तेह्रथुम । जिल्ला प्रहरी कार्यालय तेह्रथुमले प्रहरी कर्मचारीहरूको बिदा सम्बन्धी गुनासोलाई सम्बोधन गर्ने उद्देश्यले “सट्टा बिदा” कार्यान्वयनमा ल्याएको छ । प्रहरी नियमावली, २०७१ मा व्यवस्था भएअनुसार सार्वजनिक बिदाको दिन ड्युटी गर्ने प्रहरी कर्मचारीलाई कानुनी व्यवस्थाअनुसार सट्टा तलबी बिदा दिन थालिएको हो ।
प्रहरी संगठनभित्र लामो समयदेखि मागअनुसार बिदा नपाउने, आवश्यक परेको समयमा बिदा स्वीकृत नहुने तथा उपलब्ध घर बिदा र भैपरी आउने बिदासमेत पूर्णरूपमा उपयोग गर्न नपाइने गुनासो रहँदै आएको थियो । वर्षमा उपलब्ध ३० दिन घर बिदा र १२ दिन भैपरी आउने बिदा समेत प्रयोग गर्न नपाउँदा प्रहरी कर्मचारीको व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनमा प्रत्यक्ष असर परेको भन्दै असन्तुष्टि बढ्दै गएको थियो ।
यसै अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय तेह्रथुमले प्रहरी नियमावली, २०७१ को परिच्छेद-८ अन्तर्गत नियम ८५ मा उल्लेख गरिएको “सट्टा बिदा” सम्बन्धी व्यवस्था व्यवहारिक रूपमा कार्यान्वयनमा ल्याएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । सार्वजनिक बिदाको दिन काम गर्ने प्रहरी कर्मचारीलाई एक पटकमा बढीमा सात दिनसम्म सट्टा तलबी बिदा दिन सकिने व्यवस्था रहेको छ ।
कार्यालयका अनुसार लामो समयदेखि बिदा नलिएका वा बिदा जान नपाएका प्रहरी कर्मचारीलाई समेत अनिवार्य रूपमा बिदा बस्न परिपत्र गरिएको छ । तीन महिना वा सोभन्दा बढी समयसम्म बिदा नलिने प्रहरी कर्मचारीको विवरण संकलन गरी कारण सोध्दै बिदा उपयोग गर्न निर्देशनसमेत दिइएको जनाइएको छ । यसअन्तर्गत प्रहरी चौकी लेगुवा, धनकुटा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय तेह्रथुममा कार्यरत प्रहरी हवल्दार विशाल खड्का पहिलो पटक “सट्टा बिदा” उपयोग गर्ने प्रहरी कर्मचारी बनेका छन् । हालसम्म जिल्लाभरबाट आठ जना प्रहरी कर्मचारीले उक्त बिदा उपयोग गरिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक काजीबहादुर बस्नेतले बताउनु भयो ।
सात दिन वा सोभन्दा कम अवधिको बिदा बस्न चाहने कर्मचारीले सट्टा बिदा उपयोग गर्न सक्ने व्यवस्था गरिएको छ । सट्टा बिदा उपयोग गर्न पाएका प्रहरी कर्मचारीहरूले जीवनमै पहिलो पटक कानुनी व्यवस्था व्यवहारमा लागू भएको अनुभूति भएको प्रतिक्रिया दिएका छन् । उनीहरूले यस व्यवस्थाले आफूहरूमा उत्साह, सन्तुष्टि र सकारात्मक मनोबल वृद्धि भएको बताएका छन् ।
यसअघि प्रहरी नियमावलीमा “सट्टा बिदा” को व्यवस्था उल्लेख भए पनि व्यवहारमा कार्यान्वयन नभएको भन्दै अर्हत सम्बुद्द चन्दले उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमक्ष उजुरी दिएका थिए । सोही विषयमा नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत कानून शाखा,
नक्साल काठमाडौंले चलानी नम्बर १५०८, मिति २०८१ वैशाख १० गतेको पत्रमार्फत सट्टा बिदा कार्यान्वयन गर्न निर्देशनसमेत दिएको थियो । तर व्यवहारिक कार्यान्वयन भने हालसम्म प्रभावकारी रूपमा हुन सकेको थिएन । जिल्ला प्रहरी कार्यालय तेह्रथुमले सुरु गरेको यो अभ्यासले प्रहरी संगठनभित्र कर्मचारीमैत्री कार्यसंस्कृति विकास, मनोबल अभिवृद्धि तथा पेशागत उत्तरदायित्वलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र