काठमाडौं । पर्यटन प्रवर्द्धनका लागि भारतमा रहेको होटल संघ नेपाल (हान) प्रतिनिधिमण्डलले भारतीय पक्षसँग २५ भन्दा बढी सेवा सम्झौता गरेको छ । हानका अध्यक्ष विनायक शाहको अध्यक्षताको ६५ सदस्यीय नेपाली पर्यटन प्रतिनिधिमण्डलले नयाँदिल्लीमा वैशाख १५ र १६ गते भारतीय पर्यटकलाई गर्मीयाममा नेपाल भ्रमणको विशेष आकर्षक योजना प्रस्तुत गर्न नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रमसहित ‘बी टु बी’ बैठक आयोजना गरेको थियो । हानका अनुसार भारतीय पक्षबाट खासगरी नेपालमा विवाह उत्सव, आरोग्य पर्यटन, सभा सम्मेलन, पारिवारिक बिदा मनाउने यात्रा, पदयात्रालगायत प्रकृति-संस्कृति-साहसिक पर्यटनका विविध विधामा रुचि देखाइएको छ ।
नेपाल पर्यटन बोर्डको सह-आयोजनामा नेपाली दूतावास नयाँदिल्लीको सहयोगमा आयोजित उक्त कार्यक्रममा एक सयभन्दा बढी भारतीय पर्यटन व्यवसायीले ५० भन्दा बढी नेपाली तारे होटल तथा रिसोर्टका प्रतिनिधिहरूसँग व्यावसायिक भेटघाट गरेका थिए । गर्मीको छुट्टीमा बिदा मनाउने योजना प्याकेज तयार गर्दा हालको स्थितिमा मध्यपूर्वको तनाव, बढ्दो हवाई भाडाको परिप्रेक्ष्यमा छिमेकी नेपालको शीतल मौसम र बढ्दो स्तरीय पर्यटकीय आकर्षण र सुविधाप्रति भारतीय पर्यटकको रुचि बढेको कार्यक्रममा सहभागी होटल एसोसिएसन अफ इण्डिया, फेडेरेसन अफ होटल एण्ड रेस्टुरेन्ट एसोसिएसन अफ इण्डिया, टुर्स एण्ड ट्राभल एसोसिएसन अफ इण्डिया, इण्डियन वेडिङ इण्डष्ट्री एसोसिएसनका प्रतिनिधिहरूले बताएका छन् ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि