काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व चयन भएको छ । मंगलबार काठमाडौंमा सम्पन्न निर्वाचनसँगै महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष चयन हुनुभएको हो । साढे दुई दशकदेखि महासंघमा आबद्ध श्रेष्ठ व्यावसायिक घराना लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक हुनुहुन्छ । मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार जिल्ला तथा नगरतर्फका दुई उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ निर्वाचित हुनुभएको छ भने वस्तुगततर्फको उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्ष प्रबलजंग पाण्डे विजयी हुनुभएको छ । पाण्डे लोमस फर्मास्युटिकल्स र कसमस सिमेन्टका सञ्चालकका साथै सिटिजन्स बैंकको अध्यक्षका रूपमा कार्यरत हुनुहुन्छ ।
एसोसिएटतर्फ १७ सदस्य निर्वाचित भएकामा सचिन ढकाल सर्वाधिक १३ सय १८ मतसहित विजयी हुनुभएको छ । उहाँ आइएमई समूहमा आबद्ध हुनुहुन्छ । त्यस्तै, अन्य सदस्यमा हेमन्त गोल्छा, अम्बिकाप्रसाद पौडेल, उज्ज्वलकुमार श्रेष्ठ, शक्तिकुमार बेगानी, ऋषि अग्रवाल र सुशील थापा वियजी हुनुभएको छ । त्यसैगरी, राजेशकुमार अग्रवाल, सुयस प्याकुरेल, रामशरण भण्डारी, बाबुकाजी कार्की, दिवश न्यौपाने, कृष्णलाल महर्जन, प्रियराज रेग्मी, ईश्वरबहादुर जिसी, सुरज उप्रेती र बटु लामिछाने पनि सदस्यमा विजयी हुनुभएको छ ।
त्यस्तै, वस्तुगततर्फ १६ कार्यकारिणी सदस्यमध्ये १३ जना निर्वाचित भएका छन्, बाँकी तीन जनाबीच गोलाप्रथाबाट टुंगो लगाइने बताइएको छ । अरनिको राजभण्डारी सर्वाधिक ७० मतसहित विजयी हुनुभएको छ भने अन्य सदस्यमा विदुर धमला, सागर ढकाल, रवीन पुरी, राजकुमार कार्की, पशुपतिदेव पाण्डे, लिलेन्द्र प्रधान, भक्तबहादुर हमाल, नानीराज घिमिरे, संघर्ष विष्ट र होमप्रसाद घिमिरे विजयी हुनुभएको छ ।
महिला सदस्यतर्फ सुनिता नेम्हाफुकी विजयी हुनुभएको छ । निराजन चलाउने, रघुनन्दन मारु, विप्लव अधिकारी र सुरज बन्जाडेले समान ५०-५० मत प्राप्त गर्नुभएकाले गोलाप्रथामार्फत कार्यकाल निर्धारण गरिने बताइएको छ । जिल्ला-नगर खुल्लातर्फ सदस्यमा अर्जुनकुमार श्रेष्ठ, प्रयास कार्की, कृष्ण कटुवाल, लक्ष्मणराज पौडेल, छत्रधर आत्रेय, मोहनप्रसाद श्रेष्ठ, सन्तोष खड्का, दीपक नेपाल, केशवप्रसाद भण्डारी, हरिप्रसाद अर्याल, ताराबहादुर कार्की, शंकर गिरी, उज्ज्वलप्रसाद कसजु र सुदर्शन कार्की, गीता अमात्य र हिरा भट्टराई निर्वाचित हुनुभएको छ ।
वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान यसपटक नै अन्तिम रहेकाले आगामी महाधिवेशनदेखि भने अध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।
यसैबीच, महासंघका अध्यक्ष श्रेष्ठले मुलुकको आर्थिक उन्नयनका लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अध्यक्षको कार्यभार सम्हाल्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले उद्यमी व्यवसायीका साथै लगानीको सुरक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभयो । राष्ट्रको समृद्धिका लागि सरकार निजी क्षेत्रबीच सहकार्यको विकल्प नभएको उहाँको भनाइ थियो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि