काठमाडौं । उच्च अदालत पाटनले चलचित्र ‘लालीबजार’ सम्बन्धी मुद्दामा चलचित्र जाँच (सेन्सर) प्रक्रियासँग सम्बन्धित कागजात झिकाउन आदेश दिएको छ । मंगलबार न्यायाधीशद्वय गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासमा भएको सुनुवाइपछि यस्तो आदेश जारी गरिएको हो । अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार प्रदर्शन अनुमति प्रदान गर्ने केन्द्रीय चलचित्र जाँच समितिको सक्कल फाइल अदालतमा पेश गर्न निर्देशन दिइएको हो । यसअघि जारी गरिएको अन्तरिम आदेशलाई निरन्तरता दिँदै अदालतले चलचित्रको प्रदर्शन रोक्ने निर्णयलाई बुधबारसम्म कायम राखेको छ ।
‘२२ गतेसम्म प्रदर्शन रोक्न यसअघि दिइएको अन्तरिम आदेशलाई बुधबारसम्म निरन्तरता दिइएको छ । यस विषयमा भोलि (बुधबार) पुनः पेसी तोकिएको छ’, सूचना अधिकारी कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार सम्बन्धित फाइल अदालतमा प्राप्त भएपछि पुनः विस्तृत रूपमा हेर्ने तयारी गरिएको छ ।
यसअघि अदालतले १५ वैशाखमा नै ‘लालीबजार’को प्रदर्शन तत्कालका लागि रोक्न आदेश दिएको थियो । सो आदेशपछि १८ वैशाखदेखि प्रदर्शनको तयारीमा रहेको निर्देशक यम थापाको उक्त चलचित्र हलमा रिलिज हुन सकेको थिएन ।
चलचित्रका केही दृश्य र संवादप्रति आपत्ति जनाउँदै रोशनी नेपालीले अदालतमा रिट दायर गर्नुएको थियो । रिटमा उल्लेखित विषयवस्तु संवेदनशील भएको दाबी गर्दै उहाँले प्रदर्शन रोक्न माग गर्नुभएको थियो ।
त्यसअघि उहाँले सेन्सर बोर्डमा चलचित्र हेर्नुभएको थियो । उहाँले पत्रकार सम्मेलनसमेत गर्दै बादी समुदायको पीडा र घाउलाई निचोरेर चलचित्र बनाइएको आरोप लगाउनुभएको थियो । उहाँले चलचित्रले बादी समुदायको नैतिकताको हत्या गर्ने दाबीसमेत गर्नुभएको थियो ।
उच्च अदालतले चलचित्रको प्रदर्शन रोक्न आदेश दिएपछि चलचित्रकर्मीहरूले गत बुधबार अभिव्यक्ति स्वतन्त्रताको पक्षमा मौन प्रदर्शन गरेका थिए । काठमाडौंको माइतीघर मण्डलामा अशोक शर्मा, स्वस्तिमा खड्का, निश्चल बस्नेत, प्रदीप भट्टराई, खगेन्द्र लामिछानेलगायतले कालो पट्टी बाँधेर अदालतको निर्णयको विरोध गर्नुभएको थियो ।
अब केन्द्रीय चलचित्र जाँच समितिको फाइल अदालतमा पेश भएपछि मुद्दाको थप सुनुवाइ र निर्णय प्रक्रिया अघि बढ्नेछ । आज (बुधबार) हुने छलफलले चलचित्रको प्रदर्शनसम्बन्धी अन्तिम निर्णयतर्फ मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि