काठमाडौं । लोकप्रिय एवं वरिष्ठ गायिका मिरा राणाले आफ्नो व्यक्तिगत क्यान्सर संघर्षलाई सामाजिक अभियानमा रूपान्तरण गर्दै ‘मिरा क्यान्सर समाज’ स्थापना गर्नुभएको छ । ‘सेवा, सहयोग र सद्भाव’को उद्देश्यसहित ‘क्यान्सरविरुद्धको लडाइँमा हामी सबै एकसाथ’ भन्ने नाराका साथ संस्थाको औपचारिक सुरुवात गरिएको हो ।
६ दशक लामो गायन यात्राकी राणाले आफू गम्भीर बिरामी हुँदा बेलायतमा पाएको उपचार सेवा र चिकित्सकहरूको सकारात्मक व्यवहारबाट प्रेरित भएर अभियान थालेको बताउनुभयो । उद्घाटन कार्यक्रममा बोल्दै उहाँले चिकित्सकको व्यवहारले बिरामीको मनोबलमा ठूलो प्रभाव पार्ने उल्लेख गर्नुभयो । ‘बेलायतमा डाक्टरहरूले ‘म छु नि’ भन्दै दिएको हौसलाले मेरो आधा रोग निको भएको महसुस भयो,’ उहाँले भन्नुभयो, ‘नेपालका अस्पतालहरूमा बिरामीले भोग्नुपर्ने सास्ती देख्दा पीडा हुन्छ ।’
कार्यक्रममा डा.रोशन प्रजापति, डा.अरुण शाही, डा.पूर्णिमा राजकर्णीकार तथा डा.सृष्टि श्रेष्ठ प्रजापतिलगायतले मन्तव्य राख्दै राणाको पहलको प्रशंसा गर्नुभएको थियो । उहाँहरूले क्यान्सर निको हुनसक्ने रोग भएको र उपचारसँगै बिरामीलाई मानसिक रूपमा बलियो बनाउनु आवश्यक रहेकोमा जोड दिनुभयो ।
समाजका सल्लाहकार मदनदास श्रेष्ठ, आनन्द अधिकारी, धन लामा, विद्र गिरी तथा लक्ष्मण महर्जनले संस्थाको दिगोपन र कानुनी पक्षबारे सुझाव दिँदै अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
मिरा राणाको अध्यक्षतामा गठित समाजको उपाध्यक्षमा सिद्धार्थ राणा, सचिवमा हेमा मानन्धर, कोषाध्यक्षमा सुरक्षा सिजापती र सहसचिवमा नविना शाक्य रहनुभएको छ । कार्यक्रममा दीपक जंगम र कपिल लोहनीलगायतको उपस्थिति रहेको थियो । संस्थाले क्यान्सर प्रभावितहरूलाई उपचार सहयोग उपलब्ध गराउनुका साथै उनीहरूको मनोबल उच्च बनाउन ‘पुल’को रूपमा काम गर्ने लक्ष्य लिएको जनाएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि