काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विभिन्न देशमा कार्यरत नेपाली चिकित्सकहरूको लाइसेन्स खारेज गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णयप्रति आपत्ति जनाउँदै उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग आग्रह गरेको छ।
एनआरएनएले उक्त निर्णय विदेशमा रहेका नेपालीहरूको दक्षता र लगानीलाई राष्ट्रिय विकासमा उपयोग गर्ने सरकारी नीतिविपरीत रहेको दाबी गरेको छ। संघका अनुसार यसले नेपालको समृद्धिमा योगदान दिँदै आएका प्रवासी नेपाली विज्ञहरूको मनोबलमा नकारात्मक असर पारेको छ।
प्रवक्ता सोमनाथ सापकोटाले ३३ जना नेपाली चिकित्सकहरूको लाइसेन्स खारेज गर्ने निर्णयले उनीहरूको व्यावसायिक भविष्य मात्र नभई सम्पूर्ण प्रवासी चिकित्सक समुदायको मनोबल कमजोर बनाएको बताउनुभएको छ।
उहाँले सम्बन्धित चिकित्सकहरूसँग कुनै समन्वय वा पूर्वजानकारी बिना गरिएको निर्णय प्रक्रियाप्रति आपत्ति जनाउँदै चिकित्सा जस्तो संवेदनशील क्षेत्रमा निर्णय लिनुअघि परामर्श, स्पष्ट आधार र प्रक्रियागत पारदर्शिता आवश्यक रहेको बताउनुभएको छ।
सापकोटाले सरकारले यस्ता निर्णय गर्दा संयम अपनाउन र सम्बन्धित पक्षसँग छलफल गरी मात्र अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले विदेशमा रहेका नेपाली विशेषज्ञहरूको ज्ञान, सीप र स्रोतलाई नेपालसँग जोड्ने प्रयासमा यस्ता कदमले बाधा पुर्याउने उल्लेख गर्नुभएको छ।
एनआरएनएले संविधानले गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गरिसकेको अवस्थामा बसोबासका आधारमा मात्र पेशागत पहिचान खोस्नु न्यायोचित नहुने पनि जनाएको छ।
संघले उक्त निर्णय सच्याई प्रवासी नेपाली विज्ञहरूको योगदानलाई सम्मान गर्ने वातावरण बनाउन सरकारसँग पुनः आग्रह गरेको छ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि