काठमाडाैं । वागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले भाषा संरक्षण र प्रवर्द्धनका लागि सरकारले गरेको लगानीको प्रभावकारिता देखिन आवश्यक रहेको बताउनुभएको छ ।
भाषा दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले प्रदेश सरकारले प्रदेशभित्र बोलिने भाषाको विकासका लागि करोडौं रुपैयाँ खर्च गरिरहेको बताउनुभएको हो । तर लगानीको उचित प्रतिफल भने नदेखिएको उहाँको भनाई छ । उहाँले प्रदेश सरकारले भाषा र संस्कृतिको संरक्षणका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको बताउनु भयो ।
भाषा प्रवर्द्धनका कार्यक्रम औपचारिकतामा मात्र सिमित हुन नहुने बताउँदै उहाँले वास्तविक उपलब्धि हासिल गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो । राज्यले लगानी गरिरहने, तर नयाँ पुस्ताले आफ्नै भाषा नजान्ने हो भने त्यो लगानी बालुवामा पानी हाल्नुजस्तै हुने उहाँको भनाई छ । उहाँले घर-घर, टोल-टोल र विद्यालयस्तरमै भाषा शिक्षामा जोड दिनुपर्ने आवश्यकता औँल्याउनु भयो । आफ्नै सन्तानलाई मातृभाषा सिकाउन नसकेको अनुभव सुनाउँदै उहाँले व्यवहारिक अभ्यासमा पनि जोड दिनुपर्ने बताउनु भयो ।
उहाँले मन्त्रालयले गरेको लगानीको आधारमा कति व्यक्तिले भाषा र लिपि सिके भन्ने तथ्यांक संकलन र मूल्यांकन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले वागमती प्रदेशमा नेवा र तामाङ भाषालाई सरकारी भाषाका रूपमा स्थापित गरिएको उल्लेख गर्दै भाषा सम्बन्धी ऐनको नियमावली टुंग्याउने काममा भने केही ढिला भएको बताउनु भयो । उहाँले भाषा दिवसको अवसरमा वैशाख २४ गते नियमावली ल्याउने तयारीमा रहेपनि निरन्तर परेको विदाका कारण नसकिएको जानकारी दिनुभयो ।
यद्यपि छिट्टै नै नियमावली ल्याउने उहाँले प्रतिवद्धता जनाउनु भयो । मन्त्री श्रेष्ठले वागमती प्रदेशमा आफ्नै प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने विषयमा पनि काम भइरहेको जानकारी दिनुभयो । प्रदेश सरकारले भाषा प्रवद्र्धनका लागि संस्थाहरूसँग सहकार्य गर्न पूर्णरूपमा तयार रहेको उल्लेख गर्दै उहाँले आगामी आर्थिक वर्ष २०८३/८४ मा थप बजेट व्यवस्था गर्न समेत छलफल गरिने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘भाषाको लागि बागमती प्रदेश सरकारले करोडौं रुपैयाँ लगानी गरेको छ । त्यसको उपलब्धि कति भयो, कति ग¥यौ ? यो भाषाको लागि नेवा देय दबुः र तामाङ घेदुङले आफ्नो प्रदेशमा कामकाजीको भाषा बनाउन र यसलाई सरकारी भाषामा स्थापना गर्नको लागि धेरै संघर्षहरु गरेको छ । बागमती प्रदेश सरकारले भाषा प्रवद्र्धन र संस्कृति जोगाउनको लागि आफ्नो मन्त्रालयको बलबुताले भ्याएसम्म लागिरहेका छौं । ऐनका विषयमा पनि हामीले २४ गते नै यो नियमावली टुंग्याउने भनेर लागिरहेका थियौं । यो ३ दिन लगतार विदाको कारणले गर्दा खेरि अलिकति ढिला भयो । अब त्यसको लागि तपाईँले धेरै चिन्ता गर्नुपर्ने कुरा छैन, यसको विषयमा हामी नै पनि चिन्ता गरेर लागिरहेका छौं । प्रज्ञा प्रतिष्ठान बनाउने विषयमा पनि निरन्तर लागिरहेका छौं । हामीले यो प्रज्ञा प्रतिष्ठानको विषयमा हाम्रै बागमती प्रदेश सरकारका मन्त्रालयहरुलाई पनि बुझाउन सकिरहेका छैनौ । यो प्रतिष्ठान प्रदेशको लागि बोझ पो हुने हो कि, यो प्रतिष्ठान प्रदेशले थेग्न पो नसक्ने हो कि भन्ने किसिमको चर्चा परिचर्चा पनि चलिरहेको छ । त्यसको लागि हामी निरन्तर रुपमा लागिरहेका छौं । यहाँ भाषा प्रवर्द्धनका कुरा आए, हामीले यसलाई औपचारिकतामा मात्र सिमित राखिरहेका छौं कि साँच्चिकै यसबाट उपलब्धि पनि हासिल गरेका छौं ? अब यो नेवा देय दबुः र तामाङ घेदुङसँग मेरो के अनुरोध छ भने हामीले कति प्रतिशत उपलब्धि गर्यौं त ? राज्यले करोडौं लगानी गरिरहने, नेवारले नेवारी भाषा बोल्न नजान्ने, नेवारी लिपि ‘क’ को ठाउँमा ‘ख’ पनि नजान्ने, तामाङले तामाङको केहि पनि नजान्ने हो भने राज्यको पैसा पनि बालुवामा पानी हालेको सरह हुनेछ । त्यसकारणले राज्य तपाईँहरुसँग सहकार्य गरेर जान पूर्ण रुपमा तयार छ, बागमती सरकार । तर यसको उपलब्धि के हो त ? अब म पनि नेवारकै छोरा हुँ । तर मेरो छोराछोरीलाई मैले नेवारी सिकाउन सकिरहेको छैन । अनि म नै आन्दोलनमा लाग्ने तर मेरै छोराले नेवारी भाषा नबोल्ने मेरै छोरीले नेवारी भाषा नबोल्ने हो भने यसको उपलब्धि शुन्य हो कि जस्तो लाग्छ । त्यसको लागि घर घर, टोल टोल, स्कुल कहाँ गएर यो भाषा प्रद्धवनको लागि हामी नै लाग्नुपर्छ । त्यसको लागि के के गर्नुपर्छ, गरौं । हामी भाषा प्रवर्द्धन गरौं, तामाङ भाषा वा नेवारी भाषा जोगाउनलाई हाम्रै घरमा जोगाउन सकेनौं भने यसको धेरै ठूलो अर्थ रहन्न । नेवारले घरमा नेवारी भाषा बोलौं । यहाँ भाषा दिवसको कार्यक्रममा हाम्रो न तामाङ भाषामा लिपि छ, न नेवारी भाषामा लिपि छ । अनि हामी भाषाको कुरा गर्दै हिँडिरहेका छौं, भाषा प्रवद्धनको कुरा गर्दै हिँडिरहेका छौं । यो त हाम्रै कमजोरी होला नि । मन्त्रालयले करोडौं लगानी गर्दा खेरि कमसेकम १ वर्षमा कति जना नेवारले नेवारी लिपि लेख्न सिके, कति तामाङले तामाङ लिपि लेख्न सिके भन्ने तथ्य र तथ्याङ्क पनि मन्त्रालयमा पेश हुनुपर्छ । नभएदेखि यो बालुवामा पानी खन्याउने काम गर्न हुन्न ।’
वागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले प्रदेश सरकारले स्थानिय भाषाको प्रर्वद्धनमा मन्त्रालयले काम गर्दे आएको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा थप बजेट विनियोजन गर्ने पनि जानकारी दिनुभयो । उहाँले भाषा दिवसको अवसरमा वैशाख २४ गते भक्तपुसरमा विशेष कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र