नयाँदिल्ली । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को प्लेअफ तालिका सार्वजनिक गरेको छ । आइपिएलमा लिग चरणका ४८ खेल सम्पन्न भइसकेका छन् भने अब २२ खेलमात्र बाँकी छन् । यसअघि लिग चरणसम्मको तालिका सार्वजनिक भएकामा अब प्लेअफको तालिका पनि सार्वजनिक भएको हो ।
प्लेअफअन्तर्गत शीर्ष दुई टोलीबीचको क्वालिफायर मे २६ मा हिमाचल प्रदेश क्रिकेट स्टेडियम धर्मशालामा हुनेछ, जसको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ । त्यसपछि तेस्रो र चौथो स्थानमा रहेका टोलीबीचको एलिमिनेटर मे २७ मा चण्डीगढस्थित न्यु पिसिए अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुनेछ ।
यही मैदानमा मे २९ मा क्वालिफायर दुई खेलाइनेछ, जहाँ क्वालिफायर १ को पराजित टोली र एलिमिनेटरको विजेता टोलीबीच फाइनलमा पुग्नका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल भने मे ३१ मा गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा आयोजना हुनेछ । धर्मशाला र चण्डीगढ दुवै पञ्जाब किङ्सको घरेलु मैदान हो भने नरेन्द्र मोदी स्टेडियम गुजरात टाइटन्सको घरेलु मैदान हो ।
यस सिजन विशेष परिस्थितिका कारण प्लेअफ खेलहरू तीन फरक मैदानमा सञ्चालन गरिने जनाइएको छ । यसअघि फाइनल बेंगलुरुमा हुने तय भए पनि स्थानीय निकाय र व्यवस्थापनसम्बन्धी कारणले स्थान परिवर्तन गरी अहमदाबाद सारिएको बिसिसिआईले जनाएको छ ।
प्लेअफ तालिकामा पहिलो क्वालिफायर : मे २६ (धर्मशाला), इलिमिनेटर : मे २७ (चण्डीगढ), दोस्रो क्वालिफायर : मे २९ (चण्डीगढ) र फाइनल : मे ३१ (अहमदाबाद) हुँदैछ ।
दिल्लीमाथि चेन्नईको सशक्त जित
भारतमा जारी १९औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत भएको खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्समाथि सशक्त जित हासिल गरेको छ । दिल्लीको घरेलु मैदान अरुण जेट्ली क्रिकेट रंगशालामा सम्पन्न खेलमा चेन्नईले ८ विकेटको सहज जित निकालेको हो । दिल्लीले दिएको १५६ रनको लक्ष्य चेन्नईले १७.३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।
चेन्नईको जितमा ओपनर सञ्जु स्यामसनले उत्कृष्ट ब्याटिङ गर्दै ५२ बलमा ७ चौका र ६ छक्काको सहयोगमा अविजित ८७ रन बनाउनुभयो । उहाँले कार्तिक शर्मासँग तेस्रो विकेटका लागि अविजित ११४ रनको साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्याउनुभयो । शर्मा ३१ बलमा ४ चौका र २ छक्कासहित ४१ रनमा अविजित रहनुभयो ।
यसअघि उर्विल पटेल १७ रनमा तथा कप्तान रितुराज गायकवाड ६ रनमै आउट हुनुभएको थियो । दिल्लीका लागि कप्तान अक्षर पटेल र लुंगि एन्गेडिले समान १/१ विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । दिल्लीका लागि समिर रिज्भीले २४ बलमा ४ चौकासहित अविजित ४० रन बनाउनुभयो । ट्रिस्टन स्टब्सले ३८, पथुम निशंका १९, नितिश राणा १५, आशुतोष शर्मा १४, केएल राहुल १२ तथा करुण नायरले १३ रन जोड्नुभयो ।
चेन्नईका लागि नुर अहमदले २ विकेट लिनुभयो भने अकिल हुसेन, मुकेश चौधरी, गुर्जपनित सिंह र जेमी ओभर्टनले समान १/१ विकेट हात पार्नुभयो । यस जितसँगै चेन्नई १० खेलबाट १० अंक जोड्दै अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ । पराजित दिल्ली समान खेलबाट आठ अंकसहित सातौं स्थानमा सीमित भएको छ । एजेन्सी




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि