काठमाडौं । तीन चरणको सिरिजसहित नेपाल रन पाँच किलोमिटर च्यालेन्ज २०२६ आगामी वैशाख २६ गते भक्तपुरमा हुने भएको छ । एथलेटिक्स परिवार नेपालले चाँगुनारायण नगरपालिकाको सहकार्यमा कुल ६ विधामा प्रतियोगिता नेपाल रन च्यालेन्ज हुने भएको हो । पहिलो प्रतियोगिता भएको दुई महिनाको अन्तरमा सिरिज हुने भएको छ ।
एथलेटिक्स परिवार नेपालले बुधवार पत्रकार सम्मेलन आयोजना गर्दै नेपाल रन पाँच किलोमिटर च्यालेन्जबारे जानकारी दिएको हो । शृंखलाबद्ध (तीन प्रतियोगिता) रूपमा सञ्चालन हुने यस प्रतियोगितामा खेलाडीहरूले प्रत्येक चरणमा अंक प्राप्त गर्नेछन् । अन्तिम ‘ग्राण्ड’ प्रतिस्पर्धामा उत्कृष्ट खेलाडीहरूलाई विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता चाँगुनारायण नगरपालिका भवन परिसरबाट सुरु भई भद्रकाली मोड, घट्टेखोला चोक, घट्टेखोला, पनौती टोल, कुण्डलटार चोक हुँदै पुनः नगरपालिका परिसरमै समाप्त हुनेछ ।
प्रतियोगितामा खुला महिला तथा पुरुष, ४५ वर्षमाथिका पुरुष भेट्रान, ३५ वर्षमाथिका महिला भेट्रान र १८ वर्षमुनिका महिला र पुरुष गरी ६ विधामा प्रतिस्पर्धा हुनेछ । खुला तथा भेट्रानतर्फ पाँच किलोमिटर र युवामा तीन किलोमिटर दूरीमा दौड हुनेछ । प्रतियोगितामा करिब २५० भन्दा बढी खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । खुला महिला तथा पुरुष पाँच किलोमिटरतर्फ पहिलोले १२ हजार, दोस्रोले आठ हजार, तेस्रोले चार हजार, चौथोले दुई हजार र पाँचौंले एक हजार पाँच सय रुपैयाँ पुरस्कार पाउनेछन् । छैटौँदेखि दशौँ स्थानसम्मका खेलाडीलाई जनही एक हजार रुपैयाँ प्रदान गरिनेछ ।
त्यस्तै, ४५ वर्षमाथिका पुरुष भेट्रानतर्फ प्रथमले १० हजार, दोस्रोले सात हजार, तेस्रोले तीन हजार, चौथोले दुई हजार र पाँचौँले एक हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् भने छैटौँदेखि दशौँ स्थानसम्मका खेलाडीलाई जनही एक हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
१८ वर्षमुनिको तीन किलोमिटर दौडतर्फ प्रथम हुनेले ६ हजार, दोस्रोले चार हजार, तेस्रोले तीन हजार, चौथोले दुई हजार र पाँचौँले एक हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् । छैटौँदेखि दशौँ स्थानसम्मका खेलाडीलाई जनही एक हजार रुपैयाँ दिइने आयोजनकले उल्लेख गर्यो । ३५ वर्षमाथिको महिला भेट्रानतर्फ पहिलोले सात हजार, दोस्रोले चार हजार, तेस्रोले दुई हजार, चौथोले एक हजार पाँच सय र पाँचौँले एक हजार दुई सय रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको अनुमानित बजेट सात लाख ६६ हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ । विजेताहरूले पदक पनि पाउनेछन् । एथलेटिक्स खेलप्रति जनचासो बढाउने, नयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने र खेलाडीहरूको क्षमता विकासमा टेवा पुर्याउने उद्देश्यले आयोजना गर्न लागिएको हो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि