काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जना र चिनियाँ निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । बिहीबार दायर गरिएको उक्त मुद्दामा अख्तियारले तीन अर्ब ६२ करोड पाँच लाख २२ हजार १६० रुपैयाँ बराबरको बिगो दाबी गरेको हो । आयोगका अनुसार विमानस्थल निर्माणका क्रममा मूल ठेक्का सम्झौतामा उल्लेख नभएको कर तथा राजस्व छुट निर्माण कम्पनीलाई उपलब्ध गराएर राज्यलाई ठूलो आर्थिक नोक्सानी पुर्याइएको निष्कर्ष निकालिएको छ ।
अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले ठेक्का सम्झौताविपरीत कर छुट प्रदान गर्ने निर्णय प्रक्रियामा संलग्न उच्च पदस्थ अधिकारी र निर्माण कम्पनीमाथि भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दायर गरिएको जानकारी दिनुभयो ।
को-को परे अभियोगमा ?
अख्तियारले दायर गरेको आरोपपत्रमा तत्कालीन अर्थमन्त्री कार्कीसँगै अर्थ मन्त्रालयका तत्कालीन सचिव शंकरप्रसाद अधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव महेश्वर न्यौपाने, तत्कालीन सहसचिवद्वय सुरेश आचार्य र दुण्डुराज घिमिरेलाई प्रतिवादी बनाइएको छ ।
त्यसैगरी, तत्कालीन सहसचिव तथा पूर्वसचिव केवल भण्डारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम, निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी तथा इञ्जिनियर योगेश अर्यालविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
त्यस्तै, अख्तियारले चिनियाँ कम्पनी सिएएमसी त्यसका अध्यक्ष र परियोजना व्यवस्थापक अनि कम्पनी म्यानेजरलाई समेत मुद्दा चलाएको छ ।
अख्तियारको आरोपअनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि भएको ठेक्का सम्झौतामा कर छुटसम्बन्धी स्पष्ट व्यवस्था नभए पनि निर्णय प्रक्रियामा संलग्न पदाधिकारीहरूले निर्माण कम्पनीलाई राजस्व छुट दिएका थिए । यसरी दिइएको छुटले राज्य कोषमा अर्बौं रुपैयाँ घाटा पुगेको आयोगको निष्कर्ष छ । अख्तियारले यसलाई ‘नीतिगत आवरणमा गरिएको आर्थिक अनियमितता’ का रूपमा व्याख्या गरेको छ ।
विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले आरोपपत्र दर्ता भएको पुष्टि गर्दै राजस्व छुट दिने निर्णय र त्यसबाट भएको आर्थिक क्षतिको आधारमा मुद्दा अघि बढाइएको बताउनुभयो ।
पोखरा विमानस्थल प्रकरणमा तेस्रो मुद्दा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार आरोपमा अख्तियारले यसअघि पनि दुईवटा मुद्दा दायर गरिसकेको छ । गत २१ मंसिरमा आयोगले पाँचजना पूर्व-मन्त्रीसहितलाई विपक्षी बनाएर पहिलो मुद्दा दायर गरेको थियो । त्यसपछि ८ चैतमा विमानस्थल निर्माण प्रक्रियासँग सम्बन्धित अर्को भ्रष्टाचार मुद्दा दर्ता गरिएको थियो । बिहीबार दायर गरिएको यो मुद्दा उक्त प्रकरणकै तेस्रो मुद्दा हो ।
बहुचर्चित परियोजनामाथि बढ्दो प्रश्न
करिब २२ अर्ब रुपैयाँ लागतमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनपछि नै लागत, ऋण व्यवस्थापन, ठेक्का प्रक्रिया तथा सञ्चालन प्रभावकारिताबारे निरन्तर विवादमा रहँदै आएको छ । चिनियाँ ऋण सहयोगमा निर्माण गरिएको यो परियोजनामाथि संसद्को सार्वजनिक लेखा समिति, महालेखा परीक्षकको प्रतिवेदन तथा विभिन्न अध्ययनहरूले समेत प्रश्न उठाएका थिए । अब अख्तियारको पछिल्लो मुद्दाले परियोजनासँग सम्बन्धित प्रशासनिक तथा राजनीतिक निर्णय प्रक्रियामाथि थप कानुनी र राजनीतिक बहस सिर्जना गरेको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र