इलाम । इलामको दक्षिण-पश्चिमी क्षेत्रमा अवस्थित चुलाचुली गाउँपालिका-२ स्थित ‘तीनकुने पोखरी’ पछिल्लो समय आन्तरिक पर्यटकको मुख्य रोजाइमा पर्न थालेको छ । प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण यस क्षेत्रमा पर्यटकहरु आउने क्रम बढेको हो ।
कुनै समय ओझेलमा रहेको यो क्षेत्र स्थानीयवासीको सक्रियता र पूर्वाधार विकाससँगै अहिले पर्यटकीय केन्द्रका रूपमा विकसित भएको छ । विशेषगरी शनिबार, आइतबार र सार्वजनिक बिदाका दिन यहाँ घुम्न, तस्बिर खिच्न, भिडियो बनाउन र वनभोज खान आउने पर्यटकहरूको निकै घुइँचो लाग्ने गरेको छ ।
स्थानीय चेतन आङथुपोकाअनुसार भौगोलिक सहजता र शान्त वातावरणका कारण यहाँ पर्यटकको आकर्षण बढेको हो । “पछिल्लो समय पर्यटकको चहलपहलले यस क्षेत्रको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पारेको छ,” उहाँले बताउनुभयो ।
मोरङ्गे झोडा सामुदायिक वनभित्र करिब ६ बिगाहा क्षेत्रफलमा फैलिएको यो सिमसार क्षेत्र पर्यावरण र पर्यटकीय दृष्टिकोणबाट अत्यन्तै महत्वपूर्ण मानिन्छ । समुद्री सतहबाट करिब एक सय ८५ मिटर उचाइमा रहेको यो पोखरीको ऐतिहासिक पृष्ठभूमि पनि रोचक छ । वि.सं. २०५२ सालमा स्थानीय अगुवाहरूले एउटा गहिरो खोल्सीलाई बाँध कसेर पानी सञ्चित गर्न थालेका थिए भने वि.सं. २०७२ सालदेखि यसलाई व्यवस्थित गरी औपचारिक रूपमा पोखरीको स्वरूप दिइएको हो
झापा र इलामको सिमाना नजिकै रहेकाले यहाँ पुग्न निकै सहज छ । पूर्व-पश्चिम राजमार्गको झापा, केर्खा बजार वा पाडाजुङ्गी बाट उत्तरतर्फ करिब साढे ५ किलोमिटरको दूरीमा यो पोखरी अवस्थित छ । पर्यटकहरू मोटरसाइकल, सफारी, अटो तथा साना र ठूला सवारी साधनमार्फत सजिलै यहाँ पुग्न सक्छन् ।
चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले तीनकुने पोखरीको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा गाउँपालिकाले विशेष प्राथमिकता दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो तीनकुने पोखरीलाई राष्ट्रिय स्तरमा चिनाउन हामी यहाँको पूर्वाधार विकास र सिमसार संरक्षणमा निरन्तर लागिरहेका छौँ ।”
जैविक विविधताको संरक्षण गर्दै पर्यटकीय पूर्वाधार निर्माण गरिएपछि तीनकुने पोखरी अहिले इलामको दक्षिणी भेगकै एक उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि