शहरलाई सुन्दर, व्यवस्थित र बस्न लायक बनाउन ठूला र महत्त्वाकांक्षी योजनामात्र पर्याप्त हुँदैनन् । हाम्रा सानासाना प्रयास, दैनिक व्यवहार र सामान्य सुधारहरूले समाजमा निकै ठूलो र सुन्दर परिणाम ल्याउन सक्छन् । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहर-बजारहरू अस्तव्यस्त बन्दै गइरहेको वर्तमान अवस्थामा, हामीले आफ्नै घर, टोल र छिमेकबाट केही सुधारका काम थाल्नु नितान्त आवश्यक भइसकेको छ । शहरको सौन्दर्य, सुशासन, वातावरण संरक्षण र सामाजिक मर्यादालाई कायम राख्न हामी सबैले ध्यान दिनुपर्ने महत्त्वपूर्ण विषय प्रस्तुत छन् :
शहरी व्यवस्थापन र सुशासन
कुनै पनि शहर सुरक्षित र व्यवस्थित हुन त्यहाँ को बसिरहेका छन् भन्ने कुराको यकिन तथ्यांक हुनुपर्छ । हाम्रा हरेक वडा, टोल र गल्लीहरूमा बस्ने डेरावालाहरूको पूर्ण विवरण सम्बन्धित निकायले राख्नुपर्छ । उनीहरू कहाँबाट आएका हुन्, के काम गर्छन् र कतिजना बस्छन् लगत अद्यावधिक गर्दा शान्ति सुरक्षा कायम गर्न निकै सजिलो हुन्छ । यसैगरी, देशको सिमाना खुला भएकाले दिनहुँ आवतजावत गर्नेहरूको स्पष्ट अभिलेख राख्नुपर्छ । कहाँबाट आएको, कहाँ जाने, के काम गर्ने र कहिले फर्किने भन्ने विवरण राख्न सकेमा धेरै आपराधिक गतिविधि कम गर्न सकिन्छ ।
हाम्रो शिक्षा प्रणाली र बालबालिकाको हुर्काइमा पनि गम्भीर सुधारको खाँचो छ । कम्तीमा पाँच वर्ष नपुगेका कलिला बालबालिकालाई रुवाउँदै विद्यालय पठाउने र उनीहरूको पिठ्युँमा किताब र कापीको गह्रौं भारी बोकाउने काम पूर्णरूपमा बन्द हुनुपर्छ । यसले उनीहरूको शारीरिक र मानसिक विकासमा बाधा पुर्याउँछ । सानै उमेरमा अंग्रेजी भाषामात्र लाद्नुभन्दा, उमेर अनुसार नैतिक शिक्षा र संस्कृत जस्ता हाम्रा मौलिक भाषाहरू सिकाउनु आवश्यक छ ।
साथै, शहरी क्षेत्रमा रहेको सुकुम्बासी र अव्यवस्थित बसोवासको समस्या समाधान गर्न सरकारले बुद्धिमानी अपनाउनुपर्छ । स्थानीय निकायदेखि माथिल्लो तहसम्म राज्यको अर्बौं बजेट खर्च भइरहेको हुन्छ । सुकुम्बासीको सही पहिचान गरी उनीहरूलाई उचित ठाउँमा व्यवस्थापन गरेपछिमात्रै अनधिकृत संरचना हटाउनुपर्छ । मानिसहरूलाई घरबारविहीन बनाएर सडकमा बिचल्ली पार्नुभन्दा पहिले नै विकल्प दिनु न्यायोचित हुन्छ । अर्कोतर्फ, सरकारी कार्यालय र मन्त्रिपरिषद्का बैठकहरूमा चिया र खाजाको नाममा राज्यको अर्बौं रकम खर्च हुनेगरेको छ । तलब खाने कर्मचारी र पदाधिकारीले सामान्य चिया खाजाको खर्च आफैंले व्यहोर्ने हो भने, त्यो बचेको अर्बौं रकमले देशमा ठूला उद्योग, मल कारखाना र सुविधासम्पन्न अस्पताल निर्माण गर्न सकिन्छ । सानातिना काम गर्ने मजदुरहरूको ज्यालामा पनि एक रूपता छैन । घरमा ग्रिलको काम गर्ने, धारा बनाउने वा ग्यास सिलिन्डर डेलिभरी गर्नेहरूले मनपरी रकम असुल गर्ने प्रवृत्ति छ । ग्यास डिलरबाट घरसम्म सिलिन्डर ल्याउँदा मजदुरलाई थोरै ज्याला दिएर बीचका मानिसले धेरै नाफा खाने गरेका छन् । यस्ता कामहरूका लागि एउटा निश्चित नियम र पारिश्रमिकको सीमा तोकिदिने हो भने उपभोक्ता ठगिनबाट बच्ने थिए ।
वातावरण संरक्षण र जैविक विविधता
पछिल्लो समय हाम्रो शहर सिमेन्टको जंगल बनेको छ । जमिनमा पानी रसाएरभित्र जाने खाली ठाउँ छैन, सबैतिर ढलान र पिच गरिएको छ । तर, मानिसहरूले जमिनमुनिबाट निरन्तर पानी तानिरहेका छन् । यसले गर्दा कालान्तरमा काठमाडौं जस्ता शहर भासिने ठूलो डर छ । प्रकृतिको विनाश र अव्यवस्थित शहरीकरणको मारमा निर्दोष जीवजन्तु र चराचुरुंगीहरू परेका छन् । पहिले मानिसको घरको बार्दलीमा गुँड बनाउने गौंथलीहरू आजभोलि देखिन छोडेका छन् । घरका प्वालहरूमा बस्ने भँगेरा र रूपी (सारौँ) जस्ता चराहरू आधुनिक घरमा प्वाल नराखिँदा लोप हुँदै गएका छन् । राति जथाभावी बालिने अत्यन्तै उज्याला बिजुलीका बत्तीहरूले रातमा सक्रिय हुने कीराफट्यांग्रा, चराचुरुंगी र कुकुर-बिरालाको दैनिकीलाई असर गरेको छ । परिणाम स्वरूप आजभोलि रंगीचंगी पुतली, जुनकिरी, चिप्लेकीरा र भ्यागुताहरू देखिन छाडेका छन्, जसले हाम्रो इकोसिस्टम (पारिस्थितिक प्रणाली)लाई नराम्रो असर गरिरहेको छ ।
यहाँनेर एउटा कुरा स्पष्ट पार्नु आवश्यक छ । बाँदर र छाडा कुकुरहरूको आतंक र दयनीय अवस्था देख्दा कतिपयलाई यिनीहरूलाई विदेशमा अनुसन्धानका लागि बेचेर पैसा कमाउन सकिन्छ भन्ने लाग्नसक्छ । तर, जनावरहरूलाई प्रयोगशालाको परीक्षणका लागि बेच्नु अन्तर्राष्ट्रिय पशु अधिकार र नैतिक दृष्टिकोणले अत्यन्तै गलत र अमानवीय कार्य हो । यो समस्याको साँचो र वैज्ञानिक समाधान भनेको उचित नीति बनाएर छाडा कुकुर र बाँदरहरूको प्रभावकारी रूपमा बन्ध्याकरण गर्नु, उनीहरूका लागि व्यवस्थित बासस्थान वा आश्रयस्थलको निर्माण गर्नु हो । ध्वनि प्रदूषण अर्को ठूलो समस्या बनेको छ । बिहानैदेखि ‘खाली सिसी पुराना कागज’ भन्दै ठूलो आवाजमा स्पिकर बजाउँदै हिँड्ने कबाडी संकलन गर्नेहरूले टोलवासीलाई निकै हैरान पारेका छन् । यसलाई व्यवस्थित गर्न हप्ताको एक वा दुई दिनमात्रै र निश्चित समय तोकेर आउने व्यवस्था गर्नुपर्छ । बस्तीको बीचमा रहेका विद्यालयहरूले बिहानदेखि रातिसम्म ठूला स्पिकर बजाउने र बिजुलीको घण्टी पटकपटक बजाउँदा अबोध बालबालिका र स्थानीयलाई मानसिक तनाव हुन्छ ।
यसको सट्टा पुरानो शैलीको पित्तलको घण्टीमा काठको हथौडाले बजाउँदा त्यसको आवाज सुन्दर सुनिन्छ र ध्वनि प्रदूषण पनि हुँदैन । यस्तै, जथाभावी फोहोर जलाउने बानीले मानव स्वास्थ्यमा गम्भीर असर पारेको छ । करेसाबारी वा सडकको छेउमा प्लास्टिक, कार्डबोर्ड र अन्य फोहोरहरू जलाउँदा निस्कने विषाक्त धुवाँले क्यान्सर जस्ता भयानक रोग निम्त्याउँछ । प्लास्टिकका झोला, थाल र कपको अत्यधिक प्रयोगलाई निरुत्साहित गर्नुपर्छ । मठमन्दिर र सार्वजनिक स्थलहरूमा प्राकृतिक फूलको सट्टा प्लास्टिकका मालाहरू महिनौंसम्म झुन्ड्याएर राख्दा वातावरणलाई कुरूप र प्रदूषितमात्र बनाइरहेको हुन्छ ।
यातायात व्यवस्थापन र सडक अनुशासन
सडक र यातायातको अवस्थाले शहरको सभ्यता झल्काउँछ । निर्माणका नाममा बाटोमै गिट्टी, बालुवा र रड जस्ता सामग्री महिनौंसम्म थुपारेर छाड्ने प्रवृत्तिले दुर्घटना बढाएको छ र शहरलाई धूलाम्य बनाएको छ । सडकमा जथाभावी चुरोट र खैनी खाएर ठुटा फाल्ने, पानी र चिसो पेय पदार्थका बोतलहरू जताततै फ्याँक्ने बानीलाई जरिवानासहित कडा नियमन गर्नुपर्छ । हाम्रा सडकहरूमा चौबीसै घण्टा मोटरसाइकल र स्कुटरहरू मानिस हिँड्ने पेटीमै पार्किङ गरिन्छन् ।
त्यतिमात्र होइन, स्टार्ट गरेर लामो समय धुवाँ फाल्ने गर्नाले शहरवासीको श्वासप्रश्वासमा गम्भीर असर परेको छ । ट्रक, टिपर, पानी बोक्ने ट्यांकर र बालुवा बोक्ने गाडीहरूलाई शहरभित्र गुड्नका लागि निश्चित समयतालिकाको व्यवस्था गर्नुपर्छ । सार्वजनिक बसहरूमा सहचालकले पाँच रुपैयाँभन्दा कमको खुद्रा फिर्ता नगर्ने परिपाटीले गर्दा दैनिक रूपमा लाखौं यात्रु ठगिएका छन् । सिट क्षमताभन्दा धेरै यात्रु कोच्ने, धुवाँको मुस्लो फाल्ने पुराना गाडीहरू चलाउने कामलाई ट्राफिक प्रहरीले कडाइका साथ रोक्नुपर्छ ।
ट्राफिक बत्तीको उचित व्यवस्थापन नहुँदा र जथाभावी बाटो काट्ने (जेब्रा क्रसिङको दुरुपयोग) गर्दा पैदल यात्रु र चालक दुवैलाई सास्ती भएको छ । ट्राफिक प्रहरीले पनि बत्ती नभएको ठाउँमा एकतर्फी सवारीलाई मात्र लामो समयसम्म रोकेर राख्ने काम गर्नु हुँदैन । यस्तै, सडकमा आतंग मच्चाउने गरी नागबेली पारेर तीव्र गतिमा मोटरसाइकल चलाउनेहरूलाई कडा सजाय दिनुपर्छ । दुईपांग्रे सवारीको पछाडि बस्ने यात्रुले बाटोमा हिँड्दा आँखै नझिम्क्याई मोबाइल चलाइरहने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाएको छ ।
समाजमा को मानिस सही छ, को गलत छ भन्ने कुरा उसको काम र व्यवहारको आधारमा मूल्यांकन गर्ने परिपाटीको विकास गरौं । अन्धभक्त भएर कसैलाई भगवान् बनाउने र कसैलाई दानव देख्ने प्रवृत्तिले समाजलाई सही बाटोमा लाँदैन ।
बालविकास र व्यावहारिक शिक्षा
हाम्रो शिक्षा प्रणाली र बालबालिकाको हुर्काइमा गम्भीर सुधारको खाँचो छ । कम्तीमा पाँच वर्ष नपुगेका कलिला बालबालिकालाई रुवाउँदै विद्यालय पठाउने र उनीहरूको पिठ्युँमा किताब र कापीको गह्रौं भारी बोकाउने काम पूर्णरूपमा बन्द हुनुपर्छ । यसले उनीहरूको शारीरिक र मानसिक विकासमा बाधा पुर्याउँछ । सानै उमेरमा अंग्र्रेजी भाषामात्र लाद्नुभन्दा, उमेर अनुसार नैतिक शिक्षा र संस्कृत जस्ता हाम्रा मौलिक भाषा सिकाउनु आवश्यक छ । विद्यालयमा विद्यार्थीलाई धेरै घोकाउने र छिटोछिटो परीक्षा लिने कामले मात्र उनीहरू ज्ञानी हुँदैनन् । उनीहरूलाई धेरै गृहकार्य दिएर घरमै बाँधेर राख्नुभन्दा, सोच्ने क्षमता बढाउने खेलकुद, मनोरञ्जन र प्रकृतिसँग जोडिएर सिक्ने अवसर दिनुपर्छ ।
अध्ययनलाई दैनिक जीवन र व्यवहारसँग जोड्न सके मात्र शिक्षा प्रभावकारी हुन्छ । आजकल सामाजिक सञ्जालको कुलतले समाजलाई नराम्ररी गाँजेको छ । साना बालबालिकादेखि वृद्धवृद्धासम्म घण्टौं मोबाइलमा झुन्डिने गर्नाले धेरैको सोच्ने क्षमता घटेको छ र कार्यदक्षतामा ह्रास आएको छ । तथ्यहीन र भ्रामक कुराहरूले समाजलाई दूषित बनाइरहेका छन् । विश्वका धेरै विकसित देशहरूमा १६ वर्ष नपुगेका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढै राख्ने कानुन ल्याइएको छ । हामीले समयमै यस्तो नियम नबनाउने हो भने हाम्रा बालबालिकामा मानसिक रोग र नशाको समस्या विकराल बन्ने निश्चित छ ।
सामाजिक मर्यादा र संस्कृतिको संरक्षण
हाम्रो समाजमा पछिल्लो समय देखावटी र तडकभडकको संस्कृति मौलाएको छ । जन्मदिनमा आफ्नो मौलिक परम्परा अनुसार अष्टचिरञ्जीवीको पूजा गर्ने र बत्ती बाल्ने चलनलाई छोडेर, विदेशीको देखासिकी गर्दै बत्ती निभाएर केक काट्ने चलनलाई राम्रो मान्न सकिँदैन । विवाह, व्रतबन्ध जस्ता पवित्र संस्कारलाई महँगा पार्टी प्यालेसमा लगेर भड्किलो बनाउँदा समाजमा हुने र नहुनेबीचको खाडल बढेको छ । हामीले सादा जीवन र उच्च विचारको सिद्धान्त अपनाउँदै तडकभडकलाई निरुत्साहित गर्नुपर्छ । नयाँ र भड्किला पश्चिमा पहिरनभन्दा हाम्रै मौलिक सारी, दौरासुरुवाल जस्ता लुगाफाटाले सौन्दर्य र पहिचानलाई राम्रोसँग झल्काउँछन् ।
सार्वजनिकस्थलहरूको मर्यादा पनि घट्दै गएको छ । शान्ति र आध्यात्मिक चिन्तनका लागि गइने मठमन्दिर, प्रकृतिको आनन्द लिने पार्कहरूमा जथाभावी फोटो खिच्ने, टिकटक बनाउने मानिसहरूको भिडले गर्दा त्यहाँ जाने वास्तविक दर्शनार्थीहरूलाई दिक्क लाग्ने वातावरण बनेको छ । यसलाई नियमन गर्नुपर्छ । त्यस्तै, बाटोघाटो र मठमन्दिरको नजिकै यात्रुहरूले देख्ने गरी पशुपक्षीको खुला रूपमा वध गर्ने कामलाई रोक्नुपर्छ । यसले बालबालिका र आममानिसको मस्तिष्कमा नकारात्मक र हिंस्रक प्रभाव पार्छ । बाटोमा र मन्दिर वरपर बस्ने माग्नेहरूको अस्वाभाविक गतिविधिले पर्यटक र सर्वसाधारणलाई अप्ठ्यारो पारेको छ, जसको उचित व्यवस्थापन राज्यले गर्नुपर्छ ।
अन्त्यमा, समाजमा को मानिस सही छ, को गलत छ उसको काम र व्यवहारको आधारमा मूल्यांकन गर्ने परिपाटीको विकास गरौं । अन्धभक्त भएर कसैलाई भगवान् बनाउने र कसैलाई दानव देख्ने प्रवृत्तिले समाजलाई सही बाटोमा लाँदैन । माथि उल्लेख गरिएका कुरा सुन्दा सामान्य लागे पनि, यिनलाई हाम्रो दैनिक जीवन र सरकारी नीतिमा कडाइका साथ लागू गर्न सकेमा मात्र हाम्रो काठमाडौंलगायत शहरहरू साँचो अर्थमा सुन्दर, सभ्य र बस्न लायक बन्नेछन् । परिवर्तनको सुरुवात आफैंबाट गरौं ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र