बागलुङ । धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा विशेषज्ञ सेवा थपिँदै गएपछि बिरामीको चाप बढ्दै गएको छ । अस्पतालको स्तरोन्नतिसँगै सेवा थप हुँदै गएपछि अहिले दैनिक सयौँ बिरामीले उपचार गराउन थालेका हुन् । अञ्चल अस्पताललाई गण्डकी प्रदेश सरकारले स्तरवृद्धि गरि प्रादेशिक अस्पताल बनाएपछि बिरामीको आकर्षणसमेत बढेको हो ।
अस्पतालले चौबिसै घण्टा आकस्मिकसहित साना तथा ठूला शल्यक्रिया र विशेषज्ञ सेवालाई प्रभावकारी बनाउन थालेको छ । दुई वर्ष अगाडिसम्म यहाँका स्थानिय सामान्य शल्यक्रियाका लागि पोखरा पुग्ने गर्थे । तर अहिले जटिल किसिमका शल्यक्रिया गर्न पनि बिरामी धौलागिरी अस्पतालमै आउने गरेका छन् । चालु आर्थिक वर्षको हालसम्मको अवस्था हेर्दा शल्यक्रिया गर्ने बिरामीको संख्या ठूलो छ ।
गत साउन महिनादेखि हालसम्म यस अस्पतालमा एक हजार ४३ जनाको शल्यक्रिया गरिएको अस्पतालका मेडिकल रेकर्डर नवराज पौडेलले जानकारी दिनुभयो । १०० जनाको हाडजोर्नी सम्बन्धी मेजर अपरेशन, १९ जना आङ खसेका महिलालाको शल्यक्रिया, १८ जनाको पित्तथैलीको शल्यक्रिया गरेको पौडेलले बताउनुभयो ।
एपेडिक्सका भएका ३५ बिरामी, हर्निया भएका ३५ जना र पाँच जनाको हाइड्रोसिलको शल्यक्रिया गरेको उहाँको भनाइ छ । पौडेलकाअनुसार मिनिल्याप सम्बन्धी २५ जना, भ्यासेक्टोमी २, १७९ जना गर्भवती महिला, इक्टोपिक सम्बन्धी तीन जनाको शल्यक्रिया भएको छ ।
त्यस्तै २०९ जनाको जनरल सर्जरी, हाडजोर्नी सम्बन्धी मध्यम तथा साना अपरेशन १२० र ३९७ वटा विभिन्न रोगका जनरल सर्जरी गरेको उहाँले बताउनुभयो । शल्यक्रिया गरेको मध्ये १०३ जना बिरामीको दुरबिन प्रबिधीबाट शल्यक्रिया गरिएको पौडेलले बताउनुभयो ।
पछिल्लो समय अस्पतालप्रति बिरामीको विश्वास बढ्दै गएपछि चाप बढेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. किरण तिवारीले बताउनुभयो । विगतको तुलनामा अहिले अस्पतालमा थुप्रै रोगहरुको विशेषज्ञ सेवा दिन थालेको भन्दै बिरामीसमेत खुसी हुने गरेको उहाँको भनाइ छ ।
अस्पतालमा बिदाको दिन ओपीडी सेवा बन्द गरे पनि आकस्मिक कक्षबाट सेवा दिइरहेको डा. तिवारी बताउनुहुन्छ । अस्पतालमा दैनिक ३०० देखि ५०० को हाराहारीमा बिरामी आउने गरेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो - “अस्पतालमा जनशक्ति र उपकरण सबै बिस्तारै व्यवस्थापन हुँदैछन्, यद्यपी हामीहरुले बिरामीलाई यहाँ भएको स्रोत र साधानको भरपुर प्रयोग गरेर सेवा दिइरहेका छौँ, अप्रेशनका केश हुन्, या अरु केश डाक्टर कर्मचारीको सक्रियताले बिरामीलाई सन्तुष्ट हुने गरि सेवा दिएका छौँ, पछिल्लो समय अस्पतालमा बिरामीको चाप निकै बढेको छ ।”
अस्पतालमा हाल २४ विशेषज्ञ चिकित्सकसहित १२ मेडिकल अधिकृतको दरबन्दी छ । प्रसूति, हाडजोर्नी, बालरोग, फिजियो थेरापीजस्ता विशेषज्ञ सेवा पनि नियमित सञ्चालनमा छन् । अस्पतालबाट वर्षमा १ लाख ५० हजार जनाभन्दा बढीले उपचार सेवा पाएका छन् । तीमध्ये स्वास्थ्य बिमाअन्तर्गत वर्षमा ७० हजार बढीले सेवा लिएको पाइन्छ ।
पछिल्लो ९ महिनामा ८० हजारभन्दा बढी बिरामीले सेवा लिएको अस्पताल प्रशासनले जनाएको छ । बागलुङमै विशेषज्ञ सेवा पाउन थालेपछि पोखरा, काठमाडौंलगायतका ठूला सहरमा उपचार गर्न जाने बिरामी कम भएको स्थानीय उमेश पौडेलले बताउनुभयो । पहिले सामान्य उपचारका लागि पोखरा पुग्ने बिरामी अहिले शल्यक्रियाका लागि धौलागिरी अस्पतालमा जाने गरेको उहाँको भनाइ छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र