तमिल सिनेमाका 'मास हिरो' थालापति विजय अब पर्दामा मात्र सीमित रहेनन्। भर्खरै सम्पन्न विधानसभा निर्वाचनको नतिजासँगै उनी दक्षिण भारतीय राज्य तमिलनाडुको सत्ता बागडोर सम्हाल्ने तयारीमा छन्। उनको पार्टी 'तमिलगा वेट्री कजगम' (TVK) ले पहिलो गाँसमै ढुंगा नलाग्ने गरी सानदार प्रदर्शन गर्दै १०८ सिट जितेपछि विजय भारतीय राजनीतिका नयाँ 'पावर प्लेयर' बनेका छन्।
तर, उनको यो राजनीतिक यात्रासँगै अहिले विश्वभर चर्चाको विषय बनेको छ— उनको अथाह सम्पत्ति र विलासी जीवनशैली। निर्वाचन आयोगमा बुझाइएको आधिकारिक विवरण अनुसार विजयको आर्थिक हैसियत कुनै कर्पोरेट टाइकुनभन्दा कम छैन।
६२४ करोडको कुल सम्पत्ति: कहाँ कति?
निर्वाचनका बेला बुझाइएको हलफनामा अनुसार विजयको कुल सम्पत्ति करिब ६२४ करोड भारतीय रूपैयाँ (भारू) रहेको छ। यसलाई दुई भागमा वर्गीकरण गरिएको छ:
चल सम्पत्ति (४०४ करोड भारू): यसमा बैंक मौज्दात, सेयर लगानी र विलासी सवारी साधन पर्छन्।
अचल सम्पत्ति (२२० करोड भारू): यसमा उनको स्वामित्वमा रहेका बंगला, व्यावसायिक भवन र जग्गाजमिन समावेश छन्।
बैंकमै अर्बौंको निक्षेप र महँगा गाडीको सोख
भारतीय सञ्चारमाध्यम 'द इकोनोमिक टाइम्स' का अनुसार विजयको बचत गर्ने शैली निकै आक्रामक देखिन्छ। उनको इन्डियन ओभरसिस बैंकमा मात्रै २१३ करोड रूपैयाँ नगद मौज्दात छ। यसबाहेक एक्सिस, एचडिएफसी र एसबिआई जस्ता बैंकहरूमा पनि उनको करोडौंको मुद्दती खाता (FD) रहेको छ।
फिल्ममा एक्सन दृश्यका लागि चिनिने विजय वास्तविक जीवनमा 'कार क्रेजी' हुन्। उनको ग्यारेजमा संसारका महँगा ब्रान्डका सवारी साधनहरूको लस्कर छ:
- बिएमडब्लू ५३० र बिएमडब्लू आई७
- टोयोटा लेक्सस ३५० र टोयोटा वेलफायर
- रेन्ज रोभर इभोक र अडी ए८ एल
- फोर्ड मस्टाङ (जुन युवाहरू माझ निकै लोकप्रिय छ)
- रियल स्टेट: ७० करोडको समुद्री बंगला र कोडाइकनालको फार्महाउस
विजयको अचल सम्पत्ति पनि उत्तिकै लोभलाग्दो छ। चेन्नईको प्रतिष्ठित क्षेत्र नीलंकरै स्थित समुद्री किनारमा उनको एक भव्य बंगला छ, जसको वर्तमान बजार मूल्य ७० देखि ८० करोड भारू आँकलन गरिएको छ। हलिउड स्टाइलमा बनाइएको यो बंगला चेन्नईको प्रमुख पर्यटकीय आकर्षण समेत मानिन्छ। साथै, उनले कोडाइकनाल जस्तो रमणीय स्थानमा कृषि भूमिसमेत जोडेका छन्।
सुनचाँदी र वार्षिक आम्दानी
विवरण अनुसार उनीसँग ८८३ ग्राम सुन र चाँदीका गरगहना छन्, जसको मूल्य १.२० करोड भारू भन्दा बढी छ। अचम्मको कुरा त के छ भने, यति विशाल साम्राज्यका मालिक विजयको नाममा कुनै पनि वित्तीय ऋण (Loan) छैन। उनले आर्थिक वर्ष २०२४-२५ मा मात्रै १८४.५३ करोड भारू आम्दानी गरेको घोषणा गरेका छन्।
शून्यबाट शिखरसम्म: फिल्मी करिअर र राजनीतिक उदय
सन् १९७४ मा निर्देशक एसए चन्द्रशेखरको छोराका रूपमा जन्मिएका विजयले बाल कलाकारबाट करिअर सुरु गरेका थिए। 'गिल्ली', 'मर्सल', 'बिगिल' र 'लियो' जस्ता ब्लकबस्टर फिल्म दिएर उनी तमिल सिनेमाको सबैभन्दा महँगो पारिश्रमिक लिने अभिनेता बने।
राजनीतिक मोड:
- फेब्रुअरी २०२४: 'तमिलगा वेट्री कजगम' (TVK) को घोषणा।
- सेप्टेम्बर २०२४: निर्वाचन आयोगमा औपचारिक दर्ता।
निर्वाचन रणनीति: उनले डिएमके (DMK) लाई 'राजनीतिक' र भाजपा (BJP) लाई 'वैचारिक' शत्रु घोषणा गर्दै 'सिट्ठी' (Whistle) लाई चुनावी चिन्ह बनाएर एक्लै लडे। २३४ मध्ये १०८ सिट जितेर उनी अब कंग्रेस र साना दलको समर्थनमा मुख्यमन्त्री बन्ने पक्का भएको छ।
सिनेमाको पर्दामा गरिबको मसिहा बनेर देखिने थालापति विजय अब वास्तविक जीवनमा तमिलनाडुको जनताको सेवा गर्न कुन रूपमा प्रस्तुत हुनेछन्, त्यो भने हेर्न बाँकी छ। तर, उनको यो 'पावरफुल' इन्ट्रीले भारतीय राजनीतिमा नयाँ तरंग भने पक्कै पैदा गरेको छ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र