बार्सिलोना । पुनर्निर्मित नोउ क्याम्पमा खेलिएको एक सनसनीपूर्ण एल क्लासिको भिडन्तमा बार्सिलोनाले आफ्नो कट्टर प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई पराजित गर्दै २९औँ पटक ला लिगाको उपाधि जितेको छ । घरेलु मैदानमा १८ खेलमा १८औँ जित निकाल्दै बार्सिलोनाले आफ्नो अपराजित साखमात्र जोगाएन, बरु म्यानचेस्टर युनाइटेडबाट ऋणमा आएका मार्कस रासफोर्डको जादुमयी प्रदर्शनको मद्दतले स्पेनको फुटबलमा आफ्नो प्रभुत्व पुनः कायम गरेको छ । यो जितसँगै हान्सी फ्लिकको टोलीले शीर्ष स्थानमा १४ अंकको विशाल अग्रता बनाउँदै लगातार दोस्रोपटक स्पेनिस लिगको ताज पहिरिएको हो ।
खेलको सुरुवातदेखि नै बार्सिलोनाले आक्रामक रणनीति अपनाएको थियो । खेलको नवौं मिनेटमा नै मार्कस रासफोर्डले करिब २५ यार्डको दूरीबाट एक अद्भूत फ्रिकिक प्रहार गर्दै घरेलु दर्शकलाई उत्साहित बनाउनुभयो । उहाँको प्रहारले रियलका गोलकिपर थिबाउट कोर्टोइसको बचाउने प्रयासलाई विफल पार्दै जाली चुमेको थियो । यो गोल रासफोर्डको यस सिजनको १४औँ गोल थियो, जसले उहाँलाई क्याटालान क्लबका लागि एक महत्त्वपूर्ण खम्बाका रूपमा स्थापित गरेको छ । गोल गरेपछि भावुक बन्नुभएका रासफोर्ड र फेरान टोरेस आफ्ना मुख्य प्रशिक्षक हान्सी फ्लिकतर्फ दौडिएका थिए, जसले हालैमात्र आफ्ना पिता गुमाउनुभएको थियो । यो क्षण मैदानमा उपस्थित सबैका लागि निकै मार्मिक बनेको थियो ।
बार्सिलोनाको दबाब यतिमा मात्र सीमित रहेन । १८औँ मिनेटमा डानी ओल्मोको एक उत्कृष्ट फ्लिकलाई सदुपयोग गर्दै म्यानचेस्टर सिटीका पूर्वखेलाडी फेरान टोरेसले उत्कृष्ट फिनिसिङका साथ टोलीको अग्रता दोब्बर बनाउनुभयो । म्याड्रिडको रक्षापंक्ति बार्सिलोनाको तीव्र गतिको पासिङ गेमअगाडि पूर्ण रूपमा निरीह देखिएको थियो । विशेष गरी स्टार स्ट्राइकर किलियन एमबाप्पे मांसपेशीको चोटका कारण अनुपस्थित हुनु रियलका लागि निकै महँगो साबित भयो । दबाबमा रहेका रियलका प्रबन्धक अल्भारो आर्बेलोआले आफ्नो टोलीलाई खेलमा फर्काउन कुनै प्रभावशाली रणनीति बनाउन सक्नुभएन ।
दोस्रो हाफमा रियल म्याड्रिडले केही सुधारिएको प्रदर्शन गर्ने प्रयास गरेको थियो । जुड बेलिंघमले ६३औँ मिनेटमा गोल गर्दै टोलीलाई खेलमा फर्काउने संकेत दिनुभएको थियो तर अफसाइडका कारण उक्त गोललाई मान्यता दिइएन । खेलको उत्तरार्द्धमा तनाव पनि उत्तिकै देखियो । ट्रेन्ट अलेक्ज्याण्डर–अर्नोल्ड र राफिन्हाबीचको घम्साघम्सीले मैदानको तापक्रम बढाएको थियो । रियलको टोलीभित्रको आन्तरिक कलह पनि मैदानमा प्रष्ट झल्किन्थ्यो, जहाँ अरेलियन चौमेनी र फेडेरिको भाल्भर्डेबीचको विवादले टोलीको एकतामा प्रश्न उठाएको थियो । खेलको अन्तिम समयमा रोबर्ट लेवान्डोव्स्कीले गोल गर्दै ३–० को जित सुनिश्चित गरेपछि रंगशालामा च्याम्पियन्स, च्याम्पियन्सको नारा गुञ्जियो ।
यो उपाधि बार्सिलोनाका लागि विशेष छ किनभने उनीहरूले आफ्ना प्रतिद्वन्द्वीविरुद्ध १०६औँ जित दर्ता गर्दै कीर्तिमानी रियल म्याड्रिडभन्दा केवल सात उपाधि पछाडि रहेका छन् । मार्कस रासफोर्डको भविष्यलाई लिएर अझै पनि अन्योल कायमै छ, किनकि बार्सिलोनाले उहाँलाई स्थायी रूपमा किन्ने २८ मिलियन पाउण्डको विकल्प प्रयोग गर्ने वा नगर्ने भन्ने निर्णय लिन बाँकी छ । यद्यपि, रासफोर्डले स्पेनिस फुटबलमा आफ्नो पहिलो सिजनमै लिग पदक जितेर आफूलाई प्रमाणित गरिसक्नुभएको छ । यो हारले रियल म्याड्रिडका लागि भने ठूलो संकट निम्त्याएको छ, जहाँ टोलीको पुनर्संरचना र प्रशिक्षक आर्बेलोआको भविष्यमाथि गम्भीर प्रश्नचिह्न खडा भएको छ । एजेन्सी







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र