सर्लाही । सर्लाही जिल्लाका बरहथवा र बागमती नगरपालिकालाई समेटेर सञ्चालन गरिएको मकै सुपर जोन क्षेत्र यतिबेला बेमौसमी वर्षाको मारमा परेको छ । करिब नौ हजार दुई सय ४८ हेक्टरमा फैलिएको यस क्षेत्रमा किसानले लगाएको मकै पाक्ने बेलामै पानी परेपछि ठूलो क्षति बेहोर्नुपरेको हो । खेतमा पहेँलिँदै गएको मकैबाली अहिले भिजेर झुकेका छन्, कतै कुहिन थालेका छन् भने कतै दाना नै बिग्रिएको छ ।
सुपर जोन कार्यक्रमका प्रमुख डा. सुरेन्द्र यादवका अनुसार यस वर्षको वर्षाले करिब ३० प्रतिशत हाराहारीमा उत्पादन घट्ने अनुमान गरिएको छ । उहाँले भन्नुभयो, ‘मकै पाक्ने समयमै लगातार वर्षा हुँदा उत्पादन र गुणस्तर दुवैमा असर परेको छ । यो अवस्थाले किसानको आम्दानीमा सिधा प्रभाव पार्नेछ ।’ दुई बिगाहामा मकैखेती गर्दै आउनुभएका किसान इस्तिक सेकले आफ्नो खेतमा भिजेको मकै देखाउँदै भन्नुभयो, ‘धेरै मिहिनेत गरेर लगाएको मकै भित्र्याउने बेला भएको थियो तर पानीले सबै बिगारिदियो ।’ उहाँका अनुसार मकैको दाना राम्ररी सुक्न नपाउँदा कुहिने समस्या बढेको छ भने तौलमा समेत कमी आउने र बिक्री गर्दा पनि मूल्य घट्ने डर छ ।
सर्लाहीमा मकैलाई नगदे बालीका रूपमा लिने चलन बढ्दो छ । धानपछि मकै लगाएर आम्दानी बढाउने आशामा किसानहरू छन् तर यस वर्ष खेतीको सुरुवातदेखि नै मौसमले साथ दिएन । किसान रोजा दिन मन्सुरका अनुसार रोपाइँकै समयमा परेको वर्षाले ढिलाइ गरायो, जसका कारण सबैले लगभग एउटै समयमा मकै रोपे । उहाँले भन्नुभयो, ‘अहिले सबैको मकै एकैपटक पाक्यो तर काट्ने बेला फेरि पानी आयो, यसले झन् समस्या थप्यो ।’
अर्का किसान श्यामभक्त मैनालीका अनुसार अब लगानी कसरी उठाउने भन्ने चिन्ता छ । भिजेको मकै भण्डारण गर्न पनि कठिन हुने भएकाले थप नोक्सानीको जोखिम बढेको छ । उता बजार पनि किसानका लागि सहज छैन । भिजेको मकैलार्ई व्यापारीहरूले कम मूल्य दिने गरेको किसानको गुनासो छ । शुभद्र मैनालीले भन्नुभयो, ‘सुक्खा मकैको जस्तो मूल्य पाइँदैन । व्यापारीले गुणस्तर घटेको भन्दै भाउ घटाउँछन् । जसले गर्दा किसानको लागतसमेत उठाउन कठिन भइरहेको छ ।’ यस वर्ष धान काटिसकेपछि परेको वर्षाका कारण धेरै किसानले एकैपटक मकै रोपेका थिए । फलस्वरूप अहिले एकै समयमा उत्पादन तयार भयो । सामान्य अवस्थामा यो अवसर हुन सक्थ्यो तर लगातारको वर्षाले त्यसलाई संकटमा बदलिदिएको छ । खेतमा थन्किएको मकै सुकाउन घाम नलाग्दा समस्या झन् बढेको छ । नेपाललाई कृषि प्रधान मुलुक भनिए पनि किसानले अझै आधारभूत सुविधा अभावमै खेती गर्नुपरेको छ । समयमा मलखाद नपाउनु, गुणस्तरीय बीउको कमी र पर्याप्त सिँचाइ नहुनु जस्ता समस्या पुरानै हुन् ।
कृषि विज्ञहरूका अनुसार यस्तो जोखिम न्यूनीकरणका लागि कृषि बीमा कार्यक्रम प्रभावकारी रूपमा लागू गर्न आवश्यक छ । तर, धेरै किसान अझै बीमाको पहुँचमा छैनन् । बीमा भए पनि दाबी प्रक्रिया जटिल र ढिलो हुने गुनासो सुनिन्छ । सर्लाहीका किसानको अनुभवले देखाउँछ कि प्रकृतिमा निर्भर कृषि अझै जोखिमपूर्ण छ । वर्षौंदेखि पसिना बगाएर उत्पादन गर्ने किसानका लागि एकैपटकको वर्षाले सबै मिहिनेत खेर जान सक्छ, त्यसैले अब कृषिमा प्रविधि, पूर्वतयारी र सुरक्षा संयन्त्र सुदृढ गर्नु अपरिहार्य देखिन्छ । अहिले भने सर्लाहीका किसानहरू आकाशतिर हेर्दै घाम लाग्ने आशामा छन्, ताकि भिजेको मकै सुकाउन सकियोस् र केही भए पनि आफ्नो लगानी जोगाउन सकियोस् ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…