काठमाडौं । नेपाल राष्ट्र बैंकका सहायक निर्देशक कमल पौडेलले सम्पत्ति शुद्धीकरणको उद्देश्यले शंकास्पद रूपमा घरघडेरी किनबेच भइरहेको भए त्यसको जानकारी राष्ट्र बैंकलाई गराउन व्यवसायीलाई आग्रह गर्नुभएको छ । राजधानीमा आयोजित कार्यक्रममा बोल्दै निर्देशक पौडेलले अवैध रूपमा कमाएको धन वैध बनाउन (शुद्धीकरण गर्न) केही व्यक्तिहरूले घरजग्गामा लगानी गर्ने गरेको भन्दै त्यस्ता गतिविधिमा राष्ट्र बैंकले कडा निगरानी गरिरहेको जानकारी दिनुभएको हो ।
उहाँका अनुसार सम्पत्ति शुद्धीकरणमा ग्रे लिस्टमा पर्नुको एक कारण केही क्षेत्रमा भएका अनियमितता हुन्, जसमा घरजग्गा व्यवसाय पनि पर्छ । जसको अर्थ व्यवसायीहरूले नै गल्ती गरिरहेका छन् भन्ने होइन तर कुनै पनि व्यवसाय नियमन हुनुपर्छ । सम्पत्ति शुद्धीकरण भनेको दोस्रो चरणको अपराध हो । कसैले पहिलो चरणमा अपराध गरेर त्यसलाई वैध देखाउने प्रयास गर्छ भने त्यो दोस्रो चरणको अपराध हो ।
व्यवसायीहरू प्रत्यक्ष रूपमा यसमा संलग्न नभए पनि अपराध गर्ने व्यक्तिहरूले अरूको व्यवसाय प्रयोग गर्न सक्छन् । त्यसैले त्यस्तो जोखिमबाट जोगिनु आवश्यक छ । सम्पत्ति शुद्धीकरणका सवालमा नेपाल दोस्रोपटक ‘ग्रे लिस्ट’ मा परेको उल्लेख गर्दै पौडेलले त्यसबाट बाहिर निस्कन घरजग्गा कारोबारको नियमनमा कडाइ गरिएको स्पष्ट पार्नुभयो ।
उहाँले घरजग्गाजस्ता व्यावसायिक कारोबार मर्यादित बनाउन सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी प्रावधानको पालना अनिवार्य रहेको पनि बताउनुभयो । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले सरकारले लागू गरेको तीन करोडसम्मको आवासीय कर्जा सुविधा व्यावहारिक नभएको बताउनुभयो । नेपालमा उच्च तहका सरकारी कर्मचारीको समेत तलब सीमित भएकाले त्यस्तो ठूलो रकमको ऋण उपयोग गर्न कठिन रहेको उहाँको भनाइ थियो ।
विशिष्ट श्रेणीका सचिवको मासिक तलब करिब ७५ हजार रुपैयाँमात्र हुने र सबै खर्च कटाएर उनीहरूले मासिक ४५ देखि ५० हजार रुपैयाँभन्दा बढी किस्ता तिर्न नसक्ने भन्दै बैंकबाट अधिकतम ४० देखि ५० लाख रुपैयाँसम्म मात्रै ऋण पाइने भएकाले तीन करोडको सीमाको कुनै औचित्य नरहेको घिमिरेले बताउनुभयो । नेपाल स्टेट एजेन्ट्स तथा एजेन्सिज महासंघका अध्यक्ष विनोद सुवेदीले नेपालमा घरजग्गा एजेन्ट र एजेन्सीका लागि इतिहासमै पहिलोपटक मालपोत ऐन २०३४ संशोधन गरेर लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएकोमा खुसी व्यक्त गर्नुभयो । तथापि लाइसेन्सको मापदण्डबारे स्पष्ट जानकारी नहुँदा व्यवसायीहरूमा केही अन्योलता सिर्जना भएको उहाँको गुनासो थियो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि