इलाम । डिजिटल पत्रकारितामार्फत जिल्लाको आवाज उठाउँदै आएको नयाँ बुलन्द डटकमले आफ्नो १०औँ वार्षिकोत्सव मनाउँदै पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने एक युवा पत्रकारलाई सम्मान गरेको छ ।
बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिद्वारा सञ्चालित नयाँ बुलन्दले बिहीबार आयोजित विशेष कार्यक्रममा ‘नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार’ जिल्लाका क्रियाशील युवा पत्रकार देबेन्द्र पौडेललाई पुरस्कृत गरेको हो । पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ ।
पुरस्कार ग्रहण गर्दै पौडेलले स्थानीय पत्रकारितामा निरन्तर क्रियाशील रहन यस्तो सम्मानले थप जिम्मेवारी र ऊर्जा मिलेको बताउनुभयो । उहाँलाई जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईले दोसल्ला, सम्मानपत्र र नगदसहित सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नयाँ बुलन्दका सम्पादक राम योङहाङले स्थानीय पत्रकारितालाई थप सशक्त र जिम्मेवार बनाउन पुरस्कार स्थापना गरिएको बताउनुभयो । “सूचनाको हक सुनिश्चित गर्न पत्रकारिताले खेलेको भूमिकाको सम्मानस्वरूप हरेक वर्ष एक जना सक्रिय पत्रकारलाई सम्मान गर्ने योजना बनाएका छौँ,” उहाँले भन्नुभयो ।
वार्षिकोत्सवकै अवसरमा नयाँ बुलन्दले तयार गरेको सन्देशमूलक भित्तेपात्रो (क्यालेन्डर) २०८३ समेत सार्वजनिक गरिएको थियो । क्यालेन्डर प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, प्रहरी प्रमुख कुलदिप चन्दलगायतका अतिथिहरूले संयुक्त रूपमा सार्वजनिक गरेका थिए ।
२०७४ वैशाखदेखि सञ्चालनमा आएको नयाँ बुलन्दले जिल्लाका सामाजिक, राजनीतिक, विकास तथा जनसरोकारका विषयलाई निरन्तर उठाउँदै आएको छ । अनलाइन समाचारसँगै नयाँ बुलन्द अनलाइन टिभी युट्युब च्यानल समेत सञ्चालन गर्दै आएको छ ।
कार्यक्रम बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका अध्यक्षसमेत रहेका राम योङहाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि