काठमाडौँ । विभिन्न विश्वविद्यालयका उपकुलपति छनोटका लागि जारी गरिएको ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ ले आवेदन दिने उम्मेदवारका लागि नयाँ मापदण्ड तय गरेको छ।
कार्यविधिअनुसार उपकुलपति पदका लागि आवेदन दिने व्यक्तिले कुनै राजनीतिक दलको सदस्य नरहेको तथा कुनै पनि लेख वा प्रकाशनमा बौद्धिक चोरी (प्लेगारिज्म) नगरेको स्वघोषणापत्र अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।
उपकुलपति छनोट तथा सिफारिस समितिले विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि आज १० दिनभित्र आवेदन दिन इच्छुक तथा योग्य उम्मेदवारलाई आह्वान गरेको हो।
कार्यविधिअनुसार आवेदक कम्तीमा ४० वर्ष उमेर पुगेको, मान्यताप्राप्त विश्वविद्यालयबाट विद्यावारिधि उपाधि हासिल गरेको तथा अनुसन्धान र प्राज्ञिक क्षेत्रमा कम्तीमा १० वर्ष अनुभव भएको हुनुपर्नेछ। साथै उच्च नैतिक चरित्र, शैक्षिक नेतृत्व क्षमता र व्यवस्थापन सीप भएको हुनुपर्ने उल्लेख गरिएको छ।
आवेदक नेपाली नागरिक हुनुपर्ने, सार्वजनिक पदमा नियुक्त हुन अयोग्य नरहेको तथा सम्बन्धित विश्वविद्यालयसँग स्वार्थ नबाझिएको स्वघोषणापत्रसमेत पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
लुम्बिनी बौद्ध विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयका उपकुलपतिका लागि भने सम्बन्धित विषयमै विद्यावारिधि गरेको हुनुपर्ने विशेष प्रावधान राखिएको छ।
कार्यविधिअनुसार आवेदकले सोचपत्र (भिजन पेपर) र रणनीतिक कार्ययोजना पनि पेस गर्नुपर्नेछ। प्राप्त आवेदनमध्ये १० जनाको अल्पसूची तयार गरिनेछ भने सोचपत्र र कार्ययोजनाको विज्ञबाट मूल्याङ्कन गरिने व्यवस्था छ। त्यसपछि प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा १०० पूर्णाङ्कमा मूल्याङ्कन गरी सिफारिस प्रक्रिया अघि बढाइनेछ।
एउटा उम्मेदवारले बढीमा दुई विश्वविद्यालयको उपकुलपति पदमा मात्र आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र