बाँके । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउने अभियान तीव्र रूपमा अघि बढाइएको छ ।
कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले वास्तविक भूमिहीन सुकुमबासीलाई नगरपालिकाले व्यवस्थापन गर्ने तर सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरेर बसोबास गर्ने कार्य स्वीकार्य नहुने बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “वास्तविक भूमिहीन सुकुमबासीको व्यवस्थापन नगरपालिकाले गर्छ, यसै अलपत्र पार्दैनौं। तर सुकुमबासीका नाममा अतिक्रमण गरेर बस्ने कार्यलाई निरन्तरता दिन सकिँदैन।”
नगर विकास समितिको कोहलपुर–३ (ख) अन्तर्गत पर्ने करिब ३६ बिघा क्षेत्रफल, विशेषगरी क्रिकेट मैदान आसपासको जग्गामा ७५१ परिवारले घरटहरा बनाएर बसोबास गर्दै आएको पाइएको छ ।
तीमध्ये अव्यवस्थित बसोबासी ४१६, भूमिहीन दलित १७२ र भूमिहीन सुकुमबासी १६३ रहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले हिजोदेखि डोजर परिचालन गरी अतिक्रमित घरटहरा हटाउने कार्य सुरु गरेको हो । नगर प्रहरी प्रमुख वीरबहादुर थापा का अनुसार हिजो मात्रै ४० वटा घरटहरा हटाइएको छ ।
नगरपालिकाले वैशाख १६ गते १० दिने अल्टिमेटम जारी गरेको थियो । हाल थप ६–७ वटा डोजर परिचालन गरी अभियानलाई तीव्र बनाइएको छ ।
हालसम्म सम्पर्कमा आएका ७३ वास्तविक भूमिहीन सुकुमबासी परिवारलाई होल्डिङ सेन्टरमार्फत अस्थायी बसोबासको व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख आचार्यका अनुसार बस्ती विकासका क्रममा केही व्यक्ति तथा विचौलियाको संलग्नतामा नक्कली कागजात तयार गर्ने, जग्गा किनबेच गर्ने तथा आर्थिक लाभ लिने गतिविधि देखिएको उजुरीसमेत आएको छ ।
यसैबीच, वास्तविक भूमिहीन तथा दलित सुकुमबासीको पहिचान प्रक्रिया पनि अघि बढाइएको छ । यसका लागि अभिलेख व्यवस्थापन समिति गठन गरी घरधुरी अवस्था, बसोबास अवधि, आर्थिक अवस्था तथा अन्य सम्पत्तिको अध्ययन भइरहेको जनाइएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र