काठमाडौं । सरकारले अध्यादेशमार्फत राजनीतिक नियुक्तिहरू खारेज गरेपछि प्रभावित भएको केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) पुनः सक्रिय भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता तथा सहसचिव उदयबहादुर रानामगर अध्यक्षमा पुनर्वहाली भएसँगै बोर्डको कामकाज पुनः सुचारु भएको हो ।
अध्यादेश जारी भएपछि नियमावली र ऐनबीचको प्रावधान बाझिँदा अध्यक्षसहित केही सदस्य पदमुक्त भएका थिए, जसका कारण चलचित्र जाँच प्रक्रिया नै प्रभावित भएको थियो । सोही कारण चलचित्र ‘मालती मंगले’का निर्माता समेत सेन्सर प्रक्रिया पूरा नगरी फर्किनु परेको थियो ।
हाल भने उक्त अन्योलता हटेको अध्यक्ष रानामगरले बताउनुभएको छ । उहाँका अनुसार पदमुक्त भएका तीन सदस्यको स्थानमा नयाँ ‘चलचित्र विज्ञ’हरू समावेश गरिएका छन् । चलचित्र विकास बोर्डमार्फत दशजना विज्ञको सूची माग गरी त्यसमध्येबाट तीनजनालाई छनोट गरेर समितिमा समावेश गरिएको हो ।
मन्त्रिस्तरीय निर्णय नहुँदासम्म बोर्डबाट सिफारिश गरिएका ती विज्ञ सदस्यहरूले चलचित्र जाँचसम्बन्धी कार्य सञ्चालन गर्ने व्यवस्था गरिएको छ । अध्यक्ष रानामगरले सेन्सर प्रक्रिया अब अवरोधविहीन रूपमा अघि बढ्ने बताउनुभएको छ ।
कानुनी प्रावधानअनुसार मन्त्रालयका प्रवक्ता तथा सहसचिव नै सेन्सर बोर्डको पदेन अध्यक्ष हुने व्यवस्था रहेको छ । समितिमा अध्यक्षसहित कुल आठ सदस्य रहने व्यवस्था छ । सरकारी निर्णयका कारण केही समय रोकिएको चलचित्र जाँच प्रक्रिया पुनः सुचारु भएको छ ।
‘मालती मंगले’लाई ‘युनिभर्सल’ प्रमाणपत्र
यसैबीच यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘मालती मंगले’ले सेन्सर बोर्डबाट ‘युनिभर्सल’ प्रमाणपत्र (सबैले हेर्न मिल्ने) पाएको छ । दुई घण्टा ३८ मिनेट लामो यस चलचित्रले सबैले हेर्न मिल्ने ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेको हो । प्रमाणपत्र बुझ्न चलचित्रका निर्माता तथा गायक रामकृष्ण ढकाल आफैं पुग्नुभएको थियो ।
रानी फिल्मस्को ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्र ‘मालती मंगले’को कथा स्वयं निर्देशक प्रकु पाण्डेयले लेख्नुभएको हो भने पटकथा तथा संवाद संयोग गुरागाईंले तयार पार्नुभएको हो ।
यस चलचित्रमा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङलगायत कलाकारको अभिनय छ ।
यस चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुनुहुन्छ भने बाबु सुवेदी, रवीन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईं सह-निर्माताका रूपमा हुनुहुन्छ । प्राविधिक रूपमा पनि निकै उत्कृष्ट मानिएको यस चलचित्रमा महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रंग संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउण्ड म्युजिक र डिकेश खड्गीको ध्वनि मिश्रण छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि