काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा पछिल्ला दिनमा प्रदर्शनअघि नै सामाजिक सञ्जाल र विभिन्न समूहमा हुने बहस, समर्थन र विरोधले चलचित्रको व्यापारमा प्रत्यक्ष प्रभाव पार्न थालेको छ । यस्तै, बहस र विवादको घेरामा परेका दुई नेपाली चलचित्र ‘लालीबजार’ र ‘मालती मंगले’ अहिले भने दर्शकको सकारात्मक प्रतिक्रियाका कारण हलमा मजबुत बन्दै गएका छन् ।
यही वैशाख २५ गतेदेखि प्रदर्शनमा आएका चलचित्र ‘लालीबजार’ र ‘मालती मंगले’ले दर्शकको सकारात्मक साथ पाउन थालेका छन् । प्रदर्शनअघि विभिन्न विवाद र बहिष्कारको चर्चामा तानिएका यी दुवै चलचित्रले हलमा भने उत्साहजनक प्रतिक्रिया बटुलिरहेका छन् । सोही मितिबाट प्रदर्शनमा आएको ‘गुरुआमा’ भने कमजोर दर्शक उपस्थितिका कारण संघर्षरत देखिएको छ ।
बादी समुदायको पृष्ठभूमिमा आमा–छोरीको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘लालीबजार’ले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको निर्माण टिमले जनाएको छ । चलचित्र प्रदर्शन भएदेखि नै अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ तथा निर्देशक यम थापासहितको टोली काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ ।
हलबाट निस्किने क्रममा धेरै दर्शक भावुक बनेको दृश्य देखिएको छ । विशेषगरी सपरिवार चलचित्र हेर्न पुगेका दर्शकले चलचित्रले आमाछोरीको सम्बन्धलाई निकै मार्मिक ढंगले प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन् ।
अभिनेत्री स्वस्तिमा खड्काले दर्शकको प्रतिक्रियाले आफू निकै उत्साहित भएको बताउनुभयो । उहाँले चलचित्रले कुनै विशेष समुदायमात्र नभई सम्पूर्ण आमा र छोरीको कथा बोलेको भन्दै पुरुष दर्शकसमेत भावुक बनेको उल्लेख गर्नुभयो ।
चलचित्रबाट अभिनय यात्रा सुरु गरेकी कन्टेन्ट क्रिएटर प्रशंसा सुवेदीले सबै वर्गका दर्शकले चलचित्रलाई माया दिएको बताउनुभयो । चलचित्रमा उहाँले स्वस्तिमाको छोरीको भूमिका निर्वाह गर्नुभएको छ । निर्देशक यम थापाले चलचित्रबारे गरिएको विभिन्न अड्कलबाजी फिल्म हेरेपछि स्वतः स्पष्ट हुने बताउनुभयो । उहाँले ‘लालीबजार’ सम्पूर्ण परिवारले सँगै बसेर हेर्न मिल्ने चलचित्र भएको दाबी गर्नुभयो ।
चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश बादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी र वीरवल चौधरीलगायत कलाकारको अभिनय छ ।
यता, वरिष्ठ गायक रामकृष्ण ढकालको लगानीमा बनेको चलचित्र ‘मालती मंगले’ले पनि बक्सअफिसमा सुखद् संकेत देखाउन थालेको छ । प्रारम्भिक शोहरूमा सामान्य ओपनिङ गरेको चलचित्रले शनिबारदेखि दर्शकको राम्रो साथ पाउन थालेको निर्माण टिमको भनाइ छ ।
निर्माण पक्षका अनुसार दर्शकबाट प्राप्त सकारात्मक ‘वर्ड अफ माउथ’ र सामाजिक सञ्जालमा आएका प्रतिक्रियाले चलचित्रप्रति आकर्षण बढेको हो । शनिबार राजधानीका विभिन्न हलमा पुगेको चलचित्र टोलीलाई दर्शकले हुटिङ, सिठी र तालीमार्फत स्वागत गरेका थिए ।
हल भ्रमणमा निर्माता रामकृष्ण ढकालसँगै अभिनेत्री वर्षा राउत, अभिनेता विजय बराल, मेक्सम गौडेल र उमेश सुनाम सहभागी हुनुहुन्थ्यो । दर्शकले विशेषगरी वर्षा राउतको अभिनय तथा विजय बराल र मेक्सम गौडेलको प्रस्तुतिको प्रशंसा गरेका छन् । निर्देशक प्रकु पाण्डेयको ‘मालती मंगले’ले आगामी दिनमा अझ राम्रो व्यापार गर्ने अपेक्षा निर्माण टिमले गरेको छ ।
यसबीच ‘गुरुआमा’मा भने दर्शक उपस्थिति न्यून देखिएको छ । कम अकुपेन्सीका कारण केही हलमा शो कटौती गरिएको जनाइएको छ । नेपाली चलचित्र बजारमा पछिल्ला समय सामाजिक सञ्जालको प्रभाव बढ्दै जाँदा प्रदर्शनअघि नै फिल्महरू विभिन्न विवाद र टिप्पणीको केन्द्र बन्न थालेका छन् । तर, ‘लालीबजार’ र ‘मालती मंगले’को उदाहरणले अन्ततः दर्शकको अन्तिम निर्णय फिल्मको प्रस्तुतिमै निर्भर हुने संकेत गरेको छ । प्रदर्शनअघि बहिष्कारको बहसमा तानिएका यी दुवै चलचित्र अहिले भने सकारात्मक प्रतिक्रियाका कारण हलमा टिक्ने सम्भावना बलियो बन्दै गएको देखिएको छ । यद्यपि तीनै चलचित्रको आधिकारिक बक्सअफिस रिपोर्ट भने हालसम्म सार्वजनिक गरिएको छैन ।
प्रदर्शनबीच ‘चुड्का भजन’
चलचित्र ‘मालती मंगले’को निर्माण पक्षले नयाँ सांगीतिक कोसेली ल्याएको छ । निर्माणपक्षले चलचित्रमा समावेश ‘चुड्का भजन’ गीत युट्युबमार्फत सार्वजनिक गरेको हो । पुरुषोत्तम ढुंगेलको शब्द रचना रहेको ‘चुड्का भजन’मा किरण भुसाललगायतको स्वर सुन्न सकिन्छ । किरण भुसालकै संगीत निर्देशन रहेको यस गीतमा परम्परागत चुड्का लयको आकर्षक प्रयोग गरिएको छ ।
गीतको तालबाजा (पर्कसन)मा किरण भुसाल र रायपुर समुदायले साथ दिनुभएको छ भने मादल, मुजुरा र खैँजडीमा सन्देश पौडेल हुनुहुन्छ । गोविन्द पिके आँशु, अच्युत कँडेल, सञ्जय (सपुत मोक्तान), राहुल मोक्तान, दिनेश लामा, ह्वाञ्ची लामा र मोहनको अतिरिक्त स्वर रहेको भजनलाई रिदम कँडेलले मिक्सिङ तथा मास्टरिङ गर्नुभएको छ ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…