रायपुर । इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफ दौडबाट मुम्बई इण्डियन्स औपचारिक रूपमा बाहिरिएको छ । रायपुरस्थित शहीद वीरनारायण सिंह स्टेडियममा रोयल च्यालेन्जर्स बेंगलुरुसँग पराजित भएसँगै मुम्बई प्लेअफ दौडबाट बाहिरिएको हो । टस जितेर पहिले बलिङ रोजेको बेंगलुरुले मुम्बईलाई २० ओभरमा ७ विकेट गुमाउँदै १६६ रनमा रोकेको थियो । १६७ रनको लक्ष्य पछ्याएको बेंगलुरुले अन्तिम ओभरको अन्तिम बलमा ८ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । अन्तिम बलमा जितका लागि २ रन आवश्यक रहेका बेला स्ट्राइकमा रहनुभएका रसिख सलामले सिधा सट खेल्दै दुई रन पूरा गरेपछि खेलको निर्णय थर्ड अम्पायरको फैसलामार्फत् भएको थियो । यसअघि लगातार दुई खेल हारेको बेंगलुरुका लागि यो जित पुनरागमनको आधार बनेको छ भने मुम्बईको यो सिजनको आठौँ हार हो ।
मुम्बईले हालसम्म ११ खेलमध्ये मात्र तीनमा जित निकालेको छ । बाँकी रहेका तीनवटै खेल जिते पनि मुम्बईको १२ अंकमात्र हुनेछ, जुन प्लेअफ पुग्नका लागि पर्याप्त छैन । सूर्यकुमार यादवको कप्तानीमा खेलिरहेको मुम्बई अब बाँकी खेल जितेर तालिकामा आफ्नो वरीयता सुधार्ने लक्ष्यमा मात्र सीमित भएको छ । मुम्बईसँगै आइतबारको अर्को खेलमा चेन्नई सुपर किंग्ससँग पराजित भएपछि लखनउ सुपर जायन्ट्स पनि प्लेअफको रेसबाट बाहिरिने पहिलो टोली बनेको छ ।
बेंगलुरुले ११ खेलबाट १४ अंक जोड्दै नेट रनरेटका आधारमा हैदराबाद र गुजरातलाई पछि पार्दै शीर्ष स्थान बनाएको छ । अब बेंगलुरुले बाँकी ३ खेलमध्ये एक जित निकाल्दा प्लेअफको सम्भावना बलियो हुनेछ भने दुई जितले स्थान सुरक्षित गर्नेछ । यस्तै, १० खेलबाट १३ अंक जोडेको पञ्जाबलाई प्लेअफ पुग्न बाँकी चारमध्ये दुई खेल जित्नुपर्ने दबाब छ ।
राजस्थान र चेन्नईको समान १२-१२ अंक भए पनि राजस्थान दोस्रो चरणका खेलहरूमा पराजित हुँदा तालिकाको छैटौँ स्थानमा झरेको छ । उता कोलकाताले लगातार चार खेल जितेर १७ अंकसम्म पुग्ने सम्भावना जीवित राखेको छ भने दिल्ली क्यापिटल्सको १४ अंकसम्म पुग्ने बाटो रहे पनि उसको यात्रा लगभग कठिन देखिएको छ । एजेन्सी






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…