न्युयोर्क । विश्वकै सबैभन्दा बढी जनसंख्या भएका दुई राष्ट्र भारत र चीनमा आगामी फिफा विश्वकप २०२६ को प्रसारणलाई लिएर गम्भीर अन्योल उत्पन्न भएको छ । विश्वकप सुरु हुन अब पाँच हप्तामात्र बाँकी रहँदा पनि प्रसारण अधिकारका लागि कुनै आधिकारिक सम्झौता हुन नसकेको हो । हालसम्म पनि सम्झौता हुन नसकेपछि यी दुई देशका करोडौँ फुटबल प्रशंसकहरू विश्वकप हेर्नबाट वञ्चित हुने सम्भावना बढेको रोयटर्सले जनाएको छ । सामान्यतया विश्वकपजस्तो ठूलो प्रतियोगिताका लागि महिनाौँअघि नै सम्झौता भइसक्ने भए तापनि यसपटक भारतमा मूल्यको विषयलाई लिएर गतिरोध देखिएको छ भने चीनमा हालसम्म कुनै निर्णय सार्वजनिक भएको छैन ।
फिफाले विश्वभरका १७५ भन्दा बढी क्षेत्रमा मिडिया अधिकार सुरक्षित गरिसकेको भए तापनि भारत र चीनको हकमा भने छलफल अझै जारी रहेको र यो प्रक्रिया गोप्य रहने जनाएको छ । विगतका विश्वकपहरूमा चिनियाँ सरकारी प्रसारक सिसिटिभीले धेरै अघि नै अधिकार प्राप्त गरी विज्ञापन र प्रचारप्रसार सुरु गरिसकेको हुन्थ्यो । तर, यसपटक जुन ११ मा अमेरिका, क्यानडा र मेक्सिकोमा सुरु हुने प्रतियोगिताका लागि यति कम समय बाँकी रहँदा पनि पूर्वाधार निर्माण र विज्ञापन सूची बिक्रीको काम सुरु हुन नसक्नुलाई विज्ञहरूले असामान्य मानेका छन् ।
भारतको सन्दर्भमा प्रसारण अधिकारको मूल्यलाई लिएर मुख्य गतिरोध देखिएको छ । मुकेश अम्बानीको नेतृत्वमा रहेको रिलायन्स र डिज्नीको संयुक्त उपक्रमले फिफाको मागभन्दा निकै कम २० मिलियन डलरमात्र प्रस्ताव गरेको छ । फिफाले सुरुमा भारतका लागि सन् २०२६ र २०३० को विश्वकपका लागि १०० मिलियन डलरको माग राखेको थियो । अघिल्लो पटक कतार विश्वकपको समयमा रिलायन्सले करिब ६० मिलियन डलरमा अधिकार खरिद गरेको भए तापनि यसपटक प्रसारकहरू त्यति ठूलो लगानी गर्न इच्छुक देखिएका छैनन् । भारतमा अर्को ठूलो मिडिया हाउस सोनीले पनि फिफासँग वार्ता गरे तापनि आर्थिक रूपमा फाइदाजनक नहुने भन्दै पछि हट्ने निर्णय गरेको छ ।
भारतीय प्रसारकहरूले यति कम मूल्य प्रस्ताव गर्नुका पछाडि मुख्य दुई कारणहरू रहेका छन् । पहिलो, अमेरिका र मेक्सिकोमा खेलहरू हुने भएकाले भारतमा धेरैजसो खेलहरू मध्यरातपछि मात्र प्रसारण हुनेछन्, जसले गर्दा दर्शक संख्या निकै कम हुने अनुमान गरिएको छ । दोस्रो, भारतमा फुटबलले क्रिकेटको तुलनामा व्यावसायिक प्रिमियम पाउन सकेको छैन र वर्तमान समयमा विज्ञापन बजारमा देखिएको मन्दीले पनि राजस्व संकलनमा असर पर्ने देखिएको छ । अर्कोतर्फ चीनमा पनि फुटबलको ठूलो क्रेज भए तापनि राष्ट्रिय टोलीको कमजोर प्रदर्शन र सरकारी नीतिहरूका कारण प्रसारण सम्झौतामा ढिलाइ भइरहेको बुझिएको छ ।
सन् २०२२ को विश्वकपमा चीन र भारतको हिस्सा विश्वव्यापी डिजिटल स्ट्रिमिङ पहुँचमा २२.६ प्रतिशत रहेको थियो । यस्तो विशाल बजारमा सम्झौता हुन नसक्नु फिफाका लागि पनि चुनौतीपूर्ण बनेको छ । विज्ञापन एजेन्सी डेन्ट्सु इण्डियाका अनुसार यो अवस्था चेसको अन्तिम चालजस्तै भएको छ, जहाँ थोरै समयमात्र बाँकी छ । यदि आगामी केही दिनभित्र कुनै ठोस सहमति हुन सकेन भने इतिहासमा पहिलोपटक विश्वका दुई ठूला देशका फुटबलप्रेमीहरूले आधिकारिक माध्यमबाट विश्वकप हेर्न नपाउने जोखिम बढेको छ । एजेन्सी




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि