काठमाडौं । सरकार बनेको डेढ महिना पनि नबित्दै देशवासीलाई झस्काउने निर्णय भएको भन्दै नेकपा संयुक्तले सरकारको ध्यानकर्षण गराएको छ । नेकपा संयुक्तले बुधबार माइतीघरमा पत्रकार सम्मेलन गरेर सरकारको ध्यानाकर्षण गराएको हो । पत्रकार सम्मेलनमार्फत सहरलाई सुन्दर राख्ने वा तथाकथित हुकुमबासी हटाउने नाममा वास्तविक सुकुम्बासीहरूमाथि अमानवीय व्यवहार भएको नेकपा संयुक्तले निष्कर्ष निकालेको छ । साथै नेकपाले वास्तविक सुकुम्बासीमाथि अमानवीय व्यवहार भएको भन्दै विरोध पनि गरेको छ ।
उक्त पत्रकार सम्मेलनमा नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले विगतका सरकारका असफलताबाट पाठ सिकेर अघि बढ्न प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिनुभएको छ । उहाँले आफूले केपी ओलीलाई पनि शक्तिमा भएको बेला गल्ती नगर्न सुझाए पनि त्यसलाई बेवास्ता गर्दा अहिलेको नियति भोग्नुपरेको भन्दै प्रधानमन्त्री बालेन्द्रले पनि त्यसबाट पाठ सिकेर अघि नबढे सोही हालत बेहोर्नुपर्ने अवस्था आउनेसमेत चेतावनी दिनुभएको छ । उहाँले भन्नुभयो, ‘तपाईं जति शक्तिशाली हुनुहुन्छ, यदि गल्ती गर्नुभयो भने धेरै चाँडो तपाईंमाथि संकटहरू आइपर्ने छ । म फेरि पनि दोहोर्याएर भन्छु- बालेन शाह नेतृत्वको सरकार असफल हुँदा प्रतिपक्षका हिसाबले कोही खुसी होलान् । तर, यसको मूल्य सबैले तिर्नुपर्छ । यो डर हामी सबै नागरिकलाई छ । यस्तो मूल्य फेरि तिर्न नपरोस् ।’
नेता भुसालले प्रधानमन्त्री शाहलाई इतिहासलाई गिज्याउने खालको काम नगर्न सचेत गराउँदै जतिसुकै शक्तिशाली शासकले विगतबाट पाठ सिकेर अघि नबढे नागरिकले ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउने तथ्य पनि स्मरण गराउनुभयो । वैशाख १२ गतेबाट सरकारले देशव्यापी रूपमा सुकुम्बासी बस्तीमा डोजर चलाइरहेको छ ।
सुकुम्बासीको आन्दोलनलाई समर्थन
यसैबीच, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी)ले सुकुम्बासीहरूले सुरु गरेको आन्दोलनलाई समर्थन गरेको छ । बुधबार सो पार्टीका प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति जारी गर्दै सुकुम्बासीहरूले सुरु गरेको आन्दोलनमा समर्थन गर्दै सो अभियानमा साथ दिन सबैलाई आग्रह गर्नुभएको हो । उठिबास गरिएका भूमिहीन र सुकुम्बासीहरूलाई वैकल्पिक बसोबास र भूमिको व्यवस्था गर्नसमेत सो पार्टीले सरकारसँग जोडदार माग गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त पार्टीले बालेन नेतृत्वको सरकारले भूमिहीन र सुकुम्बासी बस्तीमा डोजर चलाएर उठिबास गरेको भन्दै विरोध गर्दै आएको छ ।
सुकुम्बासीमाथि राज्यको क्रूरता स्वीकार्य छैन : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुकुम्बासीमाथि राज्यको क्रूरता स्वीकार्य नहुने बताउनुभएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सभापति थापाले सुकुम्बासीबारे सरकारले चालेका कदम गलत भएको जिकिर गनुभएको थियो । उहाँले अहिले कानुनसम्मत काम नगरी सुकुम्बासीमाथि अन्याय गरिएको उल्लेख गर्नुभएको छ । ‘राज्यले बल प्रयोग गर्न पाउँछ, बर्बर हुन पाउँदैन लोकतन्त्रमा । बुद्ध पूर्णिमाको दिन गुम्बा भत्काइएको छ । नक्कली सकुम्बासीलाई हटाउने हो । डोजरको जुन आतंक छ, यो स्वीकारयोग्य छैन । राज्यको क्रूरता स्वीकार नभएको’, उहाँको भनाइ थियो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि