यो शीर्षक हाम्रो होइन । भारतीय सञ्चारमाध्यमहरूले भारतीय राज्य केरलमको निर्वाचन परिणामलगत्तै गरेको टिप्पणी हो । केही दिनअघि सम्पन्न चार राज्य विधान सभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टीले सफलता हासिल गरेको विषयलाई अद्भूत, आश्चर्यजनक भन्ने टिप्पणीकासाथ प्रतिक्रियाहरू देखिएका छन् । यद्यपि केरलममा कांग्रेस आई गठबन्धनको नेतृत्वले कम्युनिष्ट सत्तालाई विस्थापन गरिदिएको छ । तर पश्चिम बंगालमा पहिलो पच्चीस वर्ष भारतीय कांग्रेसको दोस्रो पैतीस वर्ष कम्युनिष्ट पार्टीको, तेस्रो पन्ध्र वर्ष तृणमूल कांग्रेसको वर्चस्वलाई धुलो चटाउँदै भारतीय जनता पार्टीले अकल्पनीय सफलता प्राप्त गरेको विषय जनमतको विशेष उदाहरण मानिएको देखिन्छ ।
पश्चिम बंगालको निर्वाचन परिणामले दुई सय ९३ स्थानको विधान सभामा भारतीय जनता पार्टीको दुई सय बढी स्थान पुग्यो भने ०२१ को निर्वाचनमा दुई सय बढी स्थान प्राप्त गरेको ममता बनर्जीको दल तृणमूलले अहिले असीको हारहारीमा खुम्चिनु परेको देखिएको छ । तमिलनाडुमा प्रख्यात सिने कलाकार विजयको पार्टीले सानदार परिणाम ल्याए पनि त्यहाँ गठबन्धनकै सरकार बन्ने निश्चित देखिन्छ । पश्चिम वंगाल भारतीय कम्युनिष्ट विचारको सूर्योदय क्षेत्र मानिन्छ । खासगरी सत्तरीको दशकमा नक्सलवाडीबाट आरम्भ चारु मजुम्दार र कानु सान्यालको सशस्त्र विद्रोहले स्थापित गरेको कम्युनिष्ट आन्दोलन क्रमशः स्खलित हुँदै पश्चिम बंगालमा एक स्थानमा ओर्लेको छ ।
ज्योति वसु र बुद्धदेव जस्ता शालीन साम्यवादीहरूको शासन निष्कण्टक थियो । तर ममताको आक्रामक अभियानले खण्डहरमा परिणत गरेको थियो । यसरी आरम्भ ममताको शासनले सनातनी हिन्दु विचार र चिन्तनविरुद्ध अन्य धर्मका पक्षमा गरेको पक्षपात, असुरक्षा, आमनागरिकप्रतिको उपेक्षा, वर्मा र बंगलादेशबाट प्रविष्ट अवैध आप्रवासीहरूलाई अनावश्यक संरक्षण, स्थापित उद्योग धन्दाहरूको विस्थापन, बेरोजगारी आदि अनेक कारण जनआक्रोश बढेको देखिन्छ । यिनै मुद्दाहरूलाई जनताको मनमा पुग्नेगरी भारतीय जनता पार्टीले उठाउने काम गरेको थियो ।
सन् ०१६ को चुनावमा ३ स्थान र ०२१ मा ७७ स्थान पाएको भारतीय जनता पार्टीको नेतृत्वले संगठन, विचार, सक्रियता आचरण र व्यवहार सबै पक्षमा उदाहरण प्रस्तुत गरेको हुनाले ममताको पराजय भएको विश्लेषण गरिँदैछ । सत्तामा पुग्नेहरूको उद्दण्ड व्यवहार केही दिन र छिनका लागि रामरमिता होला तर केही समयको अन्तरालमा नै त्यो पानीको फोको जस्तो भएर बिलाउँछ भन्ने विचारणीय उदाहरण ममताराज्य र पश्चिम बंगालको निर्वाचन परिणाम देखिन्छ । भारतीय जनता पार्टीले सन् २०१४ देखि केन्द्रीय सत्तामा आफ्नो वर्चस्व स्थापना गरेपछि अहिले पश्चिम बंगाल, असाम, पण्डुचेरी, महाराष्ट्र, दिल्ली, गुजरात, कर्नाटक, मध्यप्रदेश, उत्तराखण्ड, हरियाणासहित अनेक राज्यहरूमा राज्य सरकार चलाइरहेको छ । आफ्नो संस्कृति र धर्मको पालनामा दृढ सिद्धान्तको अनुशीलन भएमा र आचरण स्पष्ट भएमा शासन सहज हुनसक्छ र जनमैत्री नेतृत्वले त्यो काम गर्नसक्छ भन्नेमा द्विविधा रहँदैन ।
सन् १९१७ को बोल्सेभिक क्रान्तिले सूत्रपात गरेको कम्युनिष्ट सत्ताको अवशेष केही थोरै देशमा मात्रै देख्न पाइन्छ । उत्तर कोरिया, लाओस्, भियतनाम, क्युवा आदि केही देशहरूमात्रै छन् । छिमेकी मित्र राष्ट्र चीनमा राजनीति कम्युनिष्ट विचार अनुरूप भए पनि आर्थिक सामाजिक र वैज्ञानिक सबै आधार खुला समाज अनुरूप रहेका छन् । माओ सेतुङको सांस्कृतिक क्रान्तिले उत्पन्न गरेको सामाजिक रिक्तता र स्थापित निरंकुशतालाई चिर्दै माओ पछिका नेता डेङ सियाओ पेङको उदारताको प्रतिफल अहिले चिनियाँ जनताले उपभोग गरिरहेका छन् । सर्वाधिक विपन्नताले भरिएको भारतीय भूखण्डमा शोषक, सामन्त, पुँजीपति, अर्द्धसामन्ती, दलाल पुँजीवाद, साम्रज्यवाद, विस्तारवाद जस्ता अनेक शब्दहरूको आकर्षण र छाप पर्नु अस्वाभाविक थिएन । त्यसमा पनि दोस्रो विश्वयुद्धपछि पश्चिमी उपनिवेशबाट मुक्त हुँदै स्वतन्त्र अस्तित्व कायम गरेको देशहरूमा सोभियत धुरीको प्रभाव विस्तारित भयो ।
सन् ०६० को दशकमा अमेरिका र सोभियत संघको शीतयुद्धका कारण विकसित दुई ध्रुवको चेपुवामा पर्दै असंलग्न राष्ट्रहरूको जन्म भए पनि अधिकांश यस क्षेत्रका देशहरू सोभियत धुरीमा सम्बद्ध थिए । भारत पनि चीनसँगको अमैत्री, पाकिस्तान र अमेरिकाबीचको मित्रताका कारण सोभियत संघकै निकट हुनपुगेको थियो । तर जमिनमा कम्युनिष्टहरूको प्रभाव विस्तार भइरहेको थियो । सन् ०४२ को भारत छोड आन्दोलनका समय नेपाली विद्यार्थीहरू जेल गएका थिए तर भारतका कम्युनिष्टहरू भने आन्दोलनविरुद्ध अंग्रेज निकट पुगेका थिए भन्ने इतिहास सिद्ध विषय हो । अत्यधिक विपन्नता अनि शोषण र सामन्तवाद, दलाल पुँजीवादको अन्त्य गरी श्रमिक सर्वहारा वर्गको सत्ताको सपना वितरण गर्दै उभिएका कम्युनिष्टहरूप्रति विपन्न जनता आकर्षित नहुने कुरै थिएन । समानताको सानदार सपना वितरण गर्ने कम्युनिष्ट कला बेजोड रहेको छ ।
त्यही कलाले नेपालमा पनि काम गरिरहेको छ र केही थोरै हिंग नभए पनि हिंग भएको टालो जस्तो बासना बहिरहेको अनुभव हुन्छ । तर भारतमा कुनै समय केन्द्रीय संसद्मा शक्तिशाली उपस्थिति र निर्णायक मत राख्ने सामर्थ्य भएका कम्युनिष्ट पार्टी अहिले शून्य समान हैसियतमा पुगेका छन् । पश्चिम बंगाल, त्रिपुरा, केरलम जस्ता कतिपय राज्यमा सरकार चलाउन सफल भएका र बिहार, आन्ध्र जस्ता प्रदेशहरूमा निर्णायक हुनेगरेका कम्युनिष्ट पार्टीको अवशेष खोज्न गाउँको कताकति बत्ती बालेर हेर्नुपर्ने भएको छ । नेपाल-भारत जस्ता देशका जनतालाई आकषर््िात गर्ने नाममा साम्यवादको पुडियासँग जातिवाद, अनि धार्मिक सांस्कृतिक अतिक्रमणको घोल मिसाउन सिपालु देखिन्छ कम्युनिष्ट आन्दोलन । तर यस्तो घोल विस्तारै निस्तेज हुनलागेको देखिन्छ ।
कुनै समय नेपालमा सन्ताउन्न प्रतिशत जनमत प्राप्त गरेको साम्यवादी शक्ति यतिखेर निरीह अवस्थामा पुगेको छ । भारतमा त आफ्नो सत्ताको अन्तिम एउटा किल्ला केरलम समेत गुमाएपछि भन्न थालिएको हो : कम्युनिष्ट मुक्त भारत हुनपुग्यो । तर साम्यवादी सत्ता यसरी स्खलित भएको देखिए पनि विचारको अवशान हुनसक्दैन । समय, परिस्थिति र घटनाक्रमले विगतमा निस्तेज भएको विचारलाई पुनर्जीवन दिनसक्ने अवस्था आउँनसक्छ । विचारको अमरत्व यसबाट प्रमाणित हुन्छ । अहिले स्वतन्त्रताको सिद्धान्तबाहेकका अरू विचार निरर्थक देखिएका छन् । स्वतन्त्रता मानव सभ्यताको मौलिक तत्त्व हो र अनिवार्य पनि छ । यसविरुद्ध कुनै पनि खाले निरंकुशता स्थायी हुनु संभव छैन । तर अरू वाद वा विचारका स्थानमा अहिले लोकप्रियतावाद हावी भएको छ ।
नेपालमा भरखरै संपन्न निर्वाचन त्यस्तै लोकप्रियतावादका पक्षमा देखिएको छ भने भारतको तमिलनाडु राज्यको निर्वाचन परिणाम पनि त्यस्तै देखिन्छ । यसअघि युक्रेनमा जेलेन्स्कीको उदय, पाकिस्तानमा इम्रान खाँनको राजनीति, अमेरिकामा ट्रम्पको पुनरागमन, यी लोकप्रियतावादका नमुना नै हुन् । यस्तो लोकप्रियतावादको समय कति रहला त्यो भन्न सकिँदैन । अहिले चाहिँ भारतीय सञ्चारमाध्यमहरूले गरेको टिप्पणी अनुरूप भारतीय भूमि कम्युनिष्ट मुक्त देखिएको छ, त्यत्तिमात्रै भन्न सकिन्छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि