पाल्पा । पाल्पामा हलुका सवारीसाधन चारपाङ्ग्रेको अनुमतिपत्र (लाइसेन्स) लिन बुटवल, पोखरा, काठमाडौं जानुपर्ने बाध्यता हटेको छ । मोटरसाइकल र स्कुटरको मात्र चालक अनुमतिपत्र दिँदै आएको यातायात व्यवस्था सेवा कार्यालय तानसेन पाल्पाले पहिलोपटक हलुका सवारी चारपाङ्ग्रे साधनको सवारी चालक अनुमति पत्र वितरणको सेवा दिन थालेपछि बाध्यता हटेको हो ।
सेवा थप भएसँगै हलुका सवारीसाधन चारपाङ्ग्रे (कार, जिप, डेलिभरी भ्यान, टेम्पो, अटोरिक्सा, (ई–रिक्सा) र (ट्रयाक्टर)को अनुमतिपत्रका लागि अनलाइन आवेदन मागसमेत गरिएको कार्यालय प्रमुख टिकाराम न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार दुईपाङ्ग्रे सवारीको वितरण गर्दै आएकोमा अबदेखि चारपाङ्ग्रेको समेत वितरणका लागि प्रक्रिया अगाडि बढाइएको छ ।
प्रमुख न्यौपानेले भन्नुभयो “लाइसेन्सका लागि मंगलबारदेखि अनलाईन आवेदन फाराम खुला गरेका छौं, छिट्टै लिखित परीक्षा लिई ट्रायल (परीक्षण) लिन सुरु गर्नेछौं ।” तानसेन–७, बाँसटारीमा हलुका चारपाङ्ग्रेको लागि ट्रायल सेन्टर तयार भइसकेको छ । हाल मोटरसाइकल र स्कुटरको ट्रायल सञ्चालन हुँदै आएको ठाउँ भन्दा केही अगाडि भाडामा लिएर ट्रायल सेन्टर तयार भएको हो । कार्यालयको आफ्नै जग्गा भए पनि पर्याप्त बजेट नहुँदा तत्काललाई ट्रायल सेन्टर भाडामा लिएर सेवा सञ्चालन गर्न लागिएको कार्यालय प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “अहिले हामीले तत्कालका लागि भाडामा लिएर हलुका सवारीको ट्रायल सञ्चालन गरेका छौं, पछि बजेट आएपछि आफ्नै जग्गामा ट्रायल सेन्टर निर्माण गरी सेवा दिने छौं ।” यसअघि चारपाङ्ग्रे सवारीसाधनको लाइसेन्सको ट्रायल दिन दुई/तीन दिन लगाएर बुटवल, काठमाडौं, नेपालगञ्जलगायतका स्थानमा धाउनुपर्ने बाध्यता थियो । अब भने पाल्पाबाटै सेवा सुरु हुन थालेपछि पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँचीका हजारौँ सेवाग्राही लाभान्वित हुने कार्यालयका वरिष्ठ अधिकृत श्रीराम पाण्डेले जानकारी दिनुभयो । तराईमा मात्र हुँदै आएको चारपाङ्ग्रे सवारी साधनको अनुमतिपत्रको काम लुम्बिनी प्रदेशको पहाडी जिल्ला पाल्पामा पहिलो पटक सुरु गरिएको उहाँले बताउनुभयो ।
पाल्पाको यातायात सेवा कार्यालयमा सवारी चालक अनुमति पत्रको लागि देशभरका जुनसुकै स्थानका व्यक्तिहरुले मोबाईल वा कम्प्युटरबाट सजिलै आवेदन दिन सक्ने सुविधा रहेको कार्यालयका सुचना अधिकारी विकास नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो “हामीले सेवाग्राहीहरुको सहज सेवाका लागि अनलाईन प्राणालीलाई प्राथमिकतामा राखेका छौं ।” छिट्टै नै सेवाग्राहीले आफ्नो मोवाइलमा एसेमेसमार्फत नतिजा र लाइसेन्स आए नआएको थाहा पाउने व्यवस्थाको प्रवन्ध मिलाउन लागिएको सूचना अधिकारी नेपालीले बताउनुभयो ।
कार्यालयले हाल दिदै आएको सेवालाई तत्काल आफ्नो वेभसाईट र फेसबुक पेजमा समेत राख्दै आएको छ । लाइसेन्सको लिखित परीक्षा र ट्रायल भएको एक घण्टामै परीक्षार्थीले आफ्नो नतिजा कार्यालयको पेजमार्फत थाहा पाउने व्यवस्था मिलाइएको कार्यालयका अर्का अधिकृत दिवाकर पन्थीले बताउनुभयो । उहाँले भन्नुभयो“ पहिले जस्तो नतिजा कुर्न हप्तौं दिन लाग्दैन, दिएको आधा–एक घण्टामा नतिजा आईहाल्छ ।”
२०७५ सालमा स्थापना भएको कार्यालयले ब्लूबुक नवीकरण, जाँचपास, नवीकरण तथा रुट परमिट, लाइसेन्स नवीकरण एवं दुईपाङ्ग्रेका लाइसेन्स वितरणको सेवा दिदैं आएको छ । यातायात कार्यालयबाट छिटो छरितो रुपमा लाइसेन्स प्राप्त हुन थालेपछि ट्राफिक नियम उल्लङ्घन गर्नेहरुमा समेत कमी आउन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेन्द्र खड्काले बताउनुभयो । अहिले यातायात कार्यालय र जिल्ला ट्राफिक कार्यालयले संयुक्त रुपमा सवारी अनुगमनलाई समेत तिव्रता दिएका छन् ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि