काठमाडाैं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक एकदिवसीय श्रृङ्खला आज (मंगलवार) देखि शुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा आयोजक नेपालले स्कटल्याण्डको सामना गर्नेछ ।
खेल बिहान साढे ९ बजे शुरु हुनेछ । घरेलु मैदान र समर्थकको साथ पाउने नेपाल यस श्रृङ्खलामा सुखद् शुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रँदैछ । यसअघि घरेलु मैदानमै सम्पन्न ओमान र यूएई सम्मिलित श्रृङ्खलामा नेपालले चारमध्ये तीन खेलमा जित निकाल्दै उत्कृष्ट लय प्रदर्शन गरेको थियो । नेपालको ‘ए’ टोलीले हालै अमेरिका र स्कटल्याण्डका टोलीहरूलाई श्रृङ्खलामा ‘क्लिन स्वीप’ गरेपछि राष्ट्रिय टोलीको मनोबल थप उच्च भएको छ ।
अर्कोतर्फ, नेपाल ‘ए’ सँगको पराजयले विपक्षी टोलीहरूको मनोबल केही कमजोर रहेकाले त्यसको फाइदा उठाउने दाउमा नेपाल रहनेछ । यस श्रृङ्खलाका लागि नेपाली टोलीमा महत्वपूर्ण परिवर्तन गरिएको छ । राष्ट्रिय घरेलु क्रिकेटमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका ब्याटर ईशान पाण्डे सात वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गर्न सफल भएका छन् । बसिर अहमदको स्थानमा उनलाई टोलीमा समावेश गरिएको हो । पाण्डे यसअघि सन् २०१९ मा सिङ्गापुरमा भएको जिम्बावेविरुद्धको टी-२० श्रृङ्खलामा टोलीमा परेका थिए ।
नेपाली टोलीको नेतृत्व रोहित पौडेलले गर्नेछन् । टोलीका अन्य सदस्यहरूमा उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, भीम सार्की, आशिफ शेख, ईशान पाण्डे, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी रहेका छन् । हालको अङ्क तालिकामा नेपाल सातौँ स्थानमा खुम्चिएको छ । नेपालले २४ खेल खेल्दा ८ मा जित र १४ मा हार व्यहोर्दै जम्मा १८ अङ्क जोडेको छ । शिर्ष स्थानमा रहेको अमेरिकाले २४ खेलबाट ३६ अङ्क बटुलेको छ भने २८ खेलबाट ३४ अङ्क जोडेको स्कटल्याण्ड दोस्रो स्थानमा रहेको छ ।
विगतका प्रतिष्पर्धालाई हेर्दा स्कटल्याण्ड र अमेरिकासँगको भिडन्त नेपालका लागि चुनौतीपूर्ण रहँदै आएको छ । सन् २०२४ का विभिन्न श्रृङ्खलाहरूमा नेपालले क्यानडा र अमेरिकामा अपेक्षित नतिजा निकाल्न सकेको थिएन । यद्यपि सन् २०२५ को जुनमा स्कटल्याण्डमा भएको श्रृङ्खलामा नेपालले चारमध्ये तीन खेल जित्दै उत्कृष्ट पुनरागमन गरेको इतिहास छ । आजको खेलमा सोही लयलाई निरन्तरता दिँदै अङ्क तालिकामा सुधार गर्ने नेपालको मुख्य उद्देश्य रहनेछ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र