कलेले थाप्लामा हत्कडीले बजायो । झाँक्रीको थाप्लीबाट रगत बग्नथाल्यो । झन् झाँक्रीकै सुरक्षा भएन उल्टो हारगुहार गर्न बाध्य भयो । ‘मुर्खस्य ठिंगा बल’ सबै सबै नै हाहाकार गर्न लागे । कताको हेर ! हेर ! कताको झारफुक कताको ढ्यांग्रो, बुढो झाँक्री आफैँ थर्थर हुँदै डरले काम्न लाग्यो, यसलाई नबाँधी म त काम गर्न सक्दिन बाजे भनेर बरबर आँसु झार्यो । ल ल झाँक्री ज्ञान गर हामी बाँधिदिन्छौँ भनेर बाजेले हत्कडी लाएको मान्छेलाई हात माथिबाट कम्मरमा फनफनी डोरी कसे र ल यहाँ बस् भनेर झाँक्रीको अगाडि राखिदिए । अनि वरपर बलिया बलिया नातिहरूलाई राखिदिए । बल्लबल्ल झाँक्रीले ढ्यांग्रो ठटाएर ज्ञानगुठी गर्न थाले ।
त्यो पाला बडकर राखे (अबधि तोक्नु) केही हुन्न भएमा मलाई बोलाउनु होइन भने मैले राखेको बडकरको समयपछि मै आउँछु भनेर गए । झाँक्री परिचय–उत्तरी धादिङको घले गाउँमा जन्मिएका तीन पुड्के घलेले सानैमा वनझाँक्रीबाट ज्ञान पाएका धादिङ र गोरखामा नाम कमाएका झाँक्री हुन् तीन पुड्के घले । तीन पुड्के भन्नुको विशेष अर्थ छ । यी झाँक्रीको निधारमाथि एउटा र दुवै कानको माथिल्लो भागमा एक–एकवटा बेलाउती जत्रा टुटिल्को थियो । शायद अबिरो होला ? त्यसैले यीनलाई तीन पुड्के (पिडिल्के) भनिएको रहेछ । हाम्रा भट्ट परिवारमा धादिङ मावली हुने जति सबैले मामा भन्थे । त्यसैले पनि उनी चिरपरिचितको नाताले पनि हामीहरू कहाँ आइरहन्थे । उनको वनझाँक्री ज्ञानको कारण त उनी यसै उपचारका क्रममा महत्त्वका मान्छे थिए ।
नेपाली समाजमा अहिले पनि डिप्रेसनको औषधि खुवाउने कारण खोजेर मनोचेतना शिक्षा नदिने नलिने चलन हुनाले कसैले आत्महत्या गर्यो भने डिप्रेसन थियो मरेछ भनेर बस्ने प्रवृत्ति विद्यमान छ । जसको कारण आत्महत्या गर्नेको संख्या दिनानुदिन बढिरहेको छ । पंक्तिकारको ठोस अनुभव र भोगाइ पनि हो ।
यो सत्यकथा एकजना ६०/६५ वर्ष पहिलेतिर बहुलाएका मानिसको हो । उनी हाम्रै परिवारका सोझासिधा बलिया अनि मृदुभाषी दाइ हुन् । उनलाई घरभित्रकै पारिवारिक कारण माथागरम भइरह्यो । त्यही कारण बारबार उहाँको मनस्थिति खल्बलिइरह्यो । शान्ति र चैन भएन । उनका जीवनीबारे के र कसरी एउटा सोझोसिधा र मैत्रीपूर्ण मान्छेको मन खल्बलिएर पागल बन्नपुग्छ, मानसिक रोगी हुन्छ भन्ने कुरा गहिरो अनुसन्धान गरियो भने एउटा मानवहितको पाटोमा निष्कर्षसहितको थेसिस बन्नपुग्छ । मानसिक रोगको कारण रोकथाम परिणाम पत्तालाग्न सक्छ ? किनकि प्रारम्भमै सचेतना जगाई डिप्रेसनमा जानुअघि नै रोकथाम गर्न सकिन्छ भन्ने निर्क्योल गर्न सकिन्छ । यहाँ के स्मरणीय छ भने लोग्ने भए स्वास्नीलाई र स्वास्नी भए लोग्नेलाई पहिले सोधखोज र अनुसन्धानको घेरामा ल्याएर सुरु गर्नुपर्छ ।
तब रोकथाम र उपचार परिवारबाटै चेतना र मनोचिकित्सा विधिका लागि कारण अनुसन्धान गर्नुपर्छ । कारण लोग्ने वा स्वास्नी हो कि अरू हो ? परिवारभित्रै खोजी गरी पत्तालगाई चेतनामूलक मनोचिकित्सा पद्धति अपनाउनु पर्दछ । डिप्रेसन भएछ औषधि खुवाउने भन्नुपूर्व गहिरो अनुसन्धान र सचेतनाको जरुरी हुन्छ । डिप्रेसन भएछ औषधि खाने खुवाउने भनेर कारण खोजी नै नगर्नु महाभुल हो । जहाँ पूर्वरोकथाम सचेतन हुँदैन त्यहाँ मारनमरन र मृत्युसम्मका कुरा सहजै हुनपुग्छन्, परिवार तहसनहस हुन्छ । तसर्थ डाक्टरी उपचार भनेको दोस्रो चरणको दोस्रो र तेस्रो उपाय हो ।
नेपाली समाजमा अहिले पनि डिप्रेसनको औषधि खुवाउने कारण खोजेर मनोचेतना शिक्षा नदिने नलिने चलन हुनाले कसैले आत्महत्या गर्यो भने डिप्रेसन थियो मरेछ भनेर बस्ने प्रवृत्ति विद्यमान छ । जसको कारण आत्महत्या गर्नेको संख्या दिनानुदिन बढिरहेको छ । पंक्तिकारको ठोस अनुभव र भोगाइ पनि हो । अहिले त यस्तो छ भने त्यतिखेरको समयमा डाक्टर कहाँ पाउनु ? यी दाइको पनि कारण खोज्नुभन्दा ठेड्को खोज्ने, कोच्ने, नेलकडी हतकडी लाउने अलग्याइदिने काम गरे । एउटासँग बेथा छ अर्कोलाई डाइजेपम खुवाउने भने झैँ भएकोले समस्या झन् कचल्टिँदै गयो । पटक-पटक औषधोपचार गरेर निको हुने अनि फेरि परिवारमा परिवर्तन नहुने पुरानै चक्कर चल्ने हुँदा दाजुलाई ब्यथा फर्कने भयो ।
यसरी १६/१७ सालदेखि नै दाजु पारिवारिक पीडाको कारण मानसिक रूपमा कहिले आबेग, कहिले संबेग, कहिले फिरन्ते हुँदै कहिले जुवाडे हुनगए पनि दाजुका पत्याउनै गाह्रो पर्ने तर सत्य घटना केही यहाँ उद्धरण गरिँदैछ । साल यकिन भएन २०२१ सालतिर आफ्नो गाउँबाट खोइ कसरी पुगे धादिङ पुगेछन् । यता बेपत्ता भयो खिर्राको ठेड्को भाँचेर भनिरहेका थिए । शायद उनी झाँक्री खोज्दै गए होलान् भन्ने अनुमान सबैले गरे । धादिङमा कताकता चहारे सल्यानटार हुँदै आरुघाट पारिपट्टिबाट बुढीगण्डकीमा हाम्फालेछन् र तल किनारामा उत्रिए छन् । सारा मान्छेहरू आश्चर्य मानेर वारिपारिबाट हेरिरहेका थिए । हतकडी नेलकडी लगाएको मान्छे त्यत्रो असोजको भेलमा पार भएको देख्दा चकित परेर हेरे ।
यही हल्ला मसेलसम्म पनि आइपुग्यो । खोज्न गए बाटोमा भेटेनन् तर केही दिनपछि मूलबाटोमा बाटोका कसिंगर ढुंगा फाल्दै पन्छाउँदै गरेको देखेर मसेल घरतिर खबर गरेपछि टेकप्रसाद माइला दाइ र अरू दुईजना भएर घर गाउँमा पुर्याए । उनको बानी जहिले नि बाटो सफा गर्दै हिँड्ने गर्थे । बिचलनमा पुग्दा पनि मान्छेले आफ्नो आदत बसिसकेको कामकुराछाड्दो रहेनछ भन्ने यसबाट पनि बुझिन्छ । पछिपछि त उनीकहाँ छन् भनेर खोज्न र पत्ता लाउन सफा गरेको बाटोबाटै थाहा हुनथाल्यो भेटिने भयो ।
यसभन्दापूर्व तीन पुड्के घलेले उपचार गर्नुभन्दा पनि पहिल्यै सानकान्छाबाको घरपछाडिको केराको झ्याङनिर कुटी बनाएर ठकुरी जोगी बसेका थिए । ती चार विषयका आचार्य रहेछन् । साहित्याचार्य, ज्योतिषाचार्य, आयुर्वेदाचार्य, तान्त्रिक ज्ञाता रहेछन् । सानाकान्छाबाका छोरा कृष्णले गुरुमहाराज तपाईंले गरेर हुन्छ भने साइलाको उपचार गरिदिनुहोस् न धर्म हुन्छ भन्दा ए बा ! मैले भनेका चिजहरू जम्मा गर्दिन सक्छौ ? सक्छौ भने म निको पारिदिन्छु । पक्वा औषधि खुवाएर त्यो साइलालाई म निको पारिदिन सक्छु भनेछन् । त्यही कुरा छ भाइ-बाहरू र बुढाबासँग पनि भन्दा हुन्छ भनेपछि औषधि जडिबुटी किनेर खोजेर जम्मा पारी जोगीलाई बुझाएको तेस्रो दिन साइलालाई लानुपर्ने भयो ।
त्यसैले ए ! साइला हिँड भन्दा मानेन, मलाई बोकेर लगे जान्छु नत्र जान्न भनेपछि पालैपालो काँधमा बोकेर लाने भनेर बोक्न थाले । पहिले माइला दाइले बोके नकराइकन चुपचाप पिठिउँमा बस्यो । अब बोक्ने पालो गोथे दाइको आयो । जब पिठिउँमा बोकेको मात्रैथियो पिठिएँमा बसेर दुईटा गोडाले गोथेदाइको पेटमा दुईपट्टिबाट बजार्दै भन्नथाल्यो-बोक गोथे बोक, बोक गोथे बोक । गोथे बलियो छ, यसैले बोक्छ भनेर अत्याएपछि माइला दाइले गालामा एक चट्कन तोरीको फूल देख्ने गरी ठोके ।
चुप लाग कले चुप लाग तेरो बाजेले मार्ला चुपलाग नबोल भनिरा बेला ‘फेरि’ भन्ने बित्तिकै चुप लाग्यो । त्यसपछि ऋषे माइलाले बोकेर जोगी कुटी पुर्याए । मान्छेको जब दिमाग सड्कन्छ तब जड्याहाले रक्सी लाग्दै गएपछि पुराना मन दुःखेका र इबी साधनाका कुरा निकाल्न थालेझैँ यी पागलहरू पनि मनमा वर्षौंदेखि थन्क्याएर राखेको उकेल्न नसकेका कुरा उकेल्न र बैरी साँध्न थाल्दछन् । त्यही कारण यहाँ पनि साँधमा वर्षौं अगाडि झगडा परेको कुरा सम्झेर गोथे दाइलाई त्यसो भनेको भन्ने बुझिन्छ ।
जोगीले हेरेर झारफुक गरे अनि भने ‘बिसेक हुन मन छ कि यत्तिकै छटाइरहने भन् ए ! छौंडा’ मलाई निको बनाइदिनु गुरु महाराज म छटाउँदिन ।’ ल त्यसो भए यहाँ बस् मतिर हेर् अनि मेरा आँखामा तेरा आँखाले हेरिरह अन्त नफर्की बरू असजिलो भए मलाई भन् हुन्छ । हस् भनेर त्यसै गरेपछि आफ्नै अघि बसाए । एक घण्टापछि यो मान्छे निको हुन्छ । औषधिले काम गर्छ भने । जोगीले लेखाएका र परिवारले खरिद गरी ल्याएको जोगीले नै युवाहरूको साथ लिएर पकाएको औषधि सबैले देख्ने गरी यतिका दरले खुवाउनु आज र भोलि म खुवाउँछु पर्सिबाट तपाईंहरूले खुवाउनु यसरी नै मात्रा मिलाएर भनेर जोगी बाबाले औषधि खुवाए । एकछिनपछि के हो निद्रा लाग्यो ? हो गुरु । सुत् उसोभए भनेर त्यहीँ गुन्द्रीमा सुताए ।
एकैछिनमा मस्त निदायो । जोगी बाबाले यसलाई औषधि खाएपछि सुताइदिनु र कसैले पनि नउठाउनु आफैँ निद्रा खुलेर उठेपछि यो भोकाउँछ केही खाने कुरा दिनु कसैले पनि उसका अगाडि बसेर लामो बात नमार्नु ठूलो स्वरले नकराउनु बस् यति कुरा ख्याल राख्नु । पर्सिपल्ट घरमा लिएर गए । निरन्तर एक महिना औषधि खाएपछि सर्लक्कै निको पनि भए तर अलि ढिलोढिलो पाराका र शान्त प्रकृतिका जस्ता भए । त्यसो त पहिला पनि शान्त मसिनो र गफिलो पाराका खेलाँची गरिरहन मनपराउने बलिया मानिस थिए साइल्दाइ ।
सरसरी वाचन गर्न पढ्न र सिलोक कण्ठ गरेर भन्नसक्ने हुनाले साइल्दाइलाई फेरि बेथा फर्किएकाले कटेरामुनि ठेड्कामा बस्दा पनि सिलोक गाउँनुेहुन्थ्यो । उहाँको बा सबैको ठूलोमाइला बा, यता घरको अटालीमा सुत्नुहुन्थ्यो । बा पनि ओच्छ्यानमा सुतेर सिलोक भन्दै जानुहुन्थ्यो । सुरुसुरुमा साइल्दाइ पनि सुरकै पाराले गाउनुहुन्थ्यो । एक दुई फेर बाउछोराको सिलोक दोहोरी चलेपछि साइल्दाइले बिगारी हाल्ने भएकाले, होइन साइला तैंले बिगारिस् नबिगार्न । मैले बिगारेको हो ? तिमीले होइन भनेर सन्किने गरेपछि बा नकराइकन निदाए झैँ गरिरहनु हुन्थ्यो । अनि दाइलाई निद्रा नलाग्ने भएकोले पुराण भन्न थाल्नु हुन्थ्यो । उहाँले पुराण लाउँदा भएका घटनालाई पुराण बनाएर यसरी भन्नु हुन्थ्यो ।
उहिल्यै एउटा गाउँमा जगटे भन्ने साहु थियो रे उसले म र आमा मरेको ठाउँमा सप्ताह लगाइदिनु भनेर ५७ हजारको ढुकुटीमाथि ७ हजार छुट्टै मन्द्रमली नै राखि दिएकाले २०१८ सालमा राती दाँते, भगे, ऋखे र कले मिलेर ५७ हजार बाँड्दा भागमाथि सात हजार पनि दाँते साहुले सप्ताहमै लगाइदिन्छु भनेर लिएकाले त्यही पैसाले सप्ताह लगाउँदा ल्याएको दूध राति–राति उसको भतिजो कले भन्नेलाई दही मथ्न मोही पार्न लगाउँथ्यो रे । बाहिर भजनकीर्तन गर्नेलाई लगेर मोही पनि बाँडिदिन्थ्यो रे । हरे राम ! भनेर भजन गाउँथे, गाउँदागाउँदै सन्किएर बरबराउन थाल्थे ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…