काठमाडौं । बजारमा पुराना, कुच्चिएका, टालिएका र अपारदर्शी जारमा प्रशोधित पिउने पानी बिक्री भइरहेको गुनासोपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कडा निगरानी र कारबाहीको चेतावनी दिएको छ । विशेषगरी गर्मी र वर्षायाममा पानीजन्य रोगको संक्रमण फैलने उच्च जोखिम हुने भएकाले विभागले पिउने पानीको स्वच्छता र गुणस्तरमा कडाइ गरेको हो ।
विभागका अनुसार मापदण्डविपरीतका जार प्रयोग गर्दा पानीको गुणस्तर कायम नहुने र उपभोक्ताको स्वास्थ्यमा गम्भीर समस्या देखिन सक्छ । जारहरू सफा गर्न कठिन हुने हुँदा पानी दूषित हुने सम्भावना उच्च रहन्छ । विभागले पानी उत्पादक, ढुवानीकर्ता तथा बिक्रेतालाई प्रशोधित पिउने पानी उत्पादन तथा बिक्रीवितरण गर्दा तोकिएको गुणस्तर मापदण्ड अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको छ ।
साथै, पुराना, कुच्चिएका, टालिएका, चुहिएका वा भित्रको पानी स्पष्ट नदेखिने (अपारदर्शी) जार तत्काल हटाउन निर्देशन दिएको छ । निर्देशनको उल्लंघन गरी असुरक्षित रूपमा पानी उत्पादन वा बिक्री गरेको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कडा कारबाही गरिने विभागले जनाएको छ ।
सिंहदरबारभित्रको क्यान्टिन कारबाहीमा
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिंहदरबारभित्र सञ्चालित एक क्यान्टिनलाई कारबाही स्वरूप दुर्ई लाख पाँच हजार रुपैयाँ जरिवाना गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको परिसरमा रहेको ‘हाम्रो खाजा घर’ ले म्याद नाघेको दही बिक्री गरेको फेला परेपछि विभागले कारबाही गरेको हो । उपभोक्ताको गुनासो र उजुरीका आधारमा बुधबार गरिएको आकस्मिक अनुगमनका क्रममा उक्त खाजा घरमा म्याद गुज्रिएको दही फेला परेको विभागले जनाएको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ङ) बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ (१) (ख) अनुसार दुई लाख पाँच हजार रुपैयाँ जरिवाना गरिएको विभागद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । जरिवानाका साथै विभागले उक्त दहीको उत्पादक ‘श्री कृष्ण डेरी फर्म’ लाई व्यवसाय दर्ता प्रमाणपत्र पेश गर्न निर्देशन दिएको छ भने ‘हाम्रो खाजा घर’ लाई उक्त दही खरिद गरेको बिक्री बिलसहित विभागमा उपस्थित हुन आदेश दिएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि