काठमाडौं । नइ एकेडेमीद्वारा आयोजित एक समारोहबीच नाटककार विजय मल्लको शताब्दी महोत्सव समापन गरिएको छ । काठमाडौंमा सम्पन्न कार्यक्रममा मल्लसम्बन्धी दुई महत्त्वपूर्ण कृतिको लोकार्पण गरिएको थियो । समारोहमा डा.साधना पन्त ‘प्रतीक्षा’द्वारा लिखित समालोचनात्मक ग्रन्थ ‘नारीवादी नाटककार विजय मल्ल’ तथा नरेन्द्रराज प्रसाईंद्वारा लिखित जीवनी ‘विजय मल्ल’ सार्वजनिक लोकार्पण गरिएको हो । कृतिहरूको लोकार्पण समालोचक प्राडा.वासुदेव त्रिपाठीलगायतले गर्नुभएको थियो ।
कार्यक्रममा प्रा.केशव सुवेदीले दुवै कृतिमाथि समीक्षात्मक मन्तव्य प्रस्तुत गर्दै मल्लको साहित्यिक योगदान र समकालीन सान्दर्भिकताबारे चर्चा गर्नुभएको थियो । साथै, मल्लको व्यक्तित्व र कृतित्वमाथि विशेष परिचर्चा पनि गरिएको थियो ।
नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईंका अनुसार आइतबारदेखि विजय मल्ल शताब्दी महोत्सव औपचारिक रूपमा समापन भएको हो । महोत्सवअन्तर्गत २०८२ सालमा नेपाल तथा भारतका ४५ जना प्राज्ञ, साहित्यकार, नाट्य तथा चलचित्रकर्मीलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ र पदक प्रदान गरिएको थियो ।
नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईंको सभापतित्वमा सञ्चालित विजय मल्ल शताब्दी महोत्सव विसर्जन समारोहमा महासमालोचक प्राडा.वासुदेव त्रिपाठीले मल्लबारे लामो प्रवचन दिनु भएको थियो । समारोहमा ग्रन्थकार डा.साधना पन्त ‘प्रतीक्षा’ र नरेन्द्रराज प्रसाईंले स्रष्टा विजय मल्लको योगदान र कृतिबारे प्रकाश पार्नु भएको थियो ।
विसं १९८२ सालमा जन्मिनुभएका विजय मल्ल २०५६ सालमा दिवंगत हुनुभएको थियो । उहाँ नेपाली साहित्यमा नाटककार, आख्यानकार तथा कविका रूपमा विशिष्ट स्थान राख्नुहुन्छ ।



बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि