नेपाली संगीत क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय नाम हो-राजीव शाह । काठमाडौंको डिल्लीबजारमा जन्मिनुभएका शाहले तबला वादनदेखि रेकर्डिङ, एरेञ्ज, मिक्सिङ र माष्टरिङसम्मको यात्रामा हजारौं गीतमा आफ्नो सिर्जनात्मक स्पर्श दिनुभएको छ । भारतको मुम्बईमा संगीत र प्रविधि सिकेर फर्किनुभएका उहाँले नेपाली संगीत उद्योगलाई आधुनिक प्रविधिसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ । संगीत केवल कलामात्र होइन, प्रविधि र संवेदनाको संयोजन पनि हो भन्ने धारणा राख्नुहुने रेकर्डिष्ट, एरेञ्जर तथा मिक्सिङ/माष्टरिङ इन्जिनियर राजीव शाहसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अशःं-
अहिले तपाईंको दैनिकी कस्तो छ ?
म व्यस्त नै छु । मुख्य रूपमा एरेञ्ज, मिक्सिङ, माष्टरिङ र गीत रेकर्डिङमै केन्द्रित छु । नयाँ-पुराना दुवै पुस्ताका कलाकारसँग काम गरिरहेको छु । हरेक गीत फरक हुन्छ, त्यसैले काम गर्दा अझै नयाँ कुरा सिकिरहेको अनुभव हुन्छ । संगीत भनेको कहिल्यै नसकिने सिकाइ हो ।
संगीततर्फ कसरी आकर्षित हुनुभयो ?
मेरो जन्म काठमाडौंको डिल्लीबजारमा भएको हो । म सानैदेखि संगीतकै वातावरणमा हुर्किए । घरपरिवार नै गीतसंगीतसँग जोडिएको थियो । मेरो हजुरबा र आमा पनि संगीतप्रेमी हुनुहुन्थ्यो । घरमा सधैं संगीतका कुरा हुने, बाजागाजा बज्ने वातावरण थियो । त्यसैले सानैदेखि संगीतप्रति आकर्षण बढ्दै गयो । मलाई अहिले पनि सम्झना छ, बाल्यकालमै तबलाको धुन सुन्दा म निकै रमाउँथेँ । होमनाथसँग सानै उमेरमा तबला सिक्न थालेँ । त्यहीँबाट संगीत यात्राको औपचारिक सुरुवात भयो ।
म सधैं गीतको भावना बुझ्न खोज्छु । किनभने प्रविधिमात्र प्रयोग गरेर राम्रो संगीत बन्न सक्दैन । गीतले के भन्न खोजेको छ, त्यसको भाव के हो भन्ने कुरा बुझ्नुपर्छ । यदि लोकगीत हो भने त्यसको मौलिकता जोगाउनुपर्छ । आधुनिक गीत हो भने त्यस अनुसारको ध्वनि चाहिन्छ । अहिले दर्शकको सुन्ने शैली पनि बदलिएको छ । त्यसैले प्रविधि र संवेदनाबीच सन्तुलन मिलाउनु आवश्यक हुन्छ ।
तबलाबाट सुरु भएको यात्रा रेकर्डिङ र एरेञ्जिङसम्म कसरी पुग्यो ?
सुरुमा मेरो रुचि वादनतर्फ बढी थियो । तबला सिक्दै जाँदा संगीतको गहिराइ बुझ्न थालेँ । पछि विस्तारै प्रविधिप्रति पनि चासो बढ्यो । एउटा गीत राम्रो बन्न केवल गायकको स्वरमात्र पर्याप्त हुँदैन भन्ने कुरा मैले बुझें । त्यसमा ध्वनि संयोजन, एरेञ्ज, रेकर्डिङ र मिक्सिङको पनि उत्तिकै ठूलो भूमिका हुन्छ । म मुम्बईमा तवला सिक्न गए । त्यही मैले रेकर्डिङ प्रविधि सिक्ने निर्णय गरेँ । त्यो समय नेपालमा यस्ता प्रविधि धेरै विकसित भइसकेका थिएनन् ।
मुम्बई बसाइँ कस्तो रह्यो ?
मुम्बई मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण अध्यायमध्ये एक हो । त्यहाँ मैले तबला पनि सिकेँ र रेकर्डिङ प्रविधि पनि अध्ययन गरेँ । मुम्बईमा सात वर्षजति बसेर काम गरेँ । त्यो समय विभिन्न सात-आठवटा स्टुडियोमा काम गर्ने अवसर पाए । त्यहाँ काम गर्दा मैले अन्तर्राष्ट्रियस्तरको कार्यशैली, अनुशासन र प्रविधि नजिकबाट बुझ्ने मौका पाए । स्टुडियोमा कसरी ध्वनि रेकर्ड हुन्छ, कसरी गीतलाई उत्कृष्ट बनाइन्छ भन्ने कुरा त्यहीँ सिकेँ । त्यो अनुभवले मलाई धेरै परिपक्व बनायो । संगीत केवल कलामात्र होइन, प्रविधि र संवेदनाको संयोजन पनि हो भन्ने कुरा मैले त्यहीँबाट गहिरोसँग बुझेँ ।
नेपाल फर्किएपछि यात्रा कसरी अघि बढ्यो ?
नेपाल फर्किएपछि मैले विभिन्न स्टुडियोमा काम गर्न थालेँ । विशेषगरी म्युजिक नेपालसँग काम गर्ने अवसरले मेरो करिअरलाई अझ विस्तार गर्यो । त्यतिबेला नेपाली संगीत उद्योग विस्तार हुँदै थियो । नयाँ गायक, संगीतकार र एल्बमहरू आउने क्रम बढिरहेको थियो । त्यस समयमा मैले धेरै कलाकारसँग काम गरेँ । हजारौं गीतमा एरेञ्ज, रेकर्डिङ, मिक्सिङ र माष्टरिङ गर्ने अवसर पाए । विभिन्न शैलीका गीतमा काम गर्दा अनुभव पनि बढ्दै गयो ।
तपाईंको दृष्टिमा एउटा गीत राम्रो बन्न सबैभन्दा महत्त्वपूर्ण कुरा के हो ?
गीत राम्रो बन्न धेरै पक्षको भूमिका हुन्छ । गीतकारले राम्रो शब्द लेख्नुपर्छ, संगीतकारले मिठो धुन बनाउनुपर्छ र गायकले भावना अनुसार गाउनुपर्छ । तर, त्यसलाई अन्तिम रूपमा दर्शकसम्म प्रभावकारी ढंगले पुर्याउने जिम्मा हाम्रो हुन्छ । रेकर्डिष्ट, एरेञ्जर र मिक्सिङ इन्जिनियरको काम भनेको गीतलाई सुन्ने योग्यमात्र होइन, मन छुने बनाउनु हो । कुन बाजा कहाँ राख्ने, स्वरलाई कति खुलाउने, कुन ध्वनिलाई अगाडि ल्याउने भन्ने कुराले गीतको स्तर निर्धारण गर्छ । कहिलेकाहीँ एउटा सानो मिक्सिङ परिवर्तनले गीतको सम्पूर्ण अनुभूति नै बदलिन्छ ।
तपाईंको काममा सबैभन्दा बढी ध्यान दिने कुरा के हो जस्तो लाग्छ ?
म सधैं गीतको भावना बुझ्न खोज्छु । किनभने प्रविधिमात्र प्रयोग गरेर राम्रो संगीत बन्न सक्दैन । गीतले के भन्न खोजेको छ, त्यसको भाव के हो भन्ने कुरा बुझ्नुपर्छ । यदि लोकगीत हो भने त्यसको मौलिकता जोगाउनुपर्छ । आधुनिक गीत हो भने त्यसअनुसारको ध्वनि चाहिन्छ । अहिले दर्शकको सुन्ने शैली पनि बदलिएको छ । त्यसैले प्रविधि र संवेदनाबीच सन्तुलन मिलाउनु आवश्यक हुन्छ ।
तपाईंले एनालगदेखि डिजिटल र अहिले एआईसम्मको यात्रा देख्नुभएको छ । यो परिवर्तनलाई कसरी हेर्नुहुन्छ ?
मैले संगीत उद्योगको धेरै ठूलो परिवर्तन देखेको छु । सुरुमा सबै काम एनालग सिस्टममा हुन्थ्यो । रेकर्डिङ निकै कठिन र समय लाग्ने प्रक्रिया थियो । एउटा गल्ती हुँदा फेरि सुरुबाट गर्नुपर्ने अवस्था हुन्थ्यो । पछि डिजिटल प्रविधि आयो । त्यसले कामलाई सजिलो र व्यवस्थित बनायो । अहिले त एआईको जमाना आइसकेको छ । संगीत निर्माणमा कृत्रिम बुद्धिमत्ताको प्रयोग बढ्दै गएको छ । मलाई लाग्छ, समयानुसार चल्न सकियो भनेमात्र दिगो हुन सकिन्छ । नयाँ प्रविधिलाई स्वीकार गर्नुपर्छ । तर, प्रविधिसँगै संगीतको आत्मा हराउन दिनु हुँदैन ।
अहिलेको नेपाली संगीत उद्योगलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
अहिले नेपाली संगीत उद्योग धेरै फराकिलो भएको छ । नयाँ पुस्ता निकै प्रतिभाशाली छ । प्रविधिमा पहुँच बढेको छ । अहिले घरमै बसेर राम्रो गुणस्तरको गीत बनाउन सकिन्छ । तर, चुनौती पनि छन् । पहिले जस्तो धैर्य र अभ्यास अहिले कम देखिन्छ । धेरैजसो छिटो चर्चित हुने मानसिकता बढेको छ । संगीत भनेको निरन्तर सिकाइ र साधना हो । यसमा समय दिनुपर्छ भन्ने लाग्छ । अर्कोतर्फ, डिजिटल प्लेटफर्मले अवसर पनि बढाएको छ । अहिले नेपाली गीत विश्वभर पुग्न थालेका छन् । यो सकारात्मक कुरा हो ।
बीचमा केही समय तपाईं संगीत क्षेत्रबाट टाढा रहनुभयो नि ?
हो, बीचमा केही ग्याप भएको थियो । तर, त्यो समय पनि म संगीतसँगै थिए । रेकर्डिङ, एरेञ्जिङ र मिक्सिङ/माष्टरिङ सिकाउने काम गरिरहेको थिए । मलाई नयाँ पुस्तालाई सिकाउन पाउँदा निकै खुशी लाग्छ । आफूले सिकेको कुरा अरूलाई हस्तान्तरण गर्नु पनि एउटा जिम्मेवारी हो भन्ने लाग्छ ।
सफल संगीतकर्मी बन्न के आवश्यक हुन्छ जस्तो छ ?
गीतसंगीतको क्षेत्रमा मात्र होइन कुनै पनि क्षेत्रमा सफल हुन सबैभन्दा पहिले लगाव चाहिन्छ । संगीतलाई केवल व्यवसायको रूपमा मात्र हेर्नु हुँदैन । त्यसमा आत्मा हुनुपर्छ । निरन्तर अभ्यास, धैर्यता र अनुशासन अत्यन्त आवश्यक छन् । अर्को कुरा, समय अनुसार आफूलाई अपडेट गर्नुपर्छ । अहिले प्रविधि धेरै छिटो बदलिरहेको छ । यदि सिक्न छाडियो भनेपछि पर्न सकिन्छ । तर, जति आधुनिक प्रविधि आए पनि संगीतको मूल भावना भने कहिल्यै बदलिँदैन । राम्रो संगीत सधैं मनबाटै जन्मिन्छ ।
अन्त्यमा ?
संगीतलाई सम्मान गर्नुहोस् । यो केवल मनोरञ्जनमात्र होइन, भावना र संस्कृतिको अभिव्यक्ति पनि हो । नयाँ पुस्ताले आधुनिक प्रविधि सिक्नुपर्छ, तर आफ्नो मौलिकता र संस्कृतिलाई पनि जोगाउनुपर्छ । यदि लगन र मिहिनेतका साथ अगाडि बढियो भने नेपाली संगीतको भविष्य अझ उज्यालो छ भन्नेमा म विश्वस्त छु ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र