काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत् एक सय ५० जनाले परामर्श तथा उपचार सेवा प्राप्त गरेका छन् । नारायणी अस्पताल वीरगञ्ज र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा वैशाख १७ देखि २० गतेसम्म वीरगञ्जमा शिविर आयोजना गरिएको थियो । जलन शिविरमा ४६ जना बिरामीको वरिष्ठ चिकित्सकद्वारा शल्यक्रिया गरिएको बैंकले जनाएको छ । त्यसमध्ये जटिल किसिमका छ जना बिरामीलाई काठमाडौंको कीर्तिपुरस्थित अस्पतालमा रिफर गरिएको छ । बैंकका अनुसार जलन उपचार शिविर सञ्चालनअघि मधेस प्रदेशका विभिन्न छ जिल्लाका २७ पालिकामा स्क्रिनिङ क्याम्प आयोजना गरिएको थियो । उक्त क्याम्पमा फेक्ट नेपालका स्वास्थ्यकर्मीले स्थानीय तहमै पुगेर बिरामीको प्रारम्भिक विवरण लिएका थिए ।
नबिल बैंकले काठमाडौंमा कार्यरत विशेषज्ञ चिकित्सकमार्फत् दुर्गम स्थानमा रहेका जलनसम्बन्धी बिरामीलाई निःशुल्क उपचार र परामर्श दिँदै आएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले भन्नुभयो, ‘नेपालमा जलनसम्बन्धी घटनाका पीडितले अझै पनि उचित उपचार नपाएर बस्नुपर्ने अवस्था रहेकामा नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मधेस प्रदेशका दुर्गम क्षेत्रमा रहेका जलनपीडितलाई लक्षित गरी शिविर आयोजना गरेको हो ।’ बैंकका अनुसार वैशाख २५ गतेदेखि २८ गतेसम्म लुम्बिनी प्रदेशमा पनि शिविर आयोजना हुँदैछ । फेक्ट नेपाल, कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईसहितका विशेषज्ञ चिकित्सकको टोलीले मधेस प्रदेशका जलनका बिरामीलक्षित शिविरमा शल्यक्रिया गर्नुभएको बताइएको छ ।
डा. राईले भन्नुभयो, ‘हामी जलनका बिरामीको निःशुल्क उपचार र नारायणी अस्पतालको क्षमता अभिवृद्धि गर्ने दुर्ईवटा उद्देश्य लिएर यहाँ आएका थियौं, चार दिनको शिविरमा अपेक्षाभन्दा बढी सेवा दिन सकेको अनुभव भएको छ । भविष्यमा जलनसम्बन्धी यसप्रकारको उपचार नारायणी अस्पतालबाटै होस् भन्ने हाम्रो चाहना हो ।’ नारायणी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चित्तरञ्जन साहले जलनका कारण अंगभंग भई वर्षौंदेखि असहज रूपमा बाँचिरहेका बिरामीले उपचारपछि सहज रूपमा काम गर्न पाएकामा खुसी लागेको बताउनुभयो ।
नबिलले यसअघि सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न स्थानमा निःशुल्क जलन शिविर सञ्चालन गरिसकेको छ । गत फागुन १२ देखि १४ गतेसम्म धनगढीमा सञ्चालन भएको पहिलो शिविरमार्फत् ६५ र गत चैत २७ देखि कर्णाली प्रदेशमा सञ्चालन भएको शिविरमा एक सय ९४ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका बैंकले जनाएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि