काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको रोमाञ्चक प्रतिस्पर्धामा नेपालले ओमानलाई ८१ रनले पराजित गर्दै अघिल्लो हारको बदला लिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको २५७ रनको लक्ष्य पछ्याउने क्रममा ओमान ३९.५ ओभरमा १७५ रनमै समेटियो ।
नेपालको जितमा अलराउण्ड प्रदर्शन निर्णायक बन्यो । विशेषगरी गुल्सन झाले घातक बलिङ गर्दै नौ ओभरमा पाँच विकेट लिँदा ओमानको ब्याटिङ धराशायी बनाउनुभयो । सन्दीप लामिछाने, करण केसी, नन्दन यादव र दीपेन्द्र सिंह ऐरीले एक-एक विकेट लिनुभयो ।
ओमानका लागि विनायक शुक्लाले सर्वाधिक ३६ रन बनाउनुभयो भने हमद मिर्जाले ३४ रन जोड्नुभयो । ओपनर हसनैन उल वाहाबले २९ रन जोड्दा अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २५६ रन बनाएको थियो । नेपालको सुरुवात कमजोर रह्यो, जब विनोद भण्डारी शून्यमै आउट हुनुभयो । त्यसपछि आसिफ शेख र अर्जुन कुमालले शतकीय साझेदारी गर्दै इनिङ्सलाई मजबुत बनाउनुभएको थियो ।
आसिफ शेख शतकबाट मात्र ६ रनले चुक्नुभयो । उहाँले ९७ बलमा ९४ रन बनाउँदै टोलीलाई बलियो स्थितिमा पुर्याउनुभयो । अर्जुन कुमालले ४८ रन र दीपेन्द्र सिंह ऐरीले ३३ रन जोड्नुभयो । यस्तै, आरिफ शेखले २४ बलमा ४३ रन बनाउनुभयो भने अन्य खेलाडीमध्ये गुल्सन झाले १७ रन बनाउँदा कप्तान रोहित पौडेल नौ रनमा सीमित हुनुभयो ।
ओमानका लागि नदीम खानले तीन विकेट लिनुभयो भने हसन साह र सकिल अहमदले दुई-दुई विकेट लिनुभयो ।
जारी शृंखलामा नेपालले पहिलो खेलमा युएईलाई ३७ रनले हराएको थियो । दोस्रो खेलमा ओमानसँग डिएलएस विधिमा १०२ रनले पराजित भएको नेपालले तेस्रो खेलमा पुनः युएईलाई ६ रनले हराएको थियो । यस जितसँगै नेपालले शृंखलामा बलियो उपस्थिति जनाउँदै आत्मविश्वास पुनः स्थापित गरेको छ ।
अब नेपालले अमेरिका र स्कटल्याण्ड सम्मिलिति लिग टुको अर्को शृंखला यही वैशाख २९ गतेदेखि घरेलु मैदानमै खेल्नेछ ।
दोस्रोपटक गुल्सनको पाँच विकेट
नेपालले दिएको मध्यम लक्ष्य पछ्याएको ओमानका लागि मंगलबार नेपालका गुल्सन झा घातक साबित हुनुभयो । उहाँले ५ विकेट लिएपछि ओमानले ४० ओभर पनि पूरा ब्याटिङ गर्न सकेन । ओमानलाई अलआउट गर्न नेपालका लागि गुल्सन झाले नौ ओभरमा ३८ रन खर्चेर पाँच विकेट लिनुभयो । ओमानविरुद्ध गुल्सनले आफ्नो ओडिआई करियरकै उत्कृष्ट बलिङ फिगर राख्दै दोस्रो टक पाँच विकेट लिनुभएको हो । यसअघि उहाँले सन् २०२४ सेप्टेम्बरमा क्यानडाको ओन्टारियोमा भएको लिग टुअन्तर्गत ओमानविरुद्ध नै १० ओभरमा दुई मेडन राख्दै ४७ रन खर्चेर पाँच विकेट लिनुभएको थियो ।
आसिफको १४औँ ओडिआई अर्धशतक
आसिफ शेखले आइसिसी क्रिकेट विश्वकप लिग टु सिरिजअन्तर्गत ओमानसँग भइरहेको खेलमा अर्धशतक प्रहार गर्नुभएको छ । ओडिआईमा आसिफको यो १४औँ अर्धशतक हो । विनोद भण्डारीसँगै ओपनिङ गर्नुभएका आसिफले ६६ बल खेल्दै पाँच चौका र एक छक्का प्रहार गर्दै अर्धशतक पूरा गर्नुभएको हो । आसिफ ओडिआईमा नेपालका लागि सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा हुनुहुन्छ । कप्तान रोहित पौडेलले ओडिआईमा नेपालका लागि सर्वाधिक रन बनाउनुभएको छ । यो शृंखलामा आसिफले एक शतकसमेत प्रहार गर्नुभएको छ । यसअघि युएईविरुद्धको खेलमा पहिलो बेन्चमा बस्नुभएका आसिफले मंगलबार ओमानविरुद्ध पहिलो रोजाइमा फर्कंदै अर्धशतक बनाउनुभएको हो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि