँग व्यवस्थापकीय सम्झौता गरेको छ । कम्पनीका अनुसार चितवनको राप्तीनदी र कुमरोज सामुदायिक वनको आडमा ४.१२ एकड क्षेत्रफलमा फैलिएको रिसोर्टमा ६५ आधुनिक कोठाहरू रहेका छन् भने रिसोर्टमा रेस्टुरेन्ट, जिम, हेल्थ क्लब, स्विमिङ पुल र हेलिप्याड जस्ता सुविधाहरू रहेका छन् ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि